१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:५८:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सडकको सर्भिस लेनको डिजाइन परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५८:oo

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको सर्भिस लेनको डिजाइन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले सडक विभागलाई आग्रह गरेको छ।

चौराहादेखि गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपमहानगरपालिकाले सडकको सर्भिस लेनको डिजाइन हेरफेर गर्न आग्रह गरेको हो।

बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्तीको क्षेत्रको सडकको सर्भिस लेनलाई हरियाली मात्र नगरी साना सवारी पार्किङ, साना व्यवसाय, हरियाली, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

उनले चौराहादेखि गोलपार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण सुरु हुनुअघि नै डिजाइनमा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनका लागि आग्रह गर्ने निर्णय गरेको बताए।

‘सडक बनाएपछि सवारी पार्किङ गर्ने क्षेत्र मासियो, अन्यत्र पार्किङ गर्ने स्थान छैन, पहिलेका आराम गर्ने चौतारी पनि मासिए, पानी पिउने ठाउँ, शौचालयलाई ठाउँ छैन,’ उनले भने, ‘त्यसैले यो क्षेत्रको सर्भिस लेनमा यी सबै कुरालाई समेत गाभेर यहाँको आवश्यकताअनुसारको बनाउनुपर्छ भन्ने हाम्रो आग्रह हो।’

पाण्डेयले सर्भिस लेनको बीचबीचमा सानासाना गाडी पार्किङको क्षेत्र, सानासाना विश्रामस्थल, पिउने पानी, शौचालयसमेतलाई व्यवस्थित गर्ने गरी सडक विभागलाई प्रस्तावित डिजाइन पठाइएको बताए।

बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय आवश्यकतालाई हेरेर सर्भिस लेनको डिजाइनमा परिवर्तन गर्नुपर्ने बताइन्। सडक डिभिजन बुटवलका प्रमुख विसुनदास लामाले सरोकारवालाको मागअनुसार सडक विभागमा अनुरोध गर्ने बताए।

स्थानीय सरोकारवालाबीचको छलफलको निर्णयअनुसार छिट्टै नै स्थानीय सरोकारवालाको भेला डाकेर सडकको सर्भिस लेन परिवर्तनका लागि बृहत् छलफल गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए।

यस्तै, आइतबार बसेको अर्को बैठकले नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत बुटवल ८ र १० को नाला निर्माणबारे सरोकारवालाबीच छलफल गरी आवश्यकताअनुसार सिफारिस गर्ने निर्णय गरेको छ।