
फिफा विश्वकप–२०२६ अन्तर्गत एसियन छनोट नेपाल मंगलबार यमनसँग २–० ले पराजित भएको छ । घरेलु मैदान दशरथ रंगशालामा नेपालले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा यमनलाई नतिजा सुम्पिएको हो । पहिलो हाफमा दुवै टोलीबीच गोलरहित बराबरी भएको थियो । यमनले ७२औँ र ९०औँ मिनेटमा गोल गर्दै विश्वकप छनोटमा महत्वपूर्ण दुई अंक बटुल्न सफल भयो । यमनलाई जित दिलाउने क्रममा ओमर अब्दुल्लाह अल दाही र मोहम्मद अल्दुल्लाह अलले एक–एक गोल गरेका थिए । समूह ‘एच’मा रहेको नेपालले आफ्नो दुवै खेल गुमाएको छ । नेपाल अंकविहीन छ । यमनले दुई खेलबाट दुई अंक जोडेको छ ।
यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग ४–० ले पराजित भएको थियो । पहिलो जित निकालेको यमन तेस्रो स्थानमा छ । यस समूहमा नेपालसँगै युएई, यमन र बहराइन छन् । त्यसअघि छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गरेको थियो । खेलको ७३औँ मिनेटमा ओमर अब्दुल्लाह अलदाहीले डिबक्सनजिकै पहिलो बारमा उत्कृष्ट गोल गर्दे दशरथ रंगशालामा उपस्थित १३ हजार सात सय ३५ जना दर्शकलाई स्तब्ध बनाएका थिए । उनले पेनाल्टी बक्सको बाहिर दायाँ साइडमा नेपालका तीन डिफेन्डरलाई बिट गर्दै टप कर्नर उत्कृष्ट गोल गरेका थिए ।
उनको प्रहार छेक्न नेपालका गोलरक्षक तथा कप्तान किरण लिम्बूले मौका नै पाएनन् । खेलको ९०औँ मिनेटमा यमनले २–० को अग्रता लिँदै जित सुनिश्चित गर्यो । यसपटक मोहम्मद अब्दुल्लाह अलले गोलरक्षक लिम्बूमाथि चिप गर्दै जित सुनिश्चित गरेका हुन् ।
यमनको आक्रामक खेल
दशरथ रंगशालामा पहिलो मिनेटदेखि यमन आक्रमण देखियो । यमनले नेपालका डिफेन्डरलाई डिफेन्स लाइनमा व्यस्त बनाउने योजना बुनेका थिए । यद्यपि, नेपालले काउन्टर एट्याक्टमा यमनमाथि दबाब बनाउने कोसिस गरेको थियो । खेलको चौथो मिनेटमा दायाँ साइडबाट दुई डिफेन्डरलाई काट्दै दिनेशले निकालेको क्रसमा आशिषको हेडिङ यमनका गोलरक्षक अब्दुल्लाह अललवे नियन्त्रणमा लिन सकेनन् । रिबाउन्डमा जिलेस्पीले हेडिङ गोल गरे पनि रेफ्रीले अफसाइडको इसारा गरेका थिए । खेलको १५औँ मिनेटसम्म नेपाल र यमनले राम्रो फिनिसिङ गर्न सकेका थिएनन् । खेलको १६औँ मिनेटमा यमनका अहमेद महेरले मैदानको मध्य भागबाट एक्लै अगाडि बढाएको बललाई नेपालका गोलरक्षक लिम्बूले नियन्त्रणमा लिए ।
खेलको २६औँ मिनेटमा हम्जाह हनासले पेनाल्टी बक्सबाट गरेको प्रहार नेपाली गोलरक्षक लिम्बूले सहजै बचाएका थिए । खेलको ३३औँ मिनेटमा बायाँ साइडबाट अहमद माहेरले दुई नेपाली रक्षकलाई बिट गर्दै गरेको प्रहार गरेको बल आकासिएको थियो ।
मध्यान्तरपछि सुधारिएको प्रदर्शन
पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालको प्रदर्शनमा सुधार देखियो । मध्यान्तरमा नेपालले एउटा निकै राम्रो गोल अवसर प्राप्त गरेको थियो । तर, फिनिसिङ गर्ने खेलाडीले गतिलो प्रहार गर्न नसक्दा नेपालले खेलमै पहिलोपटक अग्रता लिने अवसर गुमायो । खेलको ६१औँ मिनेटमा हिसुब थपलियाले सुन्दर मौका खेर फाले ।
यमनका गोलरक्षम अब्दुल्लाहविरुद्ध वान अन वान मौका उनले खेर फालेका हुन् । उनको प्रहार सीधै गोलरक्षकको काँधमा लागेको थियो । त्यसलगत्तै पेनाल्टी बक्सबाहिरबाट पाएको फ्रिकिकमा पुनः नेपालले अग्रताको अवसर गुमायो । जिलेस्पीलाई बक्सबाहिर लडाएपछि प्राप्त फलमा नेपालका एरिक विष्टको प्रहारले पोस्टको दिशा लिन सकेन ।
प्रदर्शन सोचेजस्तो भएन
भिसेन्जो एनेस, प्रशिक्षक, नेपाल
यमनसँगको खेलमा मैले यो प्रदर्शन अपेक्षा गरेको थिइनँ । हाम्रो नजरमा ९० मिनेट खेलमा महत्वपूर्ण थियो । प्रतिस्पर्धाअघि नै धेरै खेलाडी इन्जुरी भए । हामीले हामो क्षमताअनुसार फुटबल खेलेनौँ । हिसुबले यमनका गोलरक्षकविरुद्ध वान भर्सेस वाजमा गोल गरेनन् । त्यो गोल भए खेलको नतिजा अर्कै हुन्थ्यो । यस खेलमा हाम्रो फिजिकल धेरै कमजोरी भयो । यमनले गरेको दुवै गोल निकै सुन्दर थियो । हामीले अर्काे गल्ती गर्यौँ उनीहरूले अर्काे गोल थपे ।
अपेक्षाअनुरूप नतिजा थियो
मिरोस्लाभ साउकुप, प्रशिक्षक, यमन
हामीले नेपाललाई कडा विपक्षीका रूपमा लिएका थियौँ । उनीहरूसँग खेल्दा प्रतिस्पर्धामक खेल हुने अपेक्षा गरेका थियौँ । वास्तवमा आजको खेलमा त्यस्तै भयो । खेलाडी परिवर्तनपछि गोल निस्कियो । यस जितबाट हामी खुसी छौँ । अघिल्लोपटक बहराइनसँग खेलेका खेलाडीले नेपालविरुद्ध थप उत्कृष्ट खेलेका छन् । हामीले गरेका दुई गोल निकै राम्रो थियो ।