१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० मङ्सिर ११ सोमबार ०७:५९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय टोलीमा नपरेपछि ब्राभोले लिए सन्न्यास

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा स्थान बनाउन असफल भएपछि वेस्ट इन्डिजका मध्यक्रमका ब्याट्सम्यान ड्यारेन ब्राभोद्वारा सन्न्यास घोषणा

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ११ सोमबार ०७:५९:००

वेस्ट इन्डिजका मध्यक्रमका अनुभवी ब्याट्सम्यान ड्यारेन ब्राभोलाई यसपटक राष्ट्रिय टोलीबाट खेल्ने पूर्ण विश्वास थियो । ब्राभोले आसन्न इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि मिहिनेत पनि गरेका थिए । तर, वेस्ट इन्डिज क्रिकेट बोर्डले आइतबार एकदिवसीय सिरिजका लागि राष्ट्रिय टोली घोषणा गर्दा ब्राभो परेनन् । राष्ट्रिय टोलीमा फर्कने सबै बाटो बन्द भएपछि उनले सोसल मिडियामा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएको घोषणा छन् । १४ वर्ष लामो करिअरबाट बिदा लिन कठिन भएको उनले जनाएका छन् । 

‘वेस्ट इन्डिज टोलीबाट खेल्ने सपना देखेको थिएँ, यसका लागि मिहिनेत पनि गरेँ,’ उनले भने, ‘मेरो लामो समयको प्रयासले केही काम गरेन, आजको दिनबाट राष्ट्रिय क्रिकेट टोलीबाट सन्न्यासको घोषणा गरेको छु ।’ एक दशक लामो समयसम्म राष्ट्रिय टोलीबाट खेल्न पाउँदाको क्षणलाई सधैँ सम्झिरहने उनले जनाएका छन् । ‘निःस्वार्थ रूपमा राष्ट्रका लागि खेलेँ, कहिले पनि टोलीको हितबाहेक मनमा आएन,’ उनी भन्छन्, ‘यहाँसम्मको यात्रामा सबैलाई धन्यवाद छ ।’

यसबीचमा वेस्ट इन्डिजको आयरल्यान्ड एकेडेमीमा समेत उनले स्थान बनाउन सकेनन् । बायाँहाते ब्याट्सम्यान ब्राभोले अन्तिमपटक गत वर्षको फेब्रुअरीमा खेलेका थिए । अन्तर्राष्ट्रिय करियरमा ब्राभोले दुई सय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । वेस्ट इन्डिजले २०२७ को विश्वकपलाई ध्यानमा राख्दै युवा खेलाडीलाई मौका दिने योजनामा ब्राभोलाई बाहिर राखेको हो । 

१२ अन्तर्राष्ट्रिय शतक
सन् २००९ मा ब्राभोले भारतविरुद्ध एकदिवसीय सिरिजमा डेब्यु गरेका थिए । त्यसयता उनले वेस्ट इन्डिजको मध्यक्रमको ब्याटिङ लाइनअप बलियो बनाए । उनले यस अवधिमा १२ अन्तर्राष्ट्रिय शतक लगाए । उनले ५६ टेस्टमा आठ र १२२ एकदिवसीय खेलमा चार शतक जोडेका छन् । उनले टेस्टमा १७ अर्धशतकको सहयोगमा तीन हजार ५५८ रन बटुले । १२२ एकदिवसीय खेलमा उनले १८ अर्धशतक लगाउँदै तीन हजार १०९ रन बनाएका छन् । २६ अन्तर्राष्ट्रिय टी–२० मा उनले ४०५ रन बनाएका छन् ।