१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o५:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

साना आयोजनामा श्रमदानलाई प्रोत्साहन गर्दै तातोपानी गाउँपालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o५:oo

जुम्लाको तातोपानी गाउँपालिकाले साना आयोजनामा श्रमदानलाई प्रोत्साहन गर्ने नीति लिएकाे छ। पालिकाभित्र नहर, कुलो, खानेपानी, मन्दिर, चौतारा बिग्रिए–भत्किए भने श्रमदान गरेरै निर्माण गर्ने गरिएको छ।

पुनर्निर्माण तथा सामान्य मर्मतका लागि पनि पालिकाकै मुख ताक्ने प्रवृत्ति कम गर्नका लागि श्रमदानलाई प्राथमिकता दिँदै आएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। साना योजनाको मर्मत तथा पुनर्निर्माणका लागि नियमित बजेट माग्ने परिस्थिति बढेपछि गाउँपालिकाले विगत सात-आठ महिनायता श्रमदान अभियानलाई तीव्रता दिएको छ। हरेक महिनाको दोस्रो शनिबार श्रमदान गर्ने निर्णयअनुसार सुरु भएको अभियान प्रभावकारीसमेत देखिएको छ।

श्रमदान अभियानअन्तर्गत साउन–भदौमा बाढीले भत्केका, पुरिएका सिँचाइ, कुलो निर्माण गरी खेतमा रोपाइँ गर्नुका साथै नांगा डाँडामा वृक्षरोपण, मठमन्दिरको मर्मत, प्रतीक्षालय निर्माण, बाटोघाटो सफाइजस्ता कामसमेत हुँदै आएका छन्।

हालसम्म वडा नं. ३ को ता ज्युलोको सिँचाइ कुलो, वडा नं २ र ३ को लाछु ज्युलोको सिँचाइ कुलो, वडा नं ६ मा भत्केको प्रतीक्षालय निर्माण तथा वडा नं ४ मा मन्दिर निर्माण, वृक्षरोपण, पर्यटकीय क्षेत्रको सरसफाइलगायतका काम भइसकेका छन्। विगतमा यस्तै कामका लागि पनि पालिकामा योजना माग्न आउने गरेका थिए।

सबै मिलेको खण्डमा सानातिना विकास कार्य श्रमदान गरेरै गर्न सकिन्छ भन्ने देखाउन र श्रम संस्कृतिको विकास गराउन श्रमदान अभियानको थालनी गरिएको तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ।

‘हामीले दर्जनौँ योजना श्रमदानबाटै निर्माण तथा पुनर्निर्माण गरिसकेका छौँ। विगतमा यस्तै योजनाका लागि जाने बजेट बचेको छ। वडा बस्तीबाट माग भएर आइसकेपछि मात्रै कहाँ श्रमदान गर्ने भनेर सूचना जारी गरी काम गर्दै आएका छौँ,’ उनले भने, ‘तर, अभियानमा अपेक्षित रूपमा नागरिकलाई जोड्न सकेका छैनौँ। तथापि, हाम्रो अभियान सफलताउन्मुख छ।’ अभियानलाई पाँच वर्षसम्मै निरन्तरता दिइने अध्यक्ष चौलागाईंले बताए।

गाउँमा उपभोक्ताले पूरा गर्न नसकेका अधुरा योजना, बाढीपहिरोले भत्किएका संरचनाको मर्मतका लागि प्रत्येक महिनाको दोस्रो शनिबार गाउँगाउँ पुग्ने गरेकाे पालिकाकी उपाध्यक्ष रेवती रावलले बताइन्।

सामग्री खरिदमा २० लाख बजेट
श्रमदान गर्दा आवश्यक सामान खरिद गर्न तातोपानी गाउँपालिकाले चालू आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।

‘सुरुसुरुमा सिमेन्ट, पञ्जाजस्ता आवश्यक सामान कर्मचारीबाट पैसा उठाएरै खरिद गर्‍याैँ,’ उनले भने, ‘सधैँ पैसा उठाएर सम्भव भएन। गाउँमा गएको वेला कोसँग माग्ने ? कतै सिमेन्ट चाहिने कतै के चाहिने।’ विनियोजित बजेटबाट आवश्यकताअनुसार सिमेन्ट, छड, ढुंगा, गिटी, बालुवालगायतका सामग्री खरिद गरिने उनले प्रस्ट पारे।

‘श्रमदान अभियान सुरु भएयता पालिकामा साना योजना माग्नेको संख्या घटेको छ। कोही माग्न आए पनि त्यस्ता योजना श्रमदानबाटै निर्माण हुन्छ भनेर पठाउने गरेका छौँ,’ कठायतले भने। यद्यपि, श्रमदान अभियानमा समुदायलाई भने अपेक्षाअनुसार जोड्न नसकिएको उनको भनाइ छ।

श्रमदान अभियान प्रभावकारी र प्रशंसायोग्य भएकाले यसलाई निरन्तरता दिन नागरिकले सक्दो सहयोग गर्नुपर्ने स्थानीय युवा नवराज बुढाले बताए। श्रमदानबाट निर्माण गरेको खण्डमा अपनत्वको भावना पनि विकास हुने भएकाले सबैलाई जोड्नुपर्ने उनको भनाइ छ।