मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १o:१५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् निर्यात रोकियो, आयात सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१५:oo

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष मंसिरबाटै विद्युत् आयात गर्न सुरु गरेको छ । गएको वर्ष ०७८ मा पुसको पहिलो साताबाट विद्युत् आयात गर्न सुरु गरिएकोमा यस वर्ष मंसिर २१ गतेबाटै आंशिक रूपमा विद्युत् आयात गर्न सुरु गरिएको हो । 

स्वदेशी उत्पादन घटेपछि भारततर्फको विद्युत्को निर्यात पनि रोकिएको छ । शुक्रबार रातिबाट विद्युत् निर्यात रोकिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले शनिबार भारतमा बिजुली बिक्री गर्न त्यहाँको खुला बजारमा कुनै पनि बिड गरेको छैन । उत्पादन घटेपछि निर्यात रोेकिएको र आन्तरिक माग धान्न भारतबाट आयात गर्न थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । गत वर्ष १९ जेठ ०७९ देखि ३ पुससम्म विद्युत् निर्यात भएको थियो । यस वर्ष भने ढिलो सुरु भएको निर्यात छिट्टै रोकिएको छ । यस वर्ष २८ जेठदेखि २२ मंसिरसम्म विद्युत् निर्यात भएको छ । 

यद्यपि, रकमका आधारमा विद्युत्को निर्यात भने बढेको छ । गएको वर्ष ११ अर्ब १६ करोड रुपैयाँको विद्युत् निर्यात भएकोमा यस वर्ष १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ । जसअनुसार गत आवको भन्दा चार अर्ब आठ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको देखिन्छ । मुख्यतः निर्यात हुने बिजुलीको परिमाण बढेपछि आम्दानी पनि बढेको घिसिङको भनाइ छ । 

नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू नदी प्रवाह (आरओआर)मा आधारित छन् । जसका कारण बर्सातमा खोलामा पानी बढी हुँदा विद्युत् उत्पादन पनि बढी हुन्छ । जुन समयमा भारतमा बिजुली निर्यातसमेत गर्न सकिन्छ । हिउँदमा खोलामा पानी कम हुँदा भने विद्युत् उत्पादन पनि स्वतः कम हुने हुनाले स्वदेशको माग धान्न भारतबाट नै विद्युत् आयात गर्नुपर्छ । 

नेपालको विद्युत्को जडित क्षमता झन्डै तीन हजार मेगावाट रहेको छ । तर, अहिले विद्युत्को उत्पादन भने झन्डै एक हजार पाँच सय मेगावाट हाराहारी छ । तर, माग भने १७ सय मेगावाट हाराहारी रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु भएको बताए । ‘अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत्गृहमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक समयमा चलाइरहेका छौँ,’ उनले भने, ‘पिक समयमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरूमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ ।’ 

१५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात
यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ ।  प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक रूपमा  अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ । चालू आर्थिक वर्ष ०८०/८१ को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ । 

यो वर्ष नाफामा जाने दाबी 
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतसँगको विद्युत् व्यापार नाफामा जाने दाबी गरेका छन् । अघिल्ला वर्षहरूमा भारतमा निर्यात गरिनेभन्दा आयात गरिने बिजुली नै बढी हुने गरेको थियो । ‘आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः सुरु हुनेछ, यस वर्ष करिब नौ सय मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ, त्यसैले अर्को वर्ष २५–३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुनेछ,’ उनले भने, ‘दुई देशबीचको प्रसारण सञ्चाल सुधारका लागि ठूलो क्षमताका लाइनहरू बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरूको निर्माण भइरहेका छन् । त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रूपमा करिब एक खर्ब रुपैयाँको निर्यात हुने अवस्था छ ।’