
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा खेल पूर्वाधारमा कमजाेर हुँदा पनि खेलाडीको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका छन्।
अझै धेरै संरचनाको आवश्यकता रहेका वेला निर्माणाधीन खेलमैदान अलपत्र पर्नु दुःखद रहेको बताउँदै ज्ञवालीले स्थानीय स्तरबाटै प्रतिभा पहिचान, प्रशिक्षित गर्ने र अवसर प्रदान गर्नुपर्नेमा जोड दिए।
मदन भण्डारी स्पोर्टस् एकेडेमी गुल्मीको आयोजनामा प्रथम मदन भण्डारी ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै ज्ञवालीले मदन भण्डारीको योगदान र एकेडेमीको औचित्यबारे आफ्नो भनाइ राखेका थिए।
प्रतियोगितामा ५२ समूह सहभागी छन् । भेट्रान, सुपर भेट्रान, खुला, महिला–पुरुष १६ वर्षभन्दा कम उमेर समूहको विद्यामा प्रतिस्पर्धा हुने एकेडेमीका उपाध्यक्ष माधव विष्टले जानकारी दिए।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेहरूले खुला, भेट्रान, सुपर भेट्रान र १६ वर्ष उमेर तलका लागि क्रमशः ३० हजार, २५ हजार, २५ हजार, १५ हजार र १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, द्वितीय स्थान प्राप्त गर्ने खुला, भेट्रान, सुपर भेट्रान र १६ वर्ष उमेर तलका लागि क्रमशः २० हजार, २० हजार, २० हजार, १० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन्।
तृतीय स्थान प्राप्त गर्नेले खुला, भेट्रान, सुपर भेट्रान र १६ वर्ष उमेर तलका लागि क्रमशः १० हजार, १५ हजार, १० हजार, पाँच हजार र पाँच हजार पुरस्कार प्राप्त गर्ने मदन भण्डारी स्पोर्टस् एकेडेमी गुल्मीका उपाध्यक्ष विष्टले बताए। कार्यक्रममा एकेडेमीका संरक्षक बालसिंह काउछाले जिल्लाको खेलकुदको अवस्था र एकेडेमीबारे बताएका थिए।