
भूकम्पको इपिसेन्टर रहेको पालिका बारेकोट गाउँपालिकामा चार दिन बित्दा पनि प्रशासनले चामल पठाएको छैन । एकद्वार प्रणाली भन्दै राहत सामग्री सदरमुकाम खलंगामा थुपारिएकामा जिल्ला प्रशासनले बारेकोटमा मंगलबार तीन सय थान ब्ल्यांकेट, तीन सय थान त्रिपाल र तीन सय ५० थान म्याट मात्र पठाइएको छ । अन्य पालिकामा चामल पठाइँदा इपिसेन्टरमा भने अझै खाद्यान्न पठाइएको छैन ।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जिल्ला विपत् व्यवस्थापन समितिले अहिलेसम्म चामल नपठाएको बताए । ‘अलिअलि पालिकाले बाँडेको छ, तर प्रशासनले राहतमा राजनीति गर्यो,’ उनले भने, ‘भूकम्पको चार दिन बित्दा पनि खाद्यान्न पठाइएको छैन ।’ राहत माग गर्न पालिकाको टोली सदरमुकाम खलंगा पठाइएको उनले बताए । तर, जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले मागअनुसारको राहत सामग्री पठाइएको र आवश्यक भए बुधबार नै खाद्यान्न पठाइने बताए ।
दुई हजार ८५४ बोरा चामल जाजरकोट पुग्यो
जाजरकोटका भूकम्पपीडितका लागि दुई हजार आठ सय ५४ बोरा चामल राहतस्वरूप प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार राहतस्वरूप नौ हजार नौ सय ५० थान त्रिपाल, ११ हजार थान ब्ल्यांकेट, कम्बल र सिरक प्राप्त भएको भएको छ । भुइँमा ओछ्याउने पिफर्म एक हजार ८३ रोल आएको छ । त्यस्तै, नुन तीन हजार नौ सय केजी, दाल चार हजार ६ सय २९ केजी प्राप्त भएको प्रशासनले जनाएको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले संघ, प्रदेश र विभिन्न निकायबाट प्राप्त राहत सामग्री वितरणको काम धमाधम भइरहेको बताए । उनका अनुसार दुर्गम बस्तीमा राहत सामग्री हेलिकोप्टरमार्फत पुर्याउने काम भइरहेको छ ।
भाडामा बसेका पीडित र घाइतेले पाएनन् राहत
जाजरकोट सदरमुकाममा भाडामा बस्दै आएका भूकम्पपीडितले राहत पाउन सकेका छैनन् । थाप्ले बजारमा कुखुरापालन गर्दै आएका निर्मल शाह भूकम्पमा परेर घाइते भए । उनकी श्रीमती पनि घाइते छिन् । भेरी नगरपालिका–३ मा भाडामा बसेर व्यवसाय गरेका उनको खाना, लत्ताकपडा सबै पुरिएको छ । कुखुरा सबै मरे । तर, राहतका लागि वडा कार्यालय जाँदा बाहिरको मानिस (यहाँ स्थायी बसोवास नभएको)लाई राहत दिने गरिएको छैन भन्दै फर्काइयो । ‘अहिले छिमेकीसँग मिलेर उहाँको त्रिपालभित्र बसिरहेका छौँ,’ हामीलाई चामल, त्रिपाल केही दिइएको छैन,’ उनले भने । भूकम्पका वेला भाग्ने क्रममा उनको दाहिने हात भाँचिएको छ । उनको उपचार चौरजहारीमा भएको हो । अहिले उनको परिवार थाप्ले बजारमै आपत्कालीन रूपमा स्थापना गरिएको सामूहिक भोजनालयमा खाना खाने गर्छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले भाडामा बस्ने पीडितका लागि पालिकालाई राहत प्रदान गर्न जिम्मेवारी दिइएको बताए ।