
जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मंगलबार साँझ शिविरबाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नम्बर २ को हट नम्बर दुई सय ५२ मा तामाङको बसोवास थियो । उनी दिउँसो दाउरा खोज्न जंगल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जंगलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।
यसैगरी मेचीनगर नगरपालिका– ११ स्थित विशाल दाहालको एकतले पक्की घर जंगली हात्तीले भत्काएको छ । स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए ।