
नेसनल लाइफ इनस्योरेन्स कम्पनी लिमिटेडले गैरनाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंको बुढानीलकण्ठमा निर्माणाधीन दुई सय बेड क्षमताको अस्पताल निर्माणका लागि कम्पनीले तीन वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले सहयोग प्रदान गर्ने भएको हो ।
सहयोगसम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी प्रमुख सुरेशप्रसाद खत्री र अस्पताल निर्माता संस्था काठमाडांै इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौतामा हस्ताक्षरसँगै कम्पनीका कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि संस्थालाई हस्तान्तरण गरेको नेसनल लाइफले जनाएको छ ।
हस्ताक्षरपछि प्रा.डा. कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको बताए । क्रमिक रूपमा देशका अन्य स्थानहरूमा समेत बाल स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको उनको भनाइ थियो ।
त्यस्तै, कम्पनीका कार्यकारी प्रमुख खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणजस्ता क्षेत्रहरूमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्मरण गरे । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट निर्माणाधीन बाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुसी व्यक्त गर्दै अस्पताल सञ्चालनपछि बालबालिकाले सहज रूपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको उनको भनाइ थियो ।