१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लम्पी स्किनबाट मरेका गाईभैँसीको बिमा दाबी नपाएको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

नेपाल बिमा प्राधिकरणले लुम्बिनी प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तर्क्रिया एवं छलफल गरेको छ। राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा मंगलबार उक्त अन्तर्क्रिया गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिमा दाबी भुक्तानी समयमै नदिई ढिलाइ गर्ने बिमा कम्पनीहरूलाई कारबाही गर्न नेपाल बिमा प्राधिकरणसँग आग्रह गरे। मुख्यमन्त्री चौधरीले बिमा दाबी भुक्तानी सजिलै गर्ने वातावरण तयार गरी बिमा क्षेत्रलाई बदनाम हुन नदिनसमेत आग्रह गरे।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशमा बिमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि प्रदेश बिमा नीति ल्याउनु आवश्यक भएको औँल्याउँदै बिमा नीति निर्माणमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताए।

‘बिमा सम्बन्धमा आउने गुनासा कम गर्न प्राधिकरणले नीतिगत र व्यावहारिक रूपमा कार्य गर्दै आएको छ। आमनागरिकलाई सहज रूपमा बिमा सेवा पुर्‍याउन जोड दिइएको छ,’ उनले भने। कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष सिलवालले बिमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन कार्य भइरहेको जानकारी दिए।

कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमाको महत्व, बिमा बजारको विद्यमान अवस्था, बिमा क्षेत्रको विकास एवं विस्तारमा प्रदेश सरकारको भूमिकालगायत बिमासम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए।

कार्यक्रममा सहभागीले बिमा गर्न अभिकर्ता घरघरमा जाने, तर दाबी भुक्तानी गर्न भने बिमा कम्पनीहरूले ढिलाइ गर्ने वा नदिने गरेको गुनासो आउने गरेको, कृषि प्राविधिक र बिमा अभिकर्ताले पर्याप्त पारिश्रमिक नपाएका कारण कृषि बिमा विस्तार नभएको, हरेक स्थानीय तहसम्म बिमाका शाखा विस्तार गर्नु आवश्यक देखिएको उल्लेख गरेका थिए।

यसैगरी, बिमा कम्पनीहरूले अनिवार्य बिमाबाहेक अन्य बिमा गर्न नमानेको, लम्पी स्किन रोगका कारण क्षति भएका गाईभैँसीको बिमा दाबी भुक्तानी नगरेको, कोरोना बिमाको दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी समयमा नपाउँदा बिमाप्रतिको विश्वसनीयतामा कमी आएकोलगायतका धारणा सहभागीले राखेका थिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरू, नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक र प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल बिमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए।