१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० मङ्सिर २१ बिहीबार १२:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आलु र प्याजको बिक्री ठप्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० मङ्सिर २१ बिहीबार १२:१८:००

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । तीन दिनअघिबाट आपूर्ति परिमाण कटौती गरिरहेका व्यवसायीहरूले बुधबार भने पूरै रोकेको आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । संघका महासचिव प्रकाश गजुरेलले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने अव्यावहारिक निर्णय कार्यान्वयन गर्न दबाब दिएकाले बिक्री नै रोक्नुपरेको बताए ।

चालू आर्थिक बर्ष ०८०/८१ को आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने व्यवस्था छ । बजेट सार्वजनिक हुनासाथ व्यवसायीले यस्तो व्यवस्थाको विरोध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउने गरी कार्यविधि बनाउने आश्वासन दिएका थिए ।

तर, पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यवसायीले सटर बन्द गरेको संघका महासचिव गजुरेलले बताए । ‘भारतबाट आयात गरेको आलु–प्याजमा भ्याट बिल पाइन्छ । र, सोहीअनुसार हामीले बिक्री गर्दा पनि भ्याट बिल जारी गर्न समस्या छैन,’ उनले भने, ‘तर, नेपाली किसानबाट खरिद गरेको आलु–प्याजमा भ्याट बिल पाइने कुरा भएन । त्यस्तो आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न सम्भव हुँदैन ।’

नेपाली आलु संकलन केन्द्रहरूबाट सामान्य रसिदका आधारमा आलु र प्याज किन्ने गरेको उनले बताए । बिक्री गर्दा मात्र भ्याट बिल जारी गर्नुपर्दा व्यवसायीको आम्दानी धेरै देखिन्छ । जसकारण भ्याट र आयकर धेरै तिर्नुपर्ने बाध्यतामा पर्न सक्छन् । ‘अर्कातिर किलोमै ६–७ रुपैयाँ महँगोमा बेच्नुपर्ने हुन्छ । महँगोमा बेच्नुपर्ने कारण देखाउन नसक्दा भोलिका दिनमा अप्ठ्यारोमा पर्न सकिन्छ भने मूल्यवृद्धिका कारण बिक्रीदरसमेत घट्न सक्छ,’ उनले भने ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले स्वदेशी उत्पादनलाई संरक्षण गर्ने गरी करनीति तर्जुमा भएकाले कहीँकतै अप्ठ्यारो नपर्ने बताए । ‘सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्ने गरी नीति बनाइरहेको छ । त्यसैले कोही अत्तालिनुपर्ने अवस्था छैन,’ उनले भने ।आलु–प्याज व्यवसायी गजुरेलका अनुसार काठमाडौं उपत्यकामा दैनिक ७० हजार किलो आलु र ३० हजार किलो प्याज खपत हुने गरेको छ, तर बुधबार भने बिक्री ठप्प पारिएको छ । ‘राज्यको नीतिले अप्ठ्यारो पर्ने भएपछि व्यवसाय नै नगर्ने निष्कर्षमा पुगेका हौँ,’ उनले भने ।