१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

तोडियो शेखर–गगन संवादहीनता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५७:oo

कांग्रेस इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीचको लामो संवादहीनता तोडिएको छ । नेता अर्जुननरसिंह केसीलगायतको पहलमा दुई नेताबीचको संवादहीनता अन्त्य भएको हो । कोइरालाले मंगलबार थापाको सहमतिविना समूहको भेला बोलाएपछि र महामन्त्री थापा पूर्वनिर्धारित कार्यक्रम देखाएर अनुपस्थित हुने अवस्था देखिएपछि यी दुईबीचको सम्बन्ध थप चिसिएको संकेत मिलेको थियो । यससँगै निकट नेताहरूले दुई नेतालाई सहमतिमा ल्याउन पहल प्रयास गरेका थिए । केसीले दुई नेतालाई सोमबार साँझ बुढानीलकण्ठ इटालीटारस्थित आफ्नै निवासमा बोलाएर संवादको पहल गरेका थिए । यसक्रममा दुई नेताबीच करिब तीन घन्टा छलफल भएको थियो । 

छलफलका क्रममा दुई नेताबीच पछिल्लो अवस्थाबारे आत्मसमीक्षा भएको र मिलेर अगाडि बढ्न तयार भएको नेताहरूको भनाइ छ । नेता केसीले दुई नेताबीचको छलफलपछि सहमतिमा नै मंगलबारको भेला बुधबारका लागि सारिएको जानकारी दिए । ‘टिमलाई इन्ट्याक्ट राख्ने विषयमा कसैको विमति छैन । उहाँहरूको सल्लाहमा सबैलाई सहज हुने गरी पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरिएको हो,’ केसीले भने । भेला बुधबार दिउँसो १ बजे गौशालास्थित अनुपम फुडल्यान्डमा हुनेछ । 

कोइरालाले महामन्त्री थापाबाट पार्टीका निर्णय, गतिविधि र सभापतिसँगका छलफलका विषयमा आफूले जानकारी नपाएको गुनासो गरेका थिए । ‘तपाईंसँग जति प्रयास गर्दा पनि सम्पर्क हुन सक्दैन । हाम्रै समूहबाट पार्टीको महामन्त्री बन्नुभएको छ, तर पार्टीका निर्णय, सभापतिसँगका छलफल र कार्यक्रमबारे जानकारी पनि हुँदैन । सम्पर्क गर्दा भेट्न पनि सकिँदैन । मलाई पनि जानकारी दिनुपर्‍यो । राष्ट्रिय राजनीतिका कुरा पनि गरौँ, महासमिति सार्ने कुरा भइरहेको छ नसार्न दबाब दिऔँ, राष्ट्रिय सभा निर्वाचनको विषय पनि आइरहेको छ । साथीहरूको पनि कुरा सुनौँ भनेर बैठक बोलाएको हो । सबैभन्दा पहिला तपाईंलाई फोन गरेका थियौँ, सम्पर्क नभएपछि सचिवालयलाई जानकारी गराएर मिटिङ राखियो । यस्तो कुरामा रेगुलर छलफल हुनुपर्‍यो । केही कमजोरी भएका छन्, अबका दिनमा ती कमजोरी सुधारेर छलफलबाट अगाडि बढ्न तयार छु,’ कोइरालाले भनेका थिए । 

यससँगै दुई नेता सबै विषयमा परामर्श गरेर अगाडि बढ्न सहमत बनेका छन् । ‘अबका दिनमा सबै विषयमा छलफल गरेर मात्रै अगाडि बढ्ने ‘जेन्टलम्यान एग्रिमेन्ट’ बनेको छ,’ स्रोतको दाबी छ । केन्द्रीय सदस्य मधु आचार्य छलफलबाट शेखर–गगनबीच गम्भीर आत्मसमीक्षा भएको दाबी गर्छन् ।

ad
ad