Skip This
आइसिसी एकदिवसीय विश्वकप– २०२३ : बंगलादेशसँग स्तब्ध हुँदै बाहिरियो श्रीलंका
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ बैशाख २७ बिहीबार o७:o१:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी एकदिवसीय विश्वकप– २०२३ : बंगलादेशसँग स्तब्ध हुँदै बाहिरियो श्रीलंका

श्रीलंकाले प्रस्तुत गरेको दुई सय ८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो

Read Time : > 3 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:o१:oo

श्रीलंका एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । नयाँदिल्लीमा बंगलादेशसँग सोमबार तीन विकेटले पराजित हुँँदै श्रीलंका विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको हो । बंगलादेशलाई हराउँदा श्रीलंकाको सेमिफाइनलमा पुग्ने आशा जीवितै रहन्थ्यो । तर, हारसँगै श्रीलंकाको अंकगणितीय आधारमा समेत अन्तिम चारमा पुग्ने कुनै सम्भावना रहेन । श्रीलंकाले आठ खेलमा चार अंक मात्र बटुलेको छ । श्रीलंका तालिकाको आठौँ स्थानमा छ । जितसँगै बंगलादेश चार अंकका साथ सातौँ स्थानमा उक्लेको छ । बंगलादेशले रनरेटमा श्रीलंकालाई पछि पारेको हो । 

नयाँदिल्लीको मैदानमा श्रीलंकाले पहिलो ब्याटिङ गरी ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ७९ रन जोडेको थियो । प्रत्युत्तरमा बंगलादेशले ४१.१ ओभरमा सात विकेटको नोक्सानीमा दुई सय ८२ रन बनायो । बंगलादेशले ५३ बलअघि नै खेलमा बाजी मारेको हो । बंगलादेशको जितमा मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट योगदान दिएका थिए । सुरुवाती कमजोर गरेको बंगलादेशले मध्यक्रमका ब्याट्सम्यानबाट बलियो साझेदारी पाउँदा जितको आशा बनायो । नजमुल हुसेनले सर्वाधिक ९० रनको योगदान दिए । यसैगरी, कप्तान सकिव अल हसनले ८२ रन बटुले । 

एक सय ६९ रनको साझेदारी
बंगलादेशले ६.२ ओभरमा दुई विकेट गुमाउँदा ४१ रन जोडेको थियो । त्यसपछि हुसेन र सकिवबीच तेस्रो विकेटका लागि एक सय ६९ रनको साझेदारी भयो । यी दुईबीचको साझेदारीले नै बंगलादेशले सन् १९९६ को विश्वकप विजेतालाई स्तब्ध बनाएको हो । हुसैनले एक सय एक बलमा १२ चौका प्रहार गरेका थिए । सकिवले ६५ बल सामना गरी १२ चौका र दुई छक्का प्रहार गरे । सकिवलाई थिक्षणाले बोल्ड गरे । एक ओभरको अन्तरमा हुसैनको विकेट पतन हुँदा श्रीलंकाले खेलमा फर्कने प्रयास गरेको थियो । म्याथ्युजले हुसेनलाई बोल्ड गरे । त्यसपछि महमुदुल्लाहले २३ बलमा तीन चौका र एक छक्काको सहयोगमा २२ रन जोडे । मुसफिकर रहिमले १३ बलमा १० रन र हिद्रोयले १५ रनको योगदान दिए । श्रीलंकाका लागि दिल्सान मुदुसंकराले ६९ रनमा तीन विकेट लिए । 

चरिथको शतकीय इनिङ्स
पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि पाँचौँ क्रममा ब्याटिङ गरेका चरिथ असालांकाले शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय पाँच बलमा पाँच छक्का र ६ चौका प्रहार गरेका थिए । उनी आउट हुँदा श्रीलंका ४८.४ ओभरमा २७८÷८ को स्थितिमा थियो । उनले धनञ्जय डिसिल्भा र महिश थिक्षणासँग गतिलो साझेदारी गरे । धनञ्जयले ३४ रन बनाउन ३६ बलमा चार चौका र एक छक्का प्रहार गरे । महिशले ३१ बलमा तीन चौकाको सहयोगमा २१ रन बनाए । ओपनर पथुम निसांकाले ३६ बलमा आठ चौका प्रहार गरी ४१ रन बनाए । सदिरा समाराविक्रमाले ४२ बलमा ४१ रन बनाए । बंगलादेशका लागि सकिवले ५७ रन खर्चेर दुई विकेट लिए । सोरिफुल इस्लामले ५१ रनमा दुई विकेट हात पारे । 

श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्ड बर्खास्त
विश्वकपमा भारतसँगको लज्जास्पद हार भएको केही दिनपछि श्रीलंका खेलमन्त्री रोशन रणसिंघेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक संकटमा परेको श्रीलंकाको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद यथावत् रहेको छ । श्रीलंकाको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुंगालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ । 

‘पूर्वकप्तान अर्जुना क्रिकेटलाई पुनर्जीवन दिन सबैभन्दा उपयुक्त व्यक्तिका रूपमा लिएका छौँ, उनको पहिलो कार्य नै राष्ट्रलाई राम्रो प्रदर्शन गराउनु हो,’ मन्त्री रोशनले भने । यसैगरी, भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीनजना न्यायाधीशलाई समावेश गरिएको जानकारी उनले दिएका छन् ।

पूर्वकप्तान अर्जुनाले क्रिकेट पुनर्निर्माणको चुनौती स्विकारेका छन् । ‘श्रीलंका क्रिकेट देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु,’ चुनौती सामना गर्न तयार रहेको जनाउँदै उनले भने । बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डी सिल्भाले पदबाट राजीनामा दिएका छन् । गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलंका तीन सय दुई रनले पराजित भएको थियो । 

मुम्बईको वाँखडे रंगशालामा भारतले तीन सय ५८ रनको लक्ष्य दिएको थियो । श्रीलंका पूरै टोली ५५ रनमै अलआउट भयो । इनिङ्सको एक समय श्रीलंका २९÷९ को कमजोर अवस्थामा थियो । श्रीलंका अलआउट भएको योगफल एकदिवसीय विश्वकपकै चौथो सबैभन्दा कम स्कोर हो । भारतसँग पराजित भएपछि कोलम्बोमा सार्वजनिक रूपमै आलोचना भएको थियो । कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो । खेलमन्त्री रणसिंघेले श्रीलंका क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताएका छन् । उनले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाएका छन् । 

टाइम आउट हुने म्याथ्युज पहिलो खेलाडी
श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युज क्रिकेट इतिहासमा टाइम आउट हुने पहिलो खेलाडी बनेका छन् । भारतमा चलिरहेको एकदिवसीय विश्वकपअन्तर्गत सोमबार बंगलादेशविरुद्ध क्रिजमा समयमै ब्याटिङ गर्न नआएपछि उनी टाइम आउटका सिकार भएका हुन् । कप्तान सकिब अल हसनले सदिरा समाराविक्रमालाई ४१ रनमा क्याचआउट गराए । 

त्यसपछि म्याथ्युज ब्याटिङ गर्न मैदान आए । तर, उनले हेल्मेट परिवर्तन गर्न थप समय लगाएपछि बंगलादेशका कप्तान सकिब अल हसनले टाइम आउट अपिल गरेका थिए । हेल्मेट लगाउनमा समय बढी लगाएपछि उनी टाइम आउट भएका हुन् । यसरी उनी क्रिकेट इतिहासमा टाइम आउटको आधारमा आउट हुने पहिलो खेलाडी बने । नियमअनुसार कुनै पनि खेलाडी ब्याटिङ गर्न तीन मिनेटभित्रमा आइसक्नुपर्छ । विश्वकपको नियमअनुसार दुई मिनेटभित्र ब्याटिङ गर्न ब्याट्सम्यान आउनुपर्छ । म्याथ्युज दुई मिनेट नपुग्दै मैदान आएका थिए । 

पहिला आफूले लिएको हेल्मेटमा केही समस्या भएपछि उनले ड्रेसिङ रुमबाट पुनः हेल्मेट मगाएका थिए । पुनः हेल्मेट मगाउँदा दुई मिनेटभन्दा बढी समय लागेको थियो । नयाँ हेल्मेट मैदानमा ल्याउँदासम्म दुई मिनेटभन्दा बढी समय गइसकेको थियो । त्यसपछि बंगलादेशले विकेटका लागि अपिल गरेको थियो । म्याथ्युज कुनै पनि बलको सामना नगरी आउट भए । म्याथ्युजले बंगलादेशका कप्तान सकिबसँग कुरासमेत गरेका थिए । सकिबले उनको कुरा सुने पनि अपिल फिर्ता गरेनन् । ‘टाइम आउट’ आउट भएपछि म्याथ्युजले निराश हुँदै आफ्नो हेल्मेट पछाडि फ्याँकेका थिए । 

ad
ad