१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
बलका लागि संघर्ष गर्दै झापा (सेतो) र इलामका खेलाडी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:२३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : नवप्रवेशी इलामको पहिलो जित

उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग पराजित भएको नयाँ क्लब इलामले दोस्रो खेलमा झापालाई हरायो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२३:oo

विदेशी खेलाडी अमाथ एनडाको निर्णायक गोलमा स्पोर्टिङ इलाम फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार इलामले झापा एफसीलाई १–० ले हराएको हो । दुवै क्लब पहिलोपटक एनएसएलमा प्रतिस्पर्धा गरेका हुन् । यसपटक नवप्रवेशी तीनै क्लब पहिलो खेलमा पराजित भए ।

इलाम उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग १–० ले नै पराजित भएको थियो । वीरगन्ज युनाइटेड एफसी साबिक उपविजेता धनगढी एफसीसँग आइतबार २–१ ले पराजित भयो । जितपछि इलामले दोस्रो खेलमा तीन अंक जोडेको छ । सुखद सुरुवात गर्ने झापाको योजना भने सफल भएन । 

जितपछि इलामका प्रशिक्षक मेघराज केसीले योजनाअनुसार सफल भएको र दिनप्रतिदिन प्रदर्शन राम्रो हुँदै जाने बताए । ‘योजनाअनुसार राम्रो प्रदर्शन गरेका छौँ । दिनप्रतिदिन राम्रो हुँदै जानेछ,’ केसीले भने । उनले सहभागी नौ टोलीमा कुनै पनि क्लब कमजोर अवस्थामा नरहेको बताए, ‘सहभागी नौमध्ये कुनै पनि टोली कमजोर छैनन् । यहाँ हरेक टोली बलिया छन् । सबै खेल प्रतिस्पर्धात्मक हुनेछ ।’ हारपछि झापाका स्पेनिस प्रशिक्षक ओरिओल मोहदानो सेगुरा भने दुखित भए । उनले राम्रो प्रदर्शन नभएको र सुधार गरेर पछिल्लो खेल खेल्ने बताएका छन् । ‘खेल सकिएपछिको भावुकता मलाई थाहा छ । म निकै दुःखी छु,’ उनले भने ।

पहिलो हाफ निराशाजनक
पहिलो हाफमा दुवै टोलीले निराशाजनक प्रदर्शन गरेका थिए । पूर्वेली डर्बीमा दुवै टोलीको आक्रामक बलियो भएन । अधिकांश समय दुवै टोलीले मध्यभागमै बल खेलेका थिए । खेलमा झापाले पाँच र इलामले चार विदेशी खेलाडीलाई प्रयोग ग र्‍यो । खेलमा दुवै टोलीले बल पोसेसन बनाउनमै संघर्ष देखिन्थे । इलामका मार्की खेलाडी तथा कप्तान विकेश कुथूले सानदार प्रदर्शन गरे । गोलरक्षकसमेत रहेका विकेशले झापाका आधा दर्जनभन्दा बढी राम्रा प्रहार रोके । ‘आज खेलभर कति प्रहार रोके याद नै छैन,’ खेलपछि विकेशको प्रतिक्रिया थियो । 

११औँ मिनेटमा झापाका स्पेनिस स्ट्राइकर जोर्गे पेरेज सान्चेज गोल गर्न चुकेका थिए । इलामका रक्षकलाई बिट गरिसकेको अवस्थामा गोलरक्षक कुथूबाट दबाब झेल्न सकेनन् । ३२औँ मिनेटमा पनि सान्चेजले विकेशलाई बिट गर्न सकेनन् । ४४औँ मिनेटमा झापाका कप्तान तथा मार्की अञ्जन विष्ट गोल गर्न चुके । राइटब्याक छिरिङ लामाको लामो क्रसलाई बक्सभित्रबाट अञ्जनले हेडिङ गरेको बल पोलमा लागेर फर्किएको थियो । २९औँ मिनेटमा इलामका इब्राहिम जितको प्रहार बारको केही नजिकबाट बाहिरियो । ३८औँ मिनेटमा इलामका भरत खवासको प्रहार झापाका सर्बियन गोलकिपर स्टेफन कुपिकले सहजै नियन्त्रणमा लिए । 

दोस्रो हाफमा इलाम सफल 
झापाको तुलनामा इलामले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्‍यो । झापाले पेनाल्टी अवसर खेर फ्यालेको थियो । दोस्रो हाफको पहिलो मिनेटमै अमाथ एनडा गोल गर्नबाट चुकेका थिए । झापाका सान्चेजले लगातार गोल गर्ने अवसर गुमाए । ५४औँ मिनेटमा गोलरक्षक विकेशले आकर्षक बचाउ गरेका थिए । ६३औँ मिनेटमा अमाथ वान भर्सेस वानमा गोल गर्न चुके । ६९औँ इलामले लगातार प्रहार गर्‍यो । झापाका गोलकिपर स्टेफन कुपिकले लगातार टोलीको संकट टारिरहे ।

८४औँ मिनेटमा अमाथले पाएको पेनाल्टी चुकाएका थिए । उनको प्रहार पोस्टभन्दा धेरै माथिबाट बाहिरियो । रक्षक योगेश गुरुङले भरत खवासलाई बक्सभित्र लडाएपछि इलामले पेनाल्टी पायो । अर्काे मिनेटमा अमाथ गोल गर्न सफल रहे । भरत खवासको पासमा अमाथको प्रहार गोलकिपर कुपितले रोक्छन् । तर, रिबाउन्ड बलमा अमाथ उत्कृष्ट गोल गर्न सफल हुन्छन् । झापाले इन्जुरी समयमा गोलको अवसर बनाए पनि गोलकिपर विकेशले टोलीलाई बराबरीबाट रोक्न सफल भए ।

 कुनै टिम कमजोर छैनन् 
मेघराज केसी, प्रशिक्षक स्पोर्टिङ इलाम एफसी

हामीले एउटा क्वालिटीको खेल हेर्न पाएका छौँ । मैले दर्शकको रूपमा त्यो स्तरीय खेल हेरे । दुवै टोलीले राम्रो खेल खेलेका हुन् । नेपाली दर्शकले यस्तो खेल कमै हेर्न पाउँछन् । हामीले हरेक दिन सुधार गर्दै राम्रो खेल खेल्छौंँ । केही गल्ती भएका छन् । अर्काे खेलमा झनै राम्रो गरेर खेल्छौँ । एनएसएलमा पहिलो जित निकालेको छु । पहिलो संस्करणमा मात्र तीन खेल खेले । पारिवारिक कारण टोलीबाट निस्कनुपर्‍यो । पहिलो संस्करण खल्लो रह्यो । नौ टोलीकै खेल हेर्दा प्रतिस्पर्धा गर्न निकै गाह्रो छ । यही टोली कमजोर छ भन्ने थाहा पाएको छैन । 

 कति प्रहार बचाएँ, याद नै छैन 
बिकेश कुथू, मार्की स्पोर्टिङ इलाम एफसी

जुन रणनीतिअनुसार आएका थियौँ । सोहीअनुसार प्रदर्शन भएको छ । पहिलो खेलमा पराजित हुँदा दुःखी थियौँ । यो टोलीमा केही छ भन्ने विश्वास छ । नतिजा पनि सोहीअनुसार आए । उनीहरूले सुनौलो अवसर गुमाएका छन् । अन्तिम समयमा मैले हेडिङ राम्रो बचाउ गरेँ । खेलभर कति बचाएँ त्यो याद नै छैन । 

 आगामी खेलमा राम्रो हुन्छ 
ओरिओल मोहेदानो सेगुरा, प्रशिक्षक, झापा

खेल सकिएपछिको निराशा मलाई थाहा छ । वातावरण धेरै फरक थियो । अवश्य म निकै दुःखी छु । हामी अझै राम्रो गर्न सक्छौँ । कमजोरी धेरै छन्, त्यसलाई सुधार गर्नुपर्छ । हामीलाई हाम्रो बलियोपन थाहा छ । उनीहरूले हाम्रो कमजोरीको फाइदा लिए । हामीसँग धेरै अनुभवी खेलाडी छन् । हामी आगामी खेलमा अझै राम्रो गर्न सक्छौंँ । मिहिनेत गरेर खेल्नेछौंँ ।