१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गगन अयडी बाजुरा
Invalid date format ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सरकारका मान्छे आउँछन्,फोटो खिच्छन्, जान्छन्’

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

सरकारले उचित व्यवस्थापन गर्न नसक्दा  बाजुराका भूकम्पपीडित तीन महिनादेखि खुला आकाशमुनिको पालमा बस्न बाध्य छन् । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार असोज १६ गते बझाङको तलकोट केन्द्रबिन्दु  भएर गएकाे भूकम्पले बाजुरा जिल्लामा एक हजार दुई सय ९० घर पूर्ण रूपमा क्षति भएका छन् । 

खप्तड छेडेदह गाउँपालिका– ५ सिम्पाटा दलितटोलकी २३ वर्षीया बाटुली सार्की १२ महिने छोरा समीर काखमा च्यापेर मंसिरको चिसोमा  पालमुनि आगो तापेर जीवन कटाइरहेकी छिन् । भूकम्पले घर पूर्ण रूपमा क्षति भएपछि जिल्ला रेडक्रस सोसाइटी नेपालले दिएको त्रिपाल टाँगेर त्यसैमा रात बिताइरहेको उनको भनाइ छ ।

चिसोको कारण बालबालिका र वृद्धवृद्धा बिरामी भएको उनले बताइन् । चिसोसँग लड्दै खुला आकाशमुनिको पालमा वास बसिरहँदा सरोकारवाला निकायले अहिलेसम्म भूकम्पपीडितहरूका लागि कुनै चासो नदिएको उनको गुनासो छ । 

‘सरकारका मान्छे आउँछन्, फोटो खिच्छन्, जान्छन्, तर व्यवस्थापनमा चासो दिँदैनन्,’ तीन महिनादेखि छोराछोरी काखमा च्यापेर पालमुनिबाट चिसोसँग लडिरहकी ५५ वर्षीया राजकाला सार्की भन्छिन्, ‘क्या गर्नु चिसो भयो भनेर कता जाउँ यो दुई मुठी परान जोगाउनैपर्‍यो ।’

खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले भने बाजुरा जिल्लामा सबैभन्दा बढी भूकम्पपीडित खप्तड छेडेदह गाउँपालिकामा नौ सय ९१ घर पूर्ण क्षति भएको हुँदा पहिलो चरणको राहतमा त्रिपाल, कम्बल र केही खाद्यान्न वितरण गरेको बताए । दोस्रो चरणको राहत संकलन गर्ने अभियानमा गाउँपालिका लागिरहेको अध्यक्ष रावतले बताए ।