
ताप्लेजुङ फुङलिङ नगरपालिका- ३ मेदीबुङका तुलसी गिरी उमे रले ८० पुगिन्। उनका आँखाले काम गर्न छोडेको झन्डै दुई वर्षभन्दा बढी भयो।
‘पहिले आँखा ठीकै थियो। तर, जब म बिरामी भएँ, त्यसपछि मेरा आँखाले काम गर्न छोडे,’ उनले भनिन्, ‘आँखाले काम नै गर्न छोडेपछि हिँडडुल गर्नसमेत समस्या भयो।’
आँखाले काम गर्न छोडे पछि संसार नै अन्धकार भएको बताउँदै उनले थपिन्, ‘बरु शरीरका अन्य भागमा समस्या भए केही फरक नपर्दाे रैछ, तर आँखा नै देख्न छोडेपछि दिनरात एउटै लाग्ने।’
उनी मात्र होइन, ८६ वर्षीय वृद्ध भक्तराज भारतीको पनि समस्या उस्तै थियाे। उनका दुवै आँखाले देख्न छाडेको एक वर्षभन्दा बढी भइसकेकाे थियाे। फेरि संसार देख्न पाइने भएपछि उनले संसार देखाउने डाक्टर आफ्ना लागि भगवान् नै भएको बताए।
आइतबारदेखि नेत्र ज्याेति संघ ताप्लेजुङले आयोजना गरेको आँखा शिविरमा उनीहरूजस्तै ४० जनाले नयाँ संसार दे ख्न पाउने भएका छन्। डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा ४० जनाको निःशुल्क आँखाको अप्रे सन गरिएको नेत्र ज्याेति संघ ताप्लेजुङका अध्यक्ष राजकुमार गुरुङले बताए।
सबैभन्दा बढी उमेरकी ९३ वर्षीया भगीरथा गौतम तथा सबैभन्दा कम उमेरका ५६ वर्षीयका इन्द्रबहादुर थापाले शिविरबाट आँखाको उपचार गरेका छन्। अध्यक्ष गुरुङका अनुसार यो शिविरबाट दुई सय ४३ जनाले आइतबार मात्र सेवा लिएका छन्।
अप्रे सनबाहेक अँखामा मासु पलाएका, आँखाको परेला भित्र फर्केका, आँखा पाक्ने, बिजाउने, रातो हुने, चिलाउने जस्ता समस्या भएका बिरामीको पनि उपचार गरिएको छ। जनचेतनाको वृद्धिजस्ता विभिन्न कारणले गर्दा पनि आँखाका धेरै बिरामीले परीक्षण गराएको अध्यक्ष गुरुङले बताए।
विराटनगर आँखा अस्पताल विराटनगरबाट नेत्ररोग विशेषज्ञ डाक्टर सगुन मल्लको नेतृत्वमा आएको ६ जनाको विशेषज्ञ टोलीले आँखाको उपचार गरिरहेकोसमेत अध्यक्ष गुरुङले बताए।
हरियो सागपात, फलफूल, गेडागुडीजस्ता खानेकुरा खाएमा पनि केही हदसम्म आँखाको रक्षा गर्न सकिने उनको भनाइ छ। साथै, समय–समयमा आँखालाई बिस्तारै सफा पानीले सफा गर्दा पनि समस्या कम हुने गर्छ।
अध्यक्ष गुरुङका अनुसार विराटनगर आँखा अस्पतालकाे प्राविधिक सहयोग तथा सेवा फाउन्डेसन काठमाडौं, नेत्र ज्याेति संघ र फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हाे।