१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० कार्तिक २६ आइतबार ०६:१७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी एकदिवसीय विश्वकप -२०२३ : भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड सेमिफाइनलमा

Read Time : > 1 मिनेट
२०८० कार्तिक २६ आइतबार ०६:१७:००

 भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपको सेमिफाइलन पुग्ने चारै टोलीको टुंगो लागेको छ । आयोजक भारतसँगै दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्डले अन्तिम चारमा स्थान बनाएका छन् । निर्णायक खेलमा पाकिस्तान इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि मैदानबाहिर रहेको न्युजिल्यान्ड सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो ।

हारले पाकिस्तानको सेमिफाइनल खेल्ने आशा समाप्त भएको छ । पाकिस्तानसँगै अफगानिस्तान, साबिक विजेता इंग्ल्यान्ड, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स बाहिरिएका छन् । अब पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्ड तथा दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्नेछन् । पहिलो सेमिफाइनल वानखडे रंगशालामा १५ नोभेम्बर र दोस्रो सेमिफाइनल इडेन गार्डेनमा १६ नोभेम्बरमा हुनेछ । 

भारत एक खेल खेल्न बाँकी रहँदा १६ अंकसहित शीर्ष स्थानमा छ । समान १४ अंक भए पनि दक्षिण अफ्रिका दोस्रो र अस्ट्रेलिया नेट रनरेटमा तेस्रो स्थानमा रहे । न्युजिल्यान्ड १० अंकसहित चौथो स्थानमा छ । पाकिस्तान पाँचौँ, अफगानिस्तान छैटौँ, इंग्ल्यान्ड सातौँ, बंगलादेश आठौँ, श्रीलंका नवौँ र नेदरल्यान्ड्स पुछारमा रह्यो । 

 पाकिस्तान इंग्ल्यान्डसँग पराजित 
निर्णायक मानिएको विश्वकपको ४४औँ खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९३ रनले हरायो । इंग्ल्यान्डको जितपछि मैदानबाहिर रहेको न्युजिल्यान्डले खुसीयाली मनाएको छ । तीन सय ३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४२.३ ओभरमा अलआउट हुँदा दुई सय ४४ रनमा समेटियो । पाकिस्तानका अघा सलमानले मात्रै अर्धशतक बनाए । उनले ४५ बलमा ५१ रन बनाएका हुन् । कप्तान बाबर आजमले ३८, हरिस राउफले ३५ र साहिन शाह अफ्रिदीले २५, मोहम्मद रिजवानले ३७ र साउद सकिलले ३९ रनको योगदान गरे । इंग्ल्यान्डका डेविड विलीले सर्वाधिक तीन विकेट लिएका छन् ।

 इंग्ल्यान्डको बलियो लक्ष्य
इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले तीन खेलाडीको अर्धशतक मद्दतमा ९ विकेट गुमाउँदै तीन सय ३७ रन बनायो । इंग्ल्यान्डको इनिङ्समा ओपनर जोनी बेइस्ट्रोसँगै जोइ रुट र बेन स्टोकले अर्धशतक बनाए । स्टोकले ७६ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक ८४ रन बनाए । रुटले ७२ बलमा चार चौकासहित ६० रन तथा जानीले ६१ बलमा सात चौका र एक छक्कासहित ५९ रन बनाए । पाकिस्तानका हरिस राउफले सार्वधिक तीन विकेट लिएका छन् । 

 अस्ट्रेलियाको सातौँ जित
अस्ट्रेलियाले पछिल्ला सात खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । अस्ट्रेलियाले बंगलादेशलाई ३२ बलअघि आठ विकेटले हरायो । तीन सय ७ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४४.४ बलमा दुई विकेट गुमाउँदै जित निकाल्यो । अस्ट्रेलियाको जितमा मचेल मार्सले शतकीय इनिङ्स खेले । ओपनर डेविड वार्नर र स्टेभन स्मिथले अर्धशतक बनाएका हुन् । एक सय ३२ बलको सामना गरेका मार्सले एक सय ७७ रनको अविजित इनिङ्स खेलेपछि अस्ट्रेलियाले सहज जित निकालेको थियो । बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ६ रन बनाएको थियो ।