Skip This
मधेश प्रदेशमा ‘एन्टी ड्रग क्याम्पेन’ सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १८ सोमबार १२:५o:oo
Read Time : > 2 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेश प्रदेशमा ‘एन्टी ड्रग क्याम्पेन’ सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १२:५o:oo

मधेश प्रदेश प्रहरी कार्यालयको नवप्रवर्तनीय कार्यअन्तर्गत  प्रदेशमा एन्टी ड्रग क्याम्पेनको सुरुवात गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यक्रमको उद्घाटन गरेका हुन्।

महोत्तरी प्रहरीले स्क्रिनिङ गरेका चार सय ९५ लागुऔषध सेवनकर्तामध्ये एक सय ६६ सेवनकर्ता र उनीहरूका अभिभावकसमेतको उपस्थितिमा क्याम्पेनको सुरुवात गरिएको हो।

लागुऔषधले विकराल रूप लिँदै गर्दा यसको सेवनले युवा पुस्ता अन्धकारमा गइरहेको भन्दै लागुऔषधको कुलतमा थप नयाँ पुस्ता नफसुन् र फसेकाहरूलाई पुनर्स्थापना गर्न सकियोस् भनेर मधेश प्रदेश प्रहरीले क्याम्पेनको सुरुवात गरेको हो।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री यादवले कुलतमा फसेका युवालाई लागुऔषधको लतबाट छुटकारा दिलाउन अतिआवश्यक रहेको भन्दै यस क्याम्पेनले धेरै युवालाई आफूलाई पहिचान गर्न र कुलतबाट निस्कन सहयोग गर्ने बताए। उनले मधेश प्रदेशका सबै जिल्लामा पुनर्स्थापना केन्द्र (सुधार केन्द्र)को आवश्यकता महसुस भएको भन्दै प्रदेशका सबै जिल्लामा सुधार केन्द्र स्थापना गरिने बताए। उनले महोत्तरीमा समेत निर्माणको चरणमा रहेको गौशाला नगरपालिका– ८ बेलगाछीस्थित सुधार केन्द्र निर्माण पूर्ण गर्न आवश्यक पर्ने बजेट प्रदेश सरकारले तत्काल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री यादवले पहिले लागुऔषधको वास्तविक तथ्यांकबारे आफू अनभिज्ञ रहेकोमा हालै यसै कार्यक्रमका लागि प्रदेश प्रहरी कार्यालयका डिआइजी जनक भट्टराईले तथ्यांकसहित प्रदेशको वास्तविक अवस्था चित्रण गरेपछि यसको भयावह अवस्थाबारे आफू अवगत भएको बताए।

आफ्ना सन्तान कुलतमा फस्नुमा अभिभावकको गैरजिम्मेवारीपनसमेत मुख्य कारक भएको बताउँदै मुख्यमन्त्री यादवले अभिभावकले आफ्नो सन्तान कहाँ र के गर्दै छन्, कोसँग भेट्दै छन्, संगत कस्तो छ ? लगायतका कुरामा चनाखो हुन आवश्यक रहेको बताए।

उनले अभिभावकले आफ्नो सन्तानमाथि विशेष ध्यान दिनसके धेरै युवा लागुऔषधको कुलतमा फस्नबाट जोगिनेसमेत बताए। आफ्नो सन्तान कुलतमा फसेर लागुऔषध सेवन गरेको वा ओसारपसार गरेको अवस्थामा पक्राउ परे अभिभावक नै छुटाइदिन नेताहरूकोमा सिफारिस गर्न जाँदा यसले झनै अवस्था विकराल भएको उनको कथन छ।

कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री मोहम्मद समिमले महोत्तरीमा निर्माणाधीन रहेको सुधार केन्द्रलाई तत्काल निर्माण गरी सञ्चालन गर्न आफूले समेत मुख्यमन्त्रीबाट निर्देशन पाइसकेको भन्दै सुधार केन्द्रको काम अगाडि बढिसकेको बताए। उनले प्रहरी प्रशासनले लागुऔषधविरुद्ध आफ्नो काम गरिरहेको बताउँदै अभिभावकले आफ्नो जिम्मेवारीसमेत बुझ्नु आवश्यक रहेको बताए।

प्रदेशका सांसद तथा पूर्वगृह तथा सञ्चारमन्त्री भरत साहले मधेश प्रदेशका युवाहरू लागुऔषधको कुलतमा बेस्सरी फसिसकेको भन्दै अझै यसप्रति गम्भीर नभए युवाशक्तिको सदुपयोग नहुने बताए। उनले युवालाई कुलतबाट निकाल्न तथा महोत्तरीसहित मधेशका युवालाई सकारात्मक कार्यमा लगाउन थालिएको अभियानको सफलताको कामना गरे। त्यस्तै, सांसद शारदादेवी थापाले मधेशका युवाको लागुऔषधकै कारण भएको विकराल अवस्था देखेर असह्य दुःख भएको बताउँदै फसिसकेको युवालाई निकाल्न कठिन भए पनि असम्भव भने नभएको बताइन्। 

कार्यक्रममा मधेश प्रदेशका डिआइजी जनक भट्टराईले महोत्तरीबाट सुरु गरिएको क्याम्पेन मधेश प्रदेशभर सञ्चालनमा ल्याइएको र यसको सकारात्मक नतिजासमेत चाँडै देखिने बताए। उनले मधेश प्रदेशको लागुऔषध सेवनकर्ताको तथ्यांक प्रस्तुत गर्दै प्रहरीले नेपालभित्रै रहेका र भारतबाट आयात हुने लागुऔषधहरू पूर्ण रूपमा नियन्त्रणको प्रयास गरिरहेको बताए।

क्याम्पेनको दोस्रो सत्रमा मनोचिकित्सक डा. रविन झाले लागुऔषध सेवनकर्ताहरूसँग मनोपरामर्श गरेका थिए।

यस्तो छ प्रदेशको लागुऔषधसम्बन्धी तथ्यांकः
महोत्तरीमा आर्थिक वर्ष २०७८/७९ मा १०० लागुऔषधसम्बन्धी १०० मुद्दा दर्ता हुँदा १२९ जना पक्राउ परेका छन्। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ७७ मुद्दा दर्ता हुँदा १०३ जना र चालु आवको कार्तिक मसान्तसम्म २० मुद्दा दर्ता हुँदा २७ जना पक्राउ परेका छन्।

चालु आवको हालसम्मको प्रदेशभरकै तथ्यांक हेर्दा सप्तरीमा १६ मुद्दा दर्ता भई २२ जना, सिरहामा ३० मुद्दा दर्ता भई ३४ जना, धनुषामा १६ मुद्दा दर्ता भई २५ जना, महोत्तरीमा २० मुद्दा दर्ता भई २९ जना र सर्लाहीमा ७५ मुद्दा दर्ता भई ११२ जना पक्राउ परेका छन्।

यसैगरी, रौतहटमा ८ मुद्दा दर्ता भई १३ जना, बारामा ३० मुद्दा दर्ता भई ५० जना र पर्सामा ६८ मुद्दा दर्ता भई ९६ जना पक्राउ परेका छन्।