१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:५३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

श्रमदानबाट हजार अस्थायी घरटहरा निर्माण गर्ने कांग्रेसको अभियान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:५३:oo

कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल श्रमदानबाट हजार घरटहरा बनाउने तयारी थालेको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महामन्त्री गगन थापा संयोजकत्वमा मंगलबार बसेको बैठकले कार्यविधि पारित गरी केन्द्रीय सदस्यको संयोजकत्वमा प्राविधिकसहितको टोली परिचालन गर्ने निर्णय गरेको हो । 

बैठकमा कांग्रेस पदाधिकारी, केन्द्रीय सदस्य र भ्रातृ तथा शुभेच्छुक संस्था प्रतिनिधि सहभागी थिए । श्रमदानमा भ्रातृ र शुभेच्छुक संस्था परिचालन हुनेछन् । बैठकले आवास निर्माणमा भूगोल तथा आर्थिक–सामाजिक अवस्थालाई प्राथमिकता दिने निर्णय गरेको छ । यसका लागि केन्द्रीय सदस्यको संयोजकत्वमा २५ समूह बनाइनेछ । प्रत्येक समूहमा प्राविधिकको संलग्नता अनिवार्य गरिएको छ । 

समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहनेछन् । ‘भूकम्प प्रभावित क्षेत्रमा यथाशीघ्र अस्थायी घरटहरा निर्माण गर्न श्रमदान गर्ने र तत्काल एक निर्माणविज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने गरी समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय भएको छ,’ विश्वकर्माले भने, ‘समूहहरूले एक हप्ता काम गरिसकेपछि क्रमिक रूपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिनेछ ।’ 

कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाको प्रकृतिअनुसार जिम्मेवारीसमेत तोकेको छ । सीप, ज्ञान र क्षमताका आधारमा समूह निर्माण हुने गरी समूह बनाइने विश्वकर्माले जानकारी दिए । यसका लागि प्रजातन्त्रवादी चिकित्सक संघलाई सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्ने, शिक्षक संघले पठनपाठन सुरु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउने, नेविसंघले चार अस्थायी र दुई स्थायी पक्की विद्यालय भवन बनाउनेछन् ।