१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० कार्तिक २३ बिहीबार ०६:२४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ : पाँच खेलपछि साबिक विजेता इंग्ल्यान्ड विजयी

Read Time : > 2 मिनेट
२०८० कार्तिक २३ बिहीबार ०६:२४:००

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको साबिक विजेता इंग्ल्यान्डले लगातार पाँचौँ हारपछि जित निकालेको छ । भारतमा चलिरहेको विश्वकपको बुधबारको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई १६० रनले हरायो । जितसँगै इंग्ल्यान्ड सातौँ स्थानमा उक्लेको छ । इंग्ल्यान्डले आठ खेलमा दुई जितका साथ ४ अंक बटुलेको छ । हारसँगै नेदरल्यान्ड्स पुछारमा रह्यो । यसअघि इंग्ल्यान्ड अस्ट्रेलियासँग ३३ रन, भारतसँग सय रन, श्रीलंकासँग आठ विकेट, दक्षिण अफ्रिकासँग २२९ रन र अफगानिस्तानसँग ६९ रनले पराजित भएको थियो । 

पुनेमा पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा नौ विकेटको नोक्सानीमा तीन सय ३९ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेदरल्यान्ड्सले ३७.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र जोड्यो । इंग्ल्यान्डको जितमा मोइन अलीले ८.२ ओभरमा ४२ रन खर्चेर तीन विकेट लिए । आदिल रसिदले आठ ओभरमा ५४ रन खर्चेर तीन विकेट हात पारे । 
३४० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले इनिङ्सको कुनै पनि समयमा इंग्ल्यान्डलाई चुनौती दिन सकेन ।

नेदरल्यान्ड्सका पाँच ब्याट्सम्यानले गतिलो योगदान दिए पनि जितका लागि पर्याप्त भएन् । ओपनर वेस्ले वारेसीले ६२ बलमा ३७ रन जोडेका थिए । नेदरल्यान्डले पहिलो दुई विकेट १३ रनको अन्तरमा गुमाएको थियो । ओपनर म्याक्स ओडवाडले ५ रन जोडे । कोलिन शून्यमा आउट भए । सो इनिङ्समा कप्तान स्कट एडवार्डले ४२ बलमा ३८ रन र तेजाले ४१ रनको योगदान दिए । 

वेनको शतकीय इनिङ्स
यसअघि ब्याटिङ गरेको इंल्यान्डका लागि वेन स्टोक्सले १०८ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले ८४ बलको सामना गरी समान ६ चौका र छक्का प्रहार गरेका थिए । पुछारका क्रिस वाक्सले ४५ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ५१ रन बनाए । ओपनर डाविद मालनले ७४ बलमा ८७ रन जोडे । उनले १० चौका र दुई छक्का प्रहार गरे । जोए रुटले ३५ बलमा २८ रन बनाए । 

 न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानबीच सेमिफाइनल समीकरण 
विश्वकपको सेमिफाइनल दौडमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने देखिएको छ । इंग्ल्यान्डसँग १६० रनले पराजित भएसँगै नेदरल्यान्ड अन्तिम चारको दौडबाट बाहिरिएको छ । यसअघि सेमिफाइनलमा न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान र नेदरल्यान्डमध्ये एक टोली पुग्ने समीकरण बनेको थियो । विश्वकपमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया अन्तिम चारमा पुगेका छन् । ग्लेन म्याक्सवेलको करिअरकै उत्कृष्ट दोहोरो शतकीय इनिङ्सको मद्दतमा अस्ट्रेलियाले अफगानिस्तानलाई तीन विकेटले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको थियो । 

आयोजक भारत आठ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली भारत हो । भारतले चौथो स्थानमा रहने टोलीसँग १५ नोभेम्बरमा सेमिफाइनल खेल्नेछ । दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले आठ खेलमा १२ अंक जोडेको छ । दक्षिण अफ्रिकाले ६ खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले आठ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ । अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध १६ नोभेम्बरमा प्रतिस्पर्धा गर्नेछ । 

न्युजिल्यान्ड
विश्वकपमा उत्कृष्ट सुरुवात गरेको न्युजिल्यान्डले पछिल्ला चार खेलमा खराब नतिजा हात पारेको थियो । न्युजिल्यान्डले लगातार चार खेल जित्दै सेमिफाइनलको दौड बलियो बनाएको थियो । तर, त्यसपछिका खेलमा पराजित हुँदा न्युजिल्यान्डले अन्तिम खेलको प्रतीक्षा गर्नुपरेको छ । न्युजिल्यान्डले आठ खेलमा समान चार जित र हारको सामना गरी आठ अंक जोडेको छ । 

रनरेटको आधारमा न्युजिल्यान्ड चौथो स्थानमा छ । न्युजिल्यान्डले अन्तिम खेल बिहीबार श्रीलंकासँग खेल्नेछ । श्रीलंकालाई हाराउँदा न्युजिल्यान्डको १० अंक हुनेछ । न्युजिल्यान्डको जितले सेमिफाइनल काफी छैन । न्युजिल्यान्डले पाकिस्तान र इंग्ल्यान्डबीचको खेलको नतिजा प्रतीक्षा गर्नुपर्छ । 

पाकिस्तान
पाकिस्तानले विश्वकपमा सुरुका दुई खेल जित्यो । त्यसपछि पाकिस्तान लगातार चार खेलमा पराजित भयो । एक समय पाकिस्तान सेमिफाइनल दौडबाट बाहिरिने अवस्थामा थियो । पाकिस्तानले आठ खेलमा आठ अंक जोडेको छ । पाकिस्तान अहिले पाँचाैँ स्थानमा छ । पाकिस्तानले अन्तिम खेल शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । रनरेट सुधार गर्न पाकिस्तानले इंग्ल्यान्डलाई फराकिलो अन्तरले हराउनुपर्नेछ । अफगानिस्तान र न्युजिल्यान्डले आ–आफ्नो अन्तिम खेल गुमाउँदा पाकिस्तानलाई फाइदा हुनेछ, हारले सेमिफाइनल दौडबाट बाहिरिनेछ । 

अफगानिस्तान
चालू विश्वकपमा अफगानिस्तानले सनसनी नतिजा निकालेको छ । मंगलबार वाँखडे रंगशालामा अफगानिस्तानले विश्वकपको सर्वाधिक विजेता अस्ट्रेलियालाई हराउनै लागेको थियो । तर, ग्लेन म्याक्सवेलको एकल इनिङ्समा अफगानिस्तान निराश भयो । अफगानिस्तानले पूर्वविश्वविजेता पाकिस्तान, इंग्ल्यान्ड र श्रीलंकालाई हराएको थियो । अफगानिस्तानले आठ खेलमा आठ अंक जोडेको छ । अहिले अफगानिस्तान छैटौँ स्थानमा छ । अफगानिस्तान सेमिफाइनल खेल्न अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले हराउनुपर्छ । सामान्य जितले अफगानिस्तान सेमिफाइनलमा पुग्न सक्दैन ।