
राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट भएका घाइतेहरूको शीघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्।
बुधबार राष्ट्रपतिभवन शीतलनिवासमा मन्त्री बस्नेतसँग उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्प प्रभावितहरूको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि सो आग्रह गरेकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेका थिए।
सो अवसरमा उनले अस्पतालहरूको स्तरवृद्धि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राखेकाे सचिवालयले जनाएको छ।