१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:१८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जन्ममिति विवादपछि उपरथी पाण्डेले दिए राजीनामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१८:oo

अर्का उपरथी सिग्देलको पनि जन्ममिति विवाद, भावी प्रधानसेनापतिको रोलक्रम अन्योलमा

भावी प्रधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका वरिष्ठ उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादमा मुछिएपछि बिहीबार राजीनामा दिएका छन् । जंगी अड्डाले उनको राजीनामा रक्षा मन्त्रालयमा पठाएको छ । 

मन्त्रिपरिषद्ले पाण्डेको राजीनामा स्वीकृत गरेपछि वरीयताका आधारमा अर्का उपरथीलाई जंगी अड्डाले रथीमा बढुवा सिफारिस गर्ने भएको छ । रक्षाको प्रस्तावअनुसार आगामी मन्त्रिपरिषद् बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेपछि रथी बढुवाको प्रक्रिया फेरि सुरु हुनेछ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाण्डेको कागजात छानबिन गरेर मात्रै निर्णय गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई निर्देशन दिएअनुसार सेनाले आन्तरिक छानबिन थालेको थियो । यही वेला पाण्डेले बिहीबार राजीनामा दिएका हुन् । पाण्डे सेनाको सबैभन्दा महत्वपूर्ण मानिने युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयको प्रमुख थिए । यो निकायले सेनाको सम्पूर्ण अप्रेसन हेर्ने गरेको छ । 

सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी पाण्डेको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको बताए । ‘उहाँले दिनुभएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको छ,’ उनले भने । पाण्डेको रथीमा बढुवा भएको भए उनी आगामी २४ भदौपछि प्रधानसेनापति हुने पक्का थियो ।

सेनाको २५ बेसिक समूहका उपरथी पाण्डेले जंगी अड्डामा पेस गरेको नागरिकताको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक देखिएको थियो । उनको एसएलसीको प्रमाणपत्रमा १२ माघ ०२१ जन्ममिति उल्लेख छ । तर, उनले बुझाएको नागरिकताको प्रमाणपत्रमा भने जन्ममिति २३ मंसिर ०२३ उल्लेख छ ।

पाण्डेपछि वरीयतामा अगाडि रहेका उपरथी अशोक सिग्देलले पनि जंगी अड्डामा फरक जन्ममितिको कागजपत्र पेस गरेका कारण रथी बढुवामा ढिलाइ हुने उच्च सैनिक स्रोतले जनाएको छ । उनको शैक्षिक प्रमाणपत्रमा जन्ममिति १९ माघ ०२१ छ भने उनले जंगी अड्डामा बुझाएको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९ माघ ०२३ छ । ‘पाण्डे र सिग्देल जर्साबको जन्ममिति विवाद एउटै हो । पाण्डे जर्साबले जे कारण राजीनामा दिनुपर्‍यो । सिग्देल जर्साबले पनि दुई वर्ष उमेर घटाएको हुनाले पाण्डे जर्साबकै नजिरअनुसार उहाँ रथी बन्ने सम्भावना न्यून छ,’ सेनाका बहालवाला एक उपरथीले भने । 

सिग्देलको पनि कागजात छानबिन हुनेछ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक सचिव विभागलाई सिग्देल, निर्मलकुमार थापासहित जन्ममिति फरक रहेका जर्नेलहरूको कागजात पुनः छानबिन गर्न निर्देशन दिनुभएको छ,’ जानकार सैनिक स्रोतले भन्यो, ‘अवकाशको दश महिना बाँकी छँदा कुनै पनि विवादित व्यक्तिलाई बढुवा नगर्ने बरु, २५ बेसिकका उपरथीहरू योग्य नभए २६ बेसिकका उपरथीबाट रथीमा सिफारिस गर्नेमा उहाँ हुनुहुन्छ ।’ 

हाल सिरियाको गोलानहाइट्समा संयुक्त राष्ट्रसंघीय मिसनका फोर्स कमान्डर रहेका उपरथी निर्मलकुमार थापाको पनि कागजातमा समस्या रहेको सैनिक अधिकारीहरू बताउँछन् । पाण्डे र सिग्देलको जति दुई वर्ष फरक नपरे पनि उनको पनि जन्ममिति फरक रहेको कागजात जंगी अड्डामा छ । 

निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा उच्च अधिकारीहरू सबैको सक्कल नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन भएको थियो । त्यसवेला सहायकरथी रहेका उपरथी सिग्देलको कागजात छानबिनका लागि उजुरी परेको जानकार एक सैनिक अधिकारी बताउँछन् । उनको समस्या देखिएपछि जंगी अड्डाले पाण्डेको पनि छानबिन गरेको थियो । सेनाको २५औँ बेसिक समूहका पाण्डे र सिग्देलले पेस गरेको दुई जन्ममितिमध्ये नागरिकताको जन्ममितिलाई तत्कालीन प्रधानसेनापति थापाले मान्यता दिएका थिए । त्यसपछि पाण्डे र सिग्देलको उपरथीमा बढुवा भएको थियो । तर, अन्य जर्नेलहरूको हकमा भने दुईवटा जन्ममितिमध्ये पुरानो जन्ममितिलाई मान्यता दिएर अवकाशमा पठाएको नजिर पाण्डे र सिग्देललाई पनि लागू नभएका कारण अहिले समस्या आएको सैनिक अधिकारीहरूको भनाइ छ । 

रक्षा स्रोतका अनुसार उपप्रधानमन्त्री खड्काको निर्देशनअनुसार जंगी अड्डाले अब सिग्देल तथा रथी पदका सम्भावित दाबेदार अन्यको कागजात छानबिन गर्नेछ । ‘जंगी अड्डाले छानबिन गरेर विवादरहित व्यक्तिलाई बढुवामा सिफारिस गर्नु भन्ने उपप्रधानमन्त्री खड्काको निर्देशन छ । यदि जंगी अड्डाले छानबिन गर्दैन भने रक्षा मन्त्रालयले आफैँ जर्नेलहरूको छानबिन गर्ने भन्नेमा उपप्रधानमन्त्री स्पष्ट हुनुहुन्छ,’ रक्षा स्रोतले भन्यो । 

एक उच्च सैनिक अधिकारीले भने, ‘कात्तिकभित्र यो विषयको टुंगो लगाउने गरी छानबिन हुन्छ । प्रधानसेनापति शर्मा संस्थालाई विवादमा ल्याउन चाहनुहुन्न । उहाँभन्दा पूर्ववर्तीले गरेको गल्तीलाई निरन्तरता दिन्न भन्ने उहाँको प्रतिबद्धता छ ।’