१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
लौरा ल्यान्डर
Invalid date format ११:११:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के ठूला विद्युतीय कार वातावरणमैत्री छन् ?

ब्याट्री सामग्री र विद्युत्को अथक मागले एसयुभी कार एक व्यावहारिक हरित विकल्प हो भन्नेमा प्रश्न उठ्छ

Read Time : > 2 मिनेट
लौरा ल्यान्डर
नयाँ पत्रिका
Invalid date format ११:११:oo

विद्युतीय कार दिनानुदिन ठूलो र वजनदार हुँदै गइरहेका छन् । सन् २०१९ सम्ममा कुल विद्युतीय वाहन (इभी)को ३० प्रतिशत हिस्सा ठूला कार स्पोर्ट युटिलिटी भेहिकल (एसयुभी)ले ओगटेको थियो । सन् २०२२ मा यो आँकडा ४० प्रतिशत पुगेको थियो जुन साना र मझौला कारको हिस्सानजिक हो । बाँकीका १५ प्रतिशत अन्य ठूला मोडेलका कारले ओगटेको छ । यो आँकडा समस्याको द्योतक हो । ठूला र वजनदार इभीमा ठूला ब्याट्रीको आवश्यकता पर्छ । वास्तवमा एक एसयुभीको ब्याट्रीको आकार सानो कारको तुलनामा दुई गुणाले ठूलो हुन्छ । 

अन्य ब्याट्रीमाझैँ बहुसंख्यक इभीका लिथियम–आयोन सेलमा कोबाल्ट, लिथियम र निकेलजस्ता कच्चा पदार्थ आवश्यक हुन्छ । साना इभीमा आवश्यक पर्ने एक स्तरीय ६० किलोवाट आवरको लिथियम–आयोन ब्याट्री प्याकमा एक सय ७० किलोबराबरको खनिज पदार्थ हुने गर्छ, जसमा ३९ किलो निकेल र पाँच किलो लिथियम हुने गर्छ ।

विद्युतीय एसयुभीका लागि वातावरणबाट थप ७५ प्रतिशत बढी कच्चा पदार्थ उत्खनन गर्नुपर्ने हुन्छ । र, हालैको एक अनुसन्धानले भविष्यमा ब्याट्रीका लागि आवश्यक कच्चा पदार्थको अभाव हुन सक्ने देखाएको छ । सन् २०३० सम्ममा इभीका लागि आवश्यक ब्याट्रीको खपतका लागि चाहिने लिथियममा ५५ प्रतिशत र निकेल एवं मेंगेनिजमा ८ प्रतिशतको गिरावट हुनेछ । यदि इभी एसयुभीको माग आगामी दशकसम्म बढिरहने हो भने अहिले नै न्यून मात्रामा रहेको कच्चा पदार्थमा थप हाहाकार मच्चिनेछ । 

वातावरण र इभी :  ब्याट्री उत्पादन कार्बनको अत्यधिक संलग्नता हुने प्रक्रिया पनि हो । र, ब्याट्रीको बढ्दो उत्पादनसँगै कार्बन उत्सर्जन पनि बढ्छ । उदाहरणका लागि साना कारका ब्याट्रीका तुलनामा एसयुभी कारको उत्पादनमा ७० प्रतिशतभन्दा बढी कार्बन उत्सर्जन हुन सक्छ । यी कच्चा पदार्थको उत्खननजन्य कार्यले वातवरणमा कैयौँ नकारात्मक प्रभाव पार्ने गरेको देखिन्छ ।

उदाहरणका लागि एक अध्ययनले चिलीको सबैभन्दा ठूलो नुन समथल सलार दी अटकामामा लिथियमको उत्खननले राजहंस चराको प्रजननक्षेत्रमा अवरोध निम्त्याएको छ । त्यसैगरी, चराको चारो र पानीमा पनि पहुँच घटाएको छ । एसयुभीको बढ्दो बजारका लागि बढिरहेको उत्खननले प्राकृतिक वासस्थानको विनाश गरिरहेको छ, पानीको उपभोग बढाइरहेको छ र बढ्दो उत्खननबाट हुने प्रदूषणले स्थानीय जैविक विविधतालाई जोखिममा पारिरहेको छ । 

यसमाथि युरोपेली संघले हालै नयाँ इभी ब्याट्रीमा पुनर्चक्रीय सामग्री निश्चित मात्रामा समावेश हुनैपर्ने निर्णय गरेको छ । सन् २०२१ देखि इभी ब्याट्रीमा कम्तीमा ६ प्रतिशत निकेल एवं लिथियम र १४ प्रतिशत कोबाल्ट पुनर्चक्रीय स्रोतबाट आउनुपर्ने व्यवस्था गरिएको छ । ब्याट्रीको मागमा हुने उल्लेख्य वृद्धि र पुनः प्रयोग गरिएका सामग्रीको बढ्दो आवश्यकताका कारण हामीले आपूर्ति शृंखलामा फेरि दबाब सामना गर्न सक्छौँ । यसले विशेषतः ठूला ब्याट्रीलाई असर गर्नेछ ।

हामीलाई स्वच्छ विद्युत्को आवश्यकता छ :  ठूला ब्याट्रीलाई वातावरणमैत्री तरिकाले चार्ज गर्न न्यून कार्बन विद्युत् आपूर्ति बढाउनुपर्ने हुन्छ । विद्युत् आपूर्तिमा कार्बन प्रयोगको मात्रा ऊर्जा स्रोतको उपलब्धता र बजार गतिशीलताजस्ता कारणले घटबढ हुन सक्छ, किनभने विद्युत् उत्पादनका लागि विभिन्न ऊर्जा स्रोत प्रयोग हुने गर्छन् । विद्युतीय ग्रिड स्वच्छ भए पनि ठूला ब्याट्री चार्ज गर्नुपर्ने बढ्दो मागले पावर ग्रिडमा समस्या निम्तिन सक्छ ।

विद्युत् प्रसारण र वितरण प्रणाली त्यो समयमा तयार गरिएको थियो जब पावर प्लान्ट ठूला र केन्द्रीकृत थिए । त्यतिवेला विद्युत्को माग अपेक्षाकृत कम थियो । तर, अहिले ऊर्जा परिदृश्यमा ठूलो परिवर्तन आएको छ । हामी अब वायु टर्बाइन, सौर्य प्यानलजस्ता विकेन्द्रीकृत ऊर्जा स्रोततर्फ अघि बढिरहेका छौँ । यी ऊर्जा स्रोत प्रायः साना हुन्छन् र ती क्षेत्रमा अवस्थित हुन्छन् जहाँ विद्युत् उत्पादन पहिले हुने गरेको थिएन । नतिजा यी स्थानमा ग्रिड पूर्वाधारको न्यून विकास भएको देखिन्छ । 

विद्युतीय सवारीसाधन खरिद गर्ने र हिट पम्प जडान गर्नेको संख्या बढ्दै गएकाले पनि विद्युत्को आवश्यकता बढ्दै गएको छ । उसो त सामान्य ग्रिड क्षमता यी परिवर्तनलाई अनुकूलन गर्न पर्याप्त हुन सक्छ, तर वर्षका निश्चित समय वा दिनमा ग्रिडको क्षमता पर्याप्त नहुन पनि सक्छ । उदाहरणका लागि एक स्थानमा नवीकरणीय ऊर्जा उत्पादन अतिरिक्त हुन सक्छ भने अन्य स्थानमा माग बढी हुन सक्छ, तर विद्युतीय स्थानान्तरणका आवश्यक पूर्वाधार अपूरो हुन सक्छन् ।

यस्तै अवस्था बारम्बार बेलायतमा देखिने गर्छ । सन् २०२२ मा प्रसारण प्रणालीमा हुने अवरोधका कारण स्कटिस वायु ऊर्जा केन्द्रलाई विभिन्न समयमा उत्पादन रोक्न लगाएर क्षतिपूर्ति दिइएको थियो । त्यसैवेला इंग्ल्यान्डका ग्यास ऊर्जा केन्द्रलाई स्कट्ल्यान्डमा भएको ऊर्जा उत्पादनको रोकको क्षतिपूर्तिका लागि उत्पादन बढाउनका लागि रकम दिइएको थियो । युटिलिटी कम्पनीले विश्वभर विद्युतीय ग्रिडलाई सुदृढ पार्न काम गरिरहेका छन् । अतिरिक्त ऊर्जा स्थानान्तरण गर्न थप लाइन निर्माण गर्नु यी कामको एक उदाहरण हो ।

गाडीचालक दिनानुदिन ठूला एसयुभी कार रोजिरहेका छन् । तर, यी वाहनको वातावरणीय प्रभाव उपेक्षा गर्नुहुँदैन । ब्याट्री सामग्री र विद्युत्को अथक मागले एसयुभी कार एक व्यावहारिक हरित विकल्प हो भन्नेमा प्रश्न उठ्छ ।
(ल्यान्डर किङ्स कलेज लन्डनकी इन्जिनियरिङकी लेक्चरर हुन्) द कन्भर्सेसनबाट