
सरकारले तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा राखेर निर्माण अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय भएको हो । नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेटमा स्थान बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गर्ने घोषणा गरेका थिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार तीनदेखि चार वर्षमा तीनवटै क्रिकेट रंगशाला तयार हुने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले जानकारी दिएका छन् । मूलपानी र बैजनाथपुर रंगशाला राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहनेछ । मूलपानीको माथिल्लो मैदानले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको छ । यस मैदानमा एसिसी प्रिमियर कप तथा आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट खेल भएको थियो । यसै मैदानमा नेपालले युएईलाई पराजित गरी दश वर्षपछि विश्वकपमा स्थान पक्का गरेको थियो ।
माथिल्लो मैदानमा अहिले ड्रेसिङ रुम, भिआइपी र भिभिआइपी ब्लक र दुईवटा सामान्य प्याारापिट बनिसकेको छ । क्यानको केन्द्रीय कार्यालयसँगै जोडिएको माथिल्लो मैदानमा १५ करोड रुपैयाँ पछिल्लोपटक पारित भएको थियो । यसैगरी, चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र छ । गत २१ कात्तिकमा बागमती प्रदेश र चितवन महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सहमति भएको थियो ।
जसमा बागमतीले ७० र चितवन महानगरपाकिाले ३० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । धुर्मुस फाउन्डेसनले गौतम बुद्ध रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ खर्च भएको जनाएको छ । जसमध्ये १८ करोड ४३ लाख ऋण छ । फाउन्डेसनले रंगशाला निर्माण अघि बढाउन नसकेपछि भरतपुर महानगरपालिकालाई गुहार मागेको थियो ।
विराटनगर महानगरपालिका वडा नम्बर १९ स्थित बैजनाथपुरमा १५ बिघा पाँच कट्ठा क्षेत्रफलमा रहेको रंगशालामा डिपिआरको काम भइरहेको छ । डिपिआरका लागि चालू आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँ विनियोजन गरिएको थियोे । ०५४ मा सरकारले बहुउद्देश्यीय रंगशाला बनाउने घोषणा गरी बैजनाथपुरको जग्गा ०५५ मा अधिग्रहण गरेको थियो । अधिग्रहणपछि जग्गा गौचरन बनेको छ । यसै मैदानमा सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट आयोजना भएको थियो । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि यहाँ खासै काम भएको छैन ।