
नजिकिँदै गरेको तिहारका लागि तयार पारिएका भाइमसलाका प्याकेटहरूमा म्याद गुज्रिएका अखाद्य वस्तु राखिएको भेटिएको छ।
धादिङका बजारहरूमा होलसेल तथा खुद्रा पसलेहरूले बिक्रीका लागि राखेको विभिन्न प्याकेटहरूमा म्याद गुज्रिएका र अखाद्य सामग्री फेला परेको हो। दीपावलीका लागि तयार गरिएको भाइमसलामा राखिएका सामग्रीहरूको म्याद गुज्रिएको र अखाद्य वस्तु भेटिएको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए।
‘मसलाका प्याकेटहरू हेर्दा चिटिक्क छन्। तर, त्यही प्याकेटभित्र राखिएका भाइमसलाका चकलेट, चोकोपाई, बिस्कुट, किसमिस, काजु, सुपारीलगायतका सामग्रीहरूको म्याद गुज्रिसकेका छन्। मिठाईमा त किरासमेत भेटिएको छ,’ उनले भने।
पराजुलीका अनुसार अनुगमन गरी व्यापारीहरूलाई अखाद्य वस्तु बिक्री नगर्न निर्देशन दिइएको छ। ‘रङ प्रयोग गरिएका मिठाई तथा म्याद गुज्रेका खानेकुरा बिक्री गरे कानुनअनुसार कारबाही गर्छाैँ,’ उनले भने, ‘हामी निरन्तर रूपमा अनुगमन गरिरहेका छौँ। दसैँअगाडि पनि धेरैलाई कारबाही गर्याैँ। सुरुमा सचेत गराउने र निर्देशन दिने हो। अटेर गरे नियमअनुसार कारबाही गर्छाैँ।’
अनुगमन समितिले धादिङबेँसीमै रहेको गढीमाई मिठाई भण्डार एन्ड खाजाघरलाई पाँच हजार जरिवाना गरेको छ । मिठाईमा किरा भेटिएको, रङ प्रयोग गरिएको र पहिले दिएको निर्देशन पालना नगरेका कारण जरिवाना गरिएको सहायक प्रजिअ पराजुलीले बताए।
सिजनल व्यापारको मौका छोपेर व्यापारीहरूले गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री–वितरण गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका उद्योग अधिकृत मेघनाथ गौतमले बताए।
‘तिहारका लागि तयार गरिएका भाइमसलामा राखिएका वस्तु अखाद्य मात्र होइन बढी मूल्यमा बिक्री–वितरण गरेकोसमेत भेटिएको छ। बिल लिनेदिने नगर्ने, भाइमसलाहरू आफैँ तयार गरी महँगोमा बिक्री गर्ने, म्याद गुज्रिएका सामग्रीसमेत हालेर बिक्री गरिएको पाइयो,’ उनले भने, ‘सदरमुकाम धादिङबेँसीका पसलहरूको हालत त यस्तो छ । प्याकिङ गरेर ग्रामीण क्षेत्रका पसलहरूमा पुग्ने सामग्री झनै मिति गुज्रेका हुने गरेका छन्।’
उपभोक्ता आफैँ पनि सचेत हुन आवश्यक रहेको भन्दै गौतमले खानेकुरा किन्दा म्याद गुज्रेको छ–छैन भन्ने यकिन गर्न आग्रह गरे।