१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १७:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अस्पताल भवन अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

खाँडादेवी गाउँपालिकाले आफ्नै लगानीमा वडा नं ५ सुलिथुम्का सामुदायिक वनमा निर्माण सुरु गरेको १५ शय्याको अस्पताल भवन निर्माण व्यवसायीको लापरबाहीले साढे तीन वर्षदेखि अलपत्र अवस्थामा छ। 

सबै नागरिकलाई पालिकास्तरमै सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले पालिकाले भवन निर्माणको लागि टेन्डर आह्वान गरेको थियो। २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी आत्रीय शिवको बस्नेत जेभीले ३ करोड ७२ लाखमा ठेक्का सम्झौता गर्‍यो।

निर्माण व्यवसायीले सुरुमा केही कामको थालनी गरे पनि पछि लामो समयसम्म सम्पर्कविहीन भए। गाउँपालिकाले पटक-पटक पत्राचार गरेपछि सम्पर्कमा आएका निर्माण व्यवसायी एकतला भवन ढलान गरेर हिँडेपछि हालसम्म पनि फर्किएका छैनन्। व्यवसायीले ढलान गरेको फर्मासमेत अहिलेसम्म निकालेका छैनन्। 

अस्पताल भवन निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी अहिले गाउँपालिकाको सम्पर्कमा समेत छैनन्। गाउँपालिकाले पटक-पटक पत्राचार गर्दासमेत व्यवसायीले अटेर गरेका कारण अहिलेसम्म भवन बेवारिसे अवस्थामा पुगेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताए।

उनले भने, ‘अस्पताल भवन नहुँदा अहिले पुरानै भवनवाट नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ। अहिले भएको पुरानो भवन जीर्ण अवस्थामा छ। भवन अभावकै कारण सहज तरिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकेका छैनौँ।’ भवन समयमा नबन्दा गुणस्तरीय स्वास्थ्य सेवा लिन नागरिक जिल्ला सदरमुकाम मन्थलीदेखि छिमेकी जिल्ला काभ्रेको धुलिखेल र राजधानीसम्म पुग्ने गरेका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठ बताउँछन्।

काम समयमा नसक्ने निर्माण व्यवसायीलाई पटक-पटक पत्राचार गर्दासमेत बेवास्ता गर्ने निर्माण व्यवसायीसँग ठेक्का सम्झौता तोड्ने अवस्थामा पुगेको गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुंगेलले जानकारी दिए। उनले भने, ‘यस वर्ष संघीय सरकारबाट पनि ४८ लाख रुपैयाँ बजेट प्राप्त भएको छ।’ इन्जिनियर ढुंगेलका अनुसार उक्त रकमबाट ट्रस निर्माण गरेर भए पनि सोही भवनवाट स्वास्थ्य सेवा प्रवाह गर्ने गरी काम अघि बढाइएको छ।

गाउँपालिकाले अस्पताल भवन निर्माणको लागि छुट्याएको ३ करोड ७२ लाखमध्ये एक करोड ३० लाख रुपैयाँ पालिकाकै खातामा छ। निर्माण व्यवसायीले काम अघि नबढाउँदा उक्त रकम पालिकाले खर्च गर्न सकेको छैन।