Skip This
कतारी राज्यमन्त्रीको नेपाल भ्रमण : विपिनको रिहाइका लागि प्रधानमन्त्री प्रचण्डले मागे सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ९ शनिबार o५:५७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कतारी राज्यमन्त्रीको नेपाल भ्रमण : विपिनको रिहाइका लागि प्रधानमन्त्री प्रचण्डले मागे सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार o५:५७:oo

प्रयास गर्ने कतारको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सहयोग गर्न कतार सरकारसँग आग्रह गरेका छन् । नेपालको औपचारिक भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीसँग शुक्रबार प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् । कतारसँग नेपालले यसअघि पनि कूटनीतिक प्रयास गर्दै आएको थियो । 

प्रधानमन्त्रीले गाजामा मानवीय आधारमा युद्धविराम र बन्धकहरूको रिहाइमा कतारले निर्वाह गरेको मध्यस्थताको प्रशंसा गर्दै नेपाली नागरिकको रिहाइका लागि सहयोग मागेका छन् । इजरायल र प्यालेस्टाइनबीचको सम्झौताअनुसार हमासको नियन्त्रणमा रहेका १२ जना थाई नागरिक शुक्रबार रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विपिन जोशीलाई पहिलो चरणमै रिहाइको प्रयास गरिदिन नेपाल सरकारले कतार, इजिप्टलगायतसँग अनुरोध गर्दै आएको थियो । 

प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि पुगेका कतारी राज्यमन्त्रीसँग कतारमा रहेका नेपाली नागरिकको पेसागत सुरक्षा, दुई देशबीच व्यापार, लगानी, विकास सहयोग र रोजगारीलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबारै परराष्ट्रमन्त्री एनपी साउदले पनि राज्यमन्त्री मुरैखीसँग विपिन जोशीको रिहाइका लागि सहयोग गर्न 
आग्रह गरेका छन् । नेपालको आग्रहलाई सकारात्मक रूपमा लिँदै कतारी राज्यमन्त्रीले विपिनको रिहाइका लागि प्रयास गर्ने आश्वासन दिएका छन् ।

सिंहदरबारमा शुक्रबारै भएको परराष्ट्रमन्त्री साउद र कतारी राज्यमन्त्रीबीचको भेटवार्तामा नेपालमा लगानी, शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग, आदानप्रदान कार्यक्रम, छात्रवृत्ति, दक्ष तथा अर्धदक्ष नेपाली नागरिकको रोजगारीलगायत सम्भावित क्षेत्र खोजी गर्ने विषयमा छलफल भएको छ । ‘गाजाको अवस्था सहज बनाउन र बन्धकहरूको रिहाइमा कतारको भूमिकाको प्रशंसा गर्नुका साथै परराष्ट्रमन्त्रीले विपिन जोशीको शीघ्र रिहाइका लागि कतारलाई सहजीकरण गर्न अनुरोध दोहोर्‍याउनुभएको छ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कतारी पक्षले बन्धकहरूलाई रिहा गर्न र मानवीय अवस्था सहज बनाउन निरन्तर प्रयास गरिरहेको जानकारी दिएको छ ।’ 

राज्यमन्त्री नेतृत्वको कतारी प्रतिनिधिमण्डलले परराष्ट्रसचिव भरतराज पौड्यालसँग परराष्ट्र मन्त्रालयमा शुक्रबार द्विपक्षीय भेटवार्ता गरेको छ । परराष्ट्रका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरेका छन् । परराष्ट्रसचिव पौड्यालले नेपाललाई कतारमा श्रमिक आपूर्तिका लागि दक्ष वर्गमा सूचीकृत गर्न, कतारको बजारमा नेपाली उत्पादनमा विशेष पहुँच उपलब्ध गराउन र कतार फन्ड फर डेभलपमेन्टमार्फत विकास सहयोग गर्न आग्रह गरेका छन् । 

परराष्ट्रमन्त्री साउदले विदेश राज्यमन्त्री मुरैखीको नेतृत्वमा रहेको कतारी प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गरेका छन् । कतारका विदेश राज्यमन्त्री र उनको प्रतिनिधिमण्डल शुक्रबारै दोहा फर्केको छ ।