
चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ रुपैयाँबराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।
चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारीसाधनमार्फत काठमाडौंतर्फ लाने क्रममा प्रहरीले बरामद गरेको उनले बताए ।
रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि रु. एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो ।
यस्तै, जिल्ला प्रहरी कार्यालयले चालू आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेस गरेको छ । यसरी पेस भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध छन् ।