१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमती प्रदेशका अर्थमन्त्रीलाई निर्माण व्यवसायीको प्रश्न : गरिसकेको कामको भुक्तानी कहिले पाइन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२१:oo

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामालाई निर्माण व्यवसायीले काम गरिसकेका आयोजनाको रकम कहिले पाइन्छ भनी प्रश्न गरेका छन् । बुधबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रममा निर्माण व्यवसायीहरूले संघ र प्रदेश सरकारमातहतका आयोजनामा व्यवसायीले गरेको कामको भुक्तानी तत्काल दिन माग गरेका हुन् ।

निर्माण व्यवसायी संघ दोलखाले आयोजना गरेको कार्यक्रममा मन्त्री लामालाई व्यवसायीहरूले प्रश्न गर्दै भने, ‘चर्को ब्याजदरमा ऋण खोजेर काम गरेको यही अवस्था व्यहोर्न हो मन्त्रीज्यू ?’ निर्माण सामग्री खरिद, कामदार ज्यालाजस्ता रकम समयमा बुझाउन नसक्दा निर्माण व्यवसायीहरू लुकेर हिँड्नु परेको उनीहरूले गुनासो गरे । 

निर्माण व्यवसायी संघ दोलखाका महासचिव राजेश थापाले संघ र प्रदेश सरकारअन्तर्गतका योजनामा काम गरेका व्यवसायीले लामो समयदेखि भुक्तानी नपाएको बताए । उनले भने, ‘निर्माण व्यवसायीको बिल समयमा भुक्तानी नहुँदा त्यसको असर गरिब मजदुरको चुलोचौकादेखि निर्माण सामग्री सप्लायर्ससम्म पर्छ ।’ बजेट नै नभई बहुवर्षीय ठेक्का सम्झौता गरेर सरकारी निकायले निर्माण व्यवसायीलाई पीडा र आमनागरिकमा भ्रम सिर्जना गरेको बताए । 

जवाफमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री लामाले संघीय सरकारबाट पर्याप्त बजेट उपलब्ध हुन नसकेकाले निर्माण व्यवसायीको रकम भुक्तानी दिन नसकिएको बताए । उनले बागमतीमा अघिल्लो सरकार सञ्चालन गर्ने दलले स्थानीय तहले गर्ने आयोजनालाइ समेत प्रदेश स्तरको बनाई बहुवर्षीय आयोजना बनाएकाले बजेटसमेत उपलब्ध गराउन असहज भएको बताए । मन्त्री लामाले कार्य सम्पन्न भइसकेका आयोजनाहरूको बाँकी रकम तत्काल भुक्तानी पठाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा निर्माण व्यवसायीहरूले अन्य जिल्लामा क्रसर उद्योग सञ्चालन भइरहेको, तर दोलखामा लामो समयदेखि बन्द रहेको बताउँदै तत्काल उद्योग सञ्चालनको माग गरेका छन् ।