१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
शिल्पा कर्ण काठमाडौं
Invalid date format १७:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बालकृष्ण खाणबारे यसरी बाझियो दुई न्यायाधीशबीच राय, अब तेस्रो न्यायाधीशसमक्ष पेस हुने

नक्कली भुटानी शरणार्थी प्रकरण

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री  तथा कांग्रेस नेता बालकृष्ण खाण तत्काल थुनामै रहने भएका छन् । 

उनलाई थुन्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा उच्च अदालत पाटनका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएको हो ।

अब उनलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने फैसला गर्न तेस्रो न्यायाधीशसमक्ष पेस हुनेछ । सोही इजलासले उनलाई थुनामै राख्ने वा धरौटीमा छाडी पुर्पक्ष गर्न दिने भन्ने फैसला गर्नेछ । 

खाणको हकमा न्यायाधीश प्रकाश खरेलले थुनामै राख्नुपर्ने आदेश गरेका छन् भने अर्का न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँ धरौटी, जमान वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका छन् । 

न्यायाधीश पाण्डेले खाणले प्रतिवादी अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान दिँदा अभियोग दाबीको कसुरमा पूर्णत इन्कार रही बयान दिएको, भुटानी शरणार्थी पहिचान गर्न तयार पारिएको प्रतिवेदनको समानान्तर अर्को प्रतिवेदन कसरी तयार भयो भन्ने आफूलाई थाहा नभएको भनी व्यहोरा लेखाएकोलगायत आधार देखाएका छन् । 

यस्तै, प्रतिवादीहरू केशव दुलाल, टेकनारायण पाण्डेबीचको टेलिफोन संवादमा उल्लेख भएको गिफ्ट भनेको रकम हो र उक्त रकम दुलालबाट खाणले लिएको भन्ने तथ्य स्वयं दुलालले इन्कार गर्दै खाणलाई आफूले नभेटेको तथा रकम नदिएको भनी उल्लेख गरेको आधार न्यायाधीश पाण्डेले लिएका छन् । 

न्यायाधीश पाण्डेको आदेशमा भनिएको छ, ‘...पछि प्रमाण परीक्षण र मूल्यांकन गर्दै जाँदा ठहरेबमोजिम हुने नै देखिँदा हाललाई यी निवेदक प्रतिवादी बालकृष्ण खाणलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम रु. ३० लाख नगद धरौटी, जमानत वा बैंक जमान लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी नियमानुसार गर्नू ।’


अर्का न्यायाधीश प्रकाश खरेलले भने खाणलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश मनासिव देखिँदा परिवर्तन गरिरहन नपर्ने आदेश दिएका छन् । 

उनले प्रतिवादी टेकनारायण पाण्डे र केशव दुलालबीचको मोबाइल म्यासेज, नरेन्द्र केसीबाट बरामद भएको पाण्डेले केसीलाई लेखी दिएको कागज, अर्का प्रतिवादी आङटावा शेर्पाको घटना–विवरण कागज तथा सहप्रतिवादी टेकनारायण पाण्डेको अधिकारप्राप्त अधिकारीसमक्षको ततिम्बा बयानसमेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी खाण अभियोग दाबीको कसुरमा अहिले नै निर्दाेष रहेछन् भनी विश्वास गर्न मिल्ने मनासिव आभार नदेखिएको जनाएका छन् ।