१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचन ११ माघमा गर्न आयोगको सुझाव

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२३:oo

निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आयोगका पदाधिकारीले उक्त परामर्श दिएका हुन्। प्रधानमन्त्री दाहालले आयोगको सिफारिसअनुसारकै मितिमा हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गरेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि ०८० फागुन २० गते समाप्त हुँदै छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदै छ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एकतिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ। राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ।

निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलको व्यवस्था रहेको छ।