१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
आनन्दराज खनाल
२o८१ बैशाख २० बिहीबार o७:३५:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

डिजिटल अर्थतन्त्रको मेरुदण्ड डेटा सेन्टर र क्लाउड सेवा

आर्थिक वृद्धि, नवप्रवर्तन, व्यवसाय विस्तार र सार्वजनिक सेवा प्रवाह गर्न डेटा सेन्टर र क्लाउड सेवाहरूको महत्वपूर्ण भूमिका हुन्छ भन्ने बिर्सनुहुन्न 

Read Time : > 5 मिनेट
आनन्दराज खनाल
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३५:oo

नेपालमा सूचना प्रविधि उद्योगका सरोकारवालाहरूलाई प्रमाणमा आधारित र अन्तर्राष्ट्रिय उत्तम अभ्यासअनुरूप नीति, कानुन तथा नियमन संयन्त्र तयार गर्न र उद्योगहरूलाई समयानुकूल बिजिनेस मोडेल अवलम्बन गर्न प्रेरित गर्नुपर्ने आवश्यकता छ । यसैक्रममा म विगत केही महिनादेखि नेपालको विद्युतीय सुशासन (इ–गभर्नेन्स/डिजिटल गभर्नेन्स) इकोसिस्टमको वर्तमान अवस्था, यसको कार्यान्वयनका क्रममा देखापरेका चुनौती, सिर्जित एवं सम्भावित अवसरबारे अध्ययन अनुसन्धान गरी दीर्घकालीन लगानी योजना विकास गर्ने कर्ममा जुटेको छु ।

नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यरत रहँदा नीति, कानुन, नियमन र प्रविधि क्षेत्रमा काम गरेको, विगत २७ वर्षदेखि निरन्तर यिनै विषय प्राध्यापन गरेर अनेकौँ अनुसन्धान कार्यमा संलग्न भएको, क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थाहरूमा संलग्न भई यिनै विषयमा काम गरेको अनुभवका आधारमा यो लेखमा डेटा सेन्टर र क्लाउड सेवाहरूका विविध पक्षलाई उजागर गर्ने प्रयास गरेको छु । 

डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको कसरी एउटा सशक्त र अत्यावश्यक मेरुदण्ड हुन सक्छ भन्ने कुराको खोजी गर्न आवश्यक छ । देशको डिजिटल परिदृश्यमा देखा परेका चुनौतीलाई सम्बोधन गर्दै अवसरहरूलाई सदुपयोग गरी नेपालको डिजिटल भविष्यलाई आकार दिन सरकारको निर्णायक भूमिकाको रूपरेखा तयार पार्नसमेत यस्ता छलफल र विमर्श आवश्यक छ । आर्थिक वृद्धि, नवप्रवर्तन, व्यवसाय विस्तार र सार्वजनिक सेवा प्रवाह गर्न डेटा सेन्टर र क्लाउड सेवाहरूको महत्वपूर्ण भूमिका हुन्छ भन्ने सरोकारवालाहरूले बिर्सनुहुन्न । 

विनियोजन विधेयक ०८० को सिद्धान्त र प्राथमिकता साथै आफ्नो बजेट भाषणमा अर्थमन्त्रीले आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न डिजिटल अर्थतन्त्रको महत्वलाई कसरी दोहोर्‍याउनुभएको थियो भन्ने मलाई याद छ । उहाँको भनाइलाई आइआइडिएसको हालैको अध्ययनले पुष्टि गरेको छ । उक्त अध्ययनले नेपालको सूचना प्रविधि सेवा निर्यात उद्योगमा उल्लेखनीय वृद्धि भएको देखाएको छ ।

सन् ०२२ मा यसको आकार ५१ करोड ५० लाख अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६४.२ प्रतिशतले वृद्धि हो । देशमा १०६ वटा सूचना प्रविधि सेवा निर्यात गर्ने कम्पनीका साथै ५१ हजार सात सय ८१ सूचना प्रविधि सक्षम सेवाहरू (आइटिइनेबल सर्भिस), सफ्टवेयर विकास र प्रविधिमा संलग्न १४ हजार सात सय २८ सूचना प्रविधि फ्रिलान्सरहरूले डिजिटल प्लाटफर्महरू प्रयोग गर्दै छन् । यी निष्कर्षले डेटा सेन्टर र क्लाउड सेवाहरूको महत्वलाई जोड दिन्छन्, जुन यस लेखको मुख्य विषय हो ।

डेटा सेन्टर र क्लाउड सेवाहरू आजको डिजिटल अर्थतन्त्रका लागि महत्वपूर्ण छन्, किनकि तिनले इन्टरनेटका माध्यमबाट मागअनुरूप अनेकौँ स्रोत र सेवा प्रदान गर्छन् 
 

स्मार्टफोन र सस्तो ब्रोडब्यान्ड इन्टरनेटका कारण नेपालमा इन्टरनेटको प्रयोग बढेको छ । जुलाई ०२३ को मध्यसम्ममा ब्रोडब्यान्ड घनत्व नै १३५ प्रतिशत पुगेको छ । मानिसहरूले फिक्स्ड टेक्नोलोजी जस्तै– एफटिटिएच र मोबाइल ब्रोडब्यान्ड जस्तै– थ्रिजी र फोरजी दुवैमार्फत इन्टरनेटमा पहुँच राख्छन् । यो डिजिटल परिवर्तनले सहरी तथा दुर्गम दुवै क्षेत्रलाई फाइदा पुर्‍याएको छ । डिजिटल अर्थतन्त्रमा इ–कमर्स, फिनटेक, इ–लर्निङ, डिजिटल हेल्थ, बिग डेटा, डेटा एनालिटिक्स, आइओटी, ब्लक चेन, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, मनोरञ्जन, वास्तवमा तपाईं जे सोच्नुहुन्छ, त्यो अनलाइन नै हुनेछ । र, यो परिवर्तनको मूल पूर्वाधारको रूपमा डेटा सेन्टर र क्लाउड सेवा हुनेछ ।

नेपालको सन्दर्भमा हेर्दा स्टार्टअपले नेपालको डिजिटल महत्वाकांक्षा झल्काउँछ । नेपालको डिजिटल अर्थतन्त्रमा युवा, बढ्दो मध्यम वर्ग र इ–कमर्स, फिनटेक र आइटी सेवा निर्यातजस्ता क्षेत्रमा थुप्रै सम्भावना छन् ।डेटा सेन्टर र क्लाउड सेवाहरू आजको डिजिटल अर्थतन्त्रका लागि महत्वपूर्ण छन्, किनकि तिनले इन्टरनेटका माध्यमबाट मागअनुरूप अनेकौँ स्रोत र सेवा प्रदान गर्छन् । ग्राहकको आवश्यकताअनुसार सर्भर होस्टिङ, वेभ होस्टिङ, भर्चुअल सर्भर, डेटा स्टोरेज, डेटा ब्याकअप तथा डिजास्टर रिकभरीदेखि लिएर नेटवर्किङ, साइबर सुरक्षा, म्यानेज्ड सर्भिस, एपिआईलगायत अनेकौँ सेवा प्रदान गर्छन् । ती सेवा सुरक्षित, थपघट गर्न सकिने हुन्छन् । प्रयोगकर्तालाई पुँजीगत खर्च, मर्मत र सुरक्षासम्बन्धी ठूलो खर्चबाट मुक्त गर्छन् ।

जसले आर्थिक वृद्धिका लागि डेटा सेन्टर र क्लाउड सेवा प्रयोग गरेका छन्, ती मुलुकले उत्पादकत्वमा वृद्धि, नवीनता, रोजगारी सिर्जना, विदेशी लगानी र सार्वजनिक सेवामा सुधारका साथै विश्वव्यापी प्रतिस्पर्धात्मकता र विपत् प्रतिरोधी क्षमताको अनुभव गरेका छन् । डेटा सेन्टर र क्लाउड सेवा डिजिटल अर्थतन्त्रको प्रगतिको मुख्य चालक हुन् भन्ने कुरा उनीहरूले स्वीकार गरेका छन् । नेपाल डिजिटल युगमा प्रवेश गर्दै गर्दा आर्थिक वृद्धि, नवीनता र लचिलोपनका लागि पनि यो पूर्वाधारमा लगानी गर्नुपर्छ । एक अनुसन्धानअनुसार सन् ०२२ मा डेटा सेन्टर बजारको आकार २६३.३४ बिलियन अमेरिकी डलर थियो र सन् ०२२–३० सम्ममा १०.९ प्रतिशतको वार्षिक वृद्धिदरले सन् ०३० सम्ममा ६०२.७६ बिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । 

इस्टोनिया, सिंगापुर, अस्ट्रेलिया, भारत, अमेरिका, मलेसियाजस्ता देशले आफ्नो डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न र डिजिटल रूपान्तरण हासिल गर्न नीतिगत साथै डिजिटल पूर्वाधार र प्रविधिमा पर्याप्त लगानी गरेका छन् । नवप्रवर्तन, उद्यमशीलता, क्षमता निर्माण तथा डेटा सेन्टर र क्लाउड सेवाहरूको सम्भावनाको समयानुकूल उपयोग गरेका छन् । यी देशलाई हामीले यो क्षेत्रको विकासको मोडेलको रूपमा हेर्नुपर्छ र सिक्न सक्नुपर्छ । 

डेटा सेन्टर र क्लाउड सेवाका लागि नीतिगत पहल, उद्योगको वृद्धिलाई बढावा दिने नियामकीय ढाँचा र सहजीकरण साथै डिजिटल समावेशीकरणका लागि पनि समानान्तर रूपले अघि बढ्नुपर्छ । स्टार्टअप वा स्थापित उद्यमहरूको कुरा गर्दा दुवैका लागि डेटा सेन्टर र क्लाउड सेवाहरू रूपान्तरणकारी माध्यम हुन् । तिनको प्रयोगबाट व्यापार सञ्चालनमा सुधार, स्रोतमा सहज थपघट गर्न सकिने अवसर र उच्च प्रतिस्पर्धात्मकता प्राप्त हुन्छन् । तथापि विभिन्न क्षेत्र जस्तै– इ–कमर्स, फिनटेक, आइटी सेवाहरूका आ–आफ्नै चुनौती र अवसर छन् । ती भिन्न छन् र तिनका दृष्टिकोण पनि भिन्न छन् ।

डेटा सेन्टर र क्लाउड सेवाहरूले नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने प्राविधिक र स्टार्टअपहरू, जो नेपालको डिजिटल भविष्यको आशा पनि हुन्, तिनलाई सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्छन् । प्राज्ञिक तथा अनुसन्धान सेन्टरले डिजिटल सीपसहितको आवश्यक जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान दिन्छन् । तिनीले डेटा सेन्टर र क्लाउड प्रविधिसँग सम्बन्धित अनुसन्धान र विकास गर्ने महत्वपूर्ण अभिभारा लिन सक्छन् । प्राज्ञिक क्षेत्र र उद्योगबीचको सहकार्यले सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोगबीचको खाडल पुर्न सक्छ ।

दूरदराजका न्यून सेवा पुगेका वा सेवा नपुगेका समुदायका लागि डिजिटल समावेशीकरणमा चासो हुनेछ । आर्थिक विकासमा डिजिटल समावेशिताको प्रभाव मूर्त रूपमा देखा परेको छ । 

डिजिटल रूपान्तरणमा अबको मार्ग :  नेपालको डिजिटल आकाश साइबर सुरक्षाका दृष्टिले अति संवेदनशील बन्दै गएको छ । सार्वजनिक र निजी क्षेत्रका साथै व्यक्ति र संस्थाहरू साइबर आक्रमणको सिकार बन्दै गएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, डाटा एनालिटिक्स र साइबरसेक्युरिटीजस्ता उदीयमान एवं उच्च–प्रविधिजन्य क्षेत्रमा दक्ष पेसाकर्मीहरूको अभावले डिजिटल इकोसिस्टमको समग्र क्षमतालाई सीमित गर्दै यी क्षेत्रहरूको विकासमा बाधा पु¥याउँछ ।

डेटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूले साइबर सुरक्षा, डेटा सुरक्षा र गोपनीयताको महत्वलाई बुझेका छन् । तसर्थ थप सुरक्षामा ध्यान दिएका हुन्छन् । तर, नेपालको साइबर स्पेसलाई थप सुदृढ बनाउन सरोकारवालाबीच सहकार्यात्मक प्रयास आवश्यक छन् । यसका लागि कानुनी, प्राविधिक र संगठनात्मक उपाय, क्षमता निर्माणका साथै राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सञ्चार र समन्वयमा केन्द्रित हुनुपर्छ । डिजिटल साक्षरता, सीप र चेतनाका साथै डेटा गोपनीयता, साइबर सुरक्षासँग सम्बन्धित चुनौतीका बाबजुद पनि डिजिटल भुक्तानी, इ–कमर्स, इ–गभर्नेन्स, डिजिटल स्वास्थ्य, वर्क फ्रम होम, अनलाइन क्लास आदिमा डिजिटल सेवाहरूले कति फाइदा पुर्‍याउँछन् भन्ने स्पष्ट भइसकेको छ । 

नेपालको डिजिटल परिदृश्यले समावेशी वृद्धिका सन्दर्भमा सहरी–ग्रामीण डिजिटल सेवा अन्तरलाई सम्बोधन गर्ने, डिजिटल पूर्वाधारमा रहेको असमानतालाई सुधार गर्ने, डेटाको बढ्दो प्रयोगकाबीचमा बलियो डेटा सुरक्षा र साइबर सुरक्षा सुनिश्चित गर्ने, प्रभावकारी डिजिटल सेवा प्रयोगका लागि डिजिटल साक्षरता प्रवद्र्धन गर्ने चुनौतीहरू सामना गर्न निजी लगानी आकर्षित गर्नुपर्छ । लगानी मैत्री नीति, कानुन तथा नियमन संयन्त्र स्थापना गर्नुपर्छ । लगानी आकर्षण गर्न, डेटा सेवा सुरक्षा सुनिश्चित गर्न क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स र साइबर सुरक्षाका दक्ष जनशक्ति तयार गर्न ढिला भइसकेको छ ।

डिजिटल पूर्वाधार र डिजिटल सेवाको अपर्याप्तता र असमान पहुँच, सूचना प्रविधि उद्योगमैत्री नीति, कानुन तथा नियमनमा गर्नुपर्ने समसामयिक सुधार, डिजिटल मैत्री मानव संसाधनमा गर्नुपर्ने लगानीजस्ता चुनौतीका बाबजुद नेपालको डिजिटल परिदृश्यले डिजिटल विभाजनलाई कम गर्न ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोगमार्फत ग्रामीण ब्रोडब्यान्ड इन्टरनेट जडानको कार्य भइरहेको छ । आर्थिक वृद्धि र प्राविधिक विकासका लागि प्राविधिक स्टार्टअपलाई प्रोत्साहन गर्न सरकारले बजेट विनियोजनसमेत गरेको छ ।

डेटा सेन्टरहरूमा विदेशी लगानी आकर्षित गर्नेलगायतका विभिन्न अवसर छन् । नेपालको रणनीतिक स्थानका कारण डिजिटल पूर्वाधार, सार्वजनिक–निजी सहकार्यमार्फत नवप्रवर्तन र उद्योगको विकासलाई प्रोत्साहन गर्ने, सूचना प्रविधि र सफ्टवेयर सेवाहरूको निर्यातका लागि उपलब्ध दक्ष जनशक्तिको लाभ उठाउने, पर्यटनलगायत सबै खाले इ–कमर्स विकासका लागि प्रविधिको प्रयोग गर्ने, डेटा सेन्टर तथा क्लाउड सेवाको प्रयोग गरी प्राकृतिक प्रकोपमा समेत व्यापारको निरन्तरता सुनिश्चित गर्नुपर्छ । 

सरकारी सहयोग र सही नीतिगत व्यवस्थाले नेपालको डिजिटल रूपान्तरणको जग बसाउने छ । नेपालका नीति–निर्माताहरूले डेटा संरक्षण, डिजिटल सीप विकास, पूर्वाधार विकास, सार्वजनिक–निजी साझेदारी, साइबर सुरक्षा र डेटा स्थानीयकरणजस्ता प्रमुख क्षेत्रलाई समेट्ने नीतिगत, कानुनी र संस्थागत संरचना तयार गर्दै व्यापक डिजिटल रणनीति विकास गर्नुपर्छ । रणनीतिले स्टार्टअपका लागि सहयोगसहित कर प्रोत्साहन र आयात शुल्क छुट दिएर वृद्धिका लागि प्रोत्साहन गर्नुपर्छ । विदेशी लगानी आकर्षित गर्न र प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय सहकार्यका व्यापार सम्झौतालाई सहज बनाउनुपर्छ । 

नेपालको डिजिटल रूपान्तरणतर्फको यात्रामा उद्योगभित्रको सहकार्य र नवीनता सर्वोपरि छ । विश्वव्यापी उत्कृष्ट अभ्यासबाट प्रेरणा लिएर अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध नवप्रवर्तन सेन्टरहरू सिर्जना गर्ने प्रयास गर्नुपर्छ । संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली, सिंगापुरको टेक इकोसिस्टम, भारतको ब्याङलोर–हैदराबाद आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ । यसबाहेक, उद्योग र प्राज्ञिक क्षेत्रबीचको साझेदारीका साथै अनुसन्धान र विकासका प्रयासलाई प्रोत्साहन दिनुपर्छ ।

स्टार्टअप इकोसिस्टमलाई भरथेग गर्न सीप विकास र जनशक्ति तालिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ । नेपाललाई दक्षिण एसियामा प्राविधि विकास र नवप्रवर्तन सेन्टरको रूपमा स्थापित गर्न विश्वव्यापी सहकार्य, अनुसन्धान र विकासका क्षेत्रमा लगानी अत्यावश्यक भएको बुझ्नुपर्छ ।
(खनाल नेपाल दूरसञ्चार प्राधिकरण पूर्ववरिष्ठ निर्देशक हुन् । 

ad
ad