१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
वीणा झा
Invalid date format o७:o२:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीतिक निरीहताका दुष्प्रभाव

राजनीतिक निरीहताले लोकतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय, विधिको शासनजस्ता सुन्दर पक्षलाई वधशालामा पालो कुरेर बसेका जीवनझैँ बनाइदिएको छ

Read Time : > 5 मिनेट
वीणा झा
नयाँ पत्रिका
Invalid date format o७:o२:oo

समाज जब बेथितिले गाँजिन्छ, सामाजिक न्याय र विधिको शासनको चरम अभाव हुन्छ अनि अराजकताले समाजलाई अत्यधिक आक्रान्त पार्छ, त्यस्तो सकसपूर्ण अवस्थाको निकासका लागि राजनीतिक नेतृत्वलाई मुख्य आशाको केन्द्रका रूपमा समाजले हेरेको हुन्छ । त्यहीकारण हो प्रायः अभाव, असुरक्षित र अस्तव्यस्त दैनिकी रहेको समाजमा अत्यधिक राजनीतिक दल जन्मिन्छन् र तिनको पछाडि आशा बोकी भिड जम्मा हुने गर्छ ।

सिद्धान्ततः राजनीति भनेको बहुसंख्यक सर्वसाधारण नागरिकलाई केन्द्रित गरी गरिने सेवा हो । जसको मुख्य लक्ष्य समाजका पिँधमा रहेका बहुसंख्यकको जीवन सहज, सुरक्षित र सम्पन्न बनाउँदै देशलाई आत्मनिर्भरतातर्फ उकास्दै समृद्ध बनाउनु हो । यो एउटा सर्वस्वीकार्य स्थापित परिभाषा हो राजनीतिको । त्यसैले, राजनीतिलाई सबै नीतिभन्दा माथि राखिन्छ र समाजलाई सशक्तीकरण गर्न सक्ने अत्यधिक प्रभावशाली औजारका रूपमा लिइन्छ । तर, पछिल्लो समय नेपालमा घटित केही घटना, परिदृश्य अनि तिनलाई समाधान गर्न चालिएका प्रक्रियालाई गहिरिएर नियाल्दा नेपाली समाजका अधिकांश मनमस्तिष्कले राजनीतिको त्यो परिभाषा अनुभूत गरेको भेटिन्न ।

दलहरूले आफ्नै दलभित्र, अन्य दलसँग वा सर्वसाधारणसँग गरेका कार्यले समाजलाई उपलब्ध भएका अत्यधिक उदाहरण उल्लेखित परिभाषाविपरीत छन् । जात, धर्म, क्षेत्र र लिंगलाई राख्दै तिनका पीडामा खेल्दै भिडको ध्यानाकृष्ट गर्ने प्रवृत्ति राजनीतिमा बढेको छ जसले गर्दा बिस्तारै समाज आसक्तीकरणतर्फ बढ्दै छ । नेपाली समाजको बलियो संस्कृतिक ‘फेब्रिक्स’ बिस्तारै जीर्ण बन्दै छ । राजनीतिक दलहरूदेखि राज्यका विभिन्न अंगप्रतिको समाजको आस्था र विश्वास घट्दै छ । त्यसैले अचेल हरेक बेथिति र समस्या समाधानका लागि भिड जम्मा गर्ने प्रयास गरिएको देखिन्छ । किनकि, त्यति गर्दा मात्रै सम्बन्धित निकायको ध्यानाकृष्ट हुने यथेस्ट उदाहरणले गर्दा सामाजिक प्रवृत्ति त्यसतर्फ उन्मुख हुँदै छ ।

दिनहुँ भेटिने सामाजिक सञ्जाललगायत विभिन्न सञ्चारमाध्यममार्फत देखिएका विविध घटना र त्यसमा जोडिने तिनका सन्दर्भ कुनै न कुनै रूपमा गिजोलिएको राजनीतिक संस्कारको परिणामका रूपमा रहेको अनुभूति समाजको छ । परिस्थिति यहाँसम्म पुग्यो कि अधिकांश राजनीतिक दलका फेददेखि टुप्पोसम्मको संरचना सिर्फ लोकरिझ्याइँका लागि व्याकुल भेटिन्छन् । सम्मानित सार्वजनिक पदमा बसेकाहरूले समेत आफूलाई दलीयकरणभन्दा माथि राख्न नसक्दा तिनका सामाजिक स्वीकृति घट्दो क्रममा छ । 

यहाँसम्म कि विभिन्न सामुदायिक विद्यालयका बालबालिकालाई भावनात्मक रूपले शोषण गर्दै विद्यालयका विविध गतिविधिलाई आ–आफ्ना स्वार्थपूर्ति गर्न समर्थन वा विरोधका लागि उक्साउनु, शिक्षकका क्षमता अभिवृद्धि गर्दै गुणात्मक शिक्षण सीपका लागि समयसापेक्ष मापक निर्धारण गरी पेसागत सुरक्षा दिन नसक्नु, त्यसैगरी विभिन्न बालसुधार गृहमा देखिएको निरीह किशोरावस्थाका दृश्य होस् वा सडकमा उत्रेका शिक्षक र डाक्टरका अवस्था, यी सम्पूर्ण दुरावस्थालाई गरिएको व्याख्या विश्लेषण वा पृष्ठपोषण सबैमा राजनीतिक निरीहता भेटिन्छ ।

गलतलाई गलत भन्न नसक्ने राजनीतिक संस्कार, राजनीतीकरणका नाममा गरिएको दलीयकरणले सिर्जित अराजकता अनि त्यसमाथि विचारविहीनतन्त्रले राजनीतिक निरीहता दिनानुदिन बढ्दो छ 
 

गलतलाई गलत भन्न नसक्ने स्थापित राजनीतिक संस्कार, राजनीतिकरणका नाममा गरिएको दलीयकरणले सिर्जित अराजकता अनि त्यसमाथि विचारविहीनतन्त्रले राजनीतिक निरीहता दिनानुदिन बढ्दो छ । दशकौँसम्म पार्टी अध्यक्ष बन्नुपर्ने बाध्यताको पछाडि नेतृत्वको अक्षमता झल्किन्छ, जसले नयाँ सक्षम नेतृत्व उत्पादन गर्न नसकेको प्र्रस्ट हुन्छ । यसले राजनीतिक निरीहतालाई थप उजागर गर्छ । यो अवस्था प्रायः लामो इतिहास बोकेका हरेक राजनीतिक दलमा देखिन्छ । जसको व्याख्या विश्लेषण र परिणामबारे पनि विभिन्न मञ्चमा खुब सुनिन्छ, तर समाधान गर्ने जमर्को कसैले गर्न सकेका देखिन्न, किनकि त्यहाँ राजनीतिक निरीहता जरो गाडेर बसेको हुन्छ ।

आजका दिनमा राजनीतिक निरीहता यतिसम्म बढेको देखिन्छ कि गलतलाई रोक्न अगाडि बढ्नु त परको कुरा त्यसलाई गलतसम्म भन्ने आँट गर्न सकेको भेटिन्न । राजनीतिक नेतृत्व तहदेखि लिएर कार्यकर्ता तथा छद्म शुभचिन्तक सबै राजनीतिक निरीहताको सिकार बनेका छन् । राजनीतिक निरीहताले गर्दा दलभित्रसमेत लोकतान्त्रिक अभ्यास हुन सकेको छैन । समाजमा उत्पन्न कुनै पनि समस्याको समाधानमा इमानदार प्रयास गर्नुको सट्टा सो कार्यले व्यक्तिगत र दलगत फाइदाको मूल्यांकन गर्दै त्यसलाई समर्थन वा विरोध गर्ने प्रवृत्ति राजनीतिक निरीहताको अर्को उदाहरणका रूपमा लिन सकिन्छ । 

छ्यापछ्याप्ती पाइने यस्ता उदाहरणले समाजलाई निराशा र अविश्वास बाँड्दै जाँदा समाजको सशक्तीकरण हुन सकेन, बरु सामाजिक शक्तिको क्षयीकरण हुँदै गयो, जहाँ सामाजिक सम्बन्धका धरातल जीर्ण हुँदै छन् । राजनीतिमा सामाजिक घृणा यसरी मौलाउँदै छ कि त्यसले समाजलाई चिराचिरा पार्दै तहतहमा तोड्दै छ, जुन अत्यधिक चिन्ताको विषय हो । नेपाली समाजमा रहेको जे–जे विविधता सामाजिक सुन्दरताका रूपमा वर्णीत थियो, त्यो–त्यो पक्षलाई घृणा र द्वेषले कुरूप बनाउँदै जीर्णतातर्फ लग्दै छ । हुँदाहुँदा राजनीतिक निरीहताले लोकतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय, विधिको शासनजस्ता सुन्दर पक्षलाई वधशालामा पालो कुरेर बसेका जीवनझैँ बनाइदिएको आभास हुँदै छ । 

हिजो जसरी राजनीतिक दलले समाजलाई दिशानिर्देश गरे, आज धरातलमा त्यही सब देखिँदै छ र आजको दिनमा डर, त्रास, लोभ र आसक्तिले उत्पादित राजनीतिक निरीहता टुलुटुलु ती वितण्डा हेर्दै छ । जसरी तीव्रतासाथ लोकतन्त्र भिडतन्त्रमा परिणत हुँदै छ त्यो डरलाग्दो पक्ष हो ।

हिजो लाखौँ जनता सडकमा उतार्छु भन्दै एकले अर्कालाई शक्ति प्रदर्शन गर्दै गर्दा, एकले अर्कालाई होच्याउँदै, गिज्याउँदै राजनीतिक संस्कार गिजोल्दै गर्दा राजनीतिक निरीहतालाई स्थापित गर्न थप बल दियो । सो प्रवृत्तिले कुनै पनि राजनीतिक दललाई क्षणिक फाइदाबाहेक केही दिएन, तर भिडको क्षमता प्रदर्शन गर्ने माध्यमसामु राजनीतिक निरीहता छ्यालब्याल गरिदियो । व्यक्तिविशेषको अनुकूलताका आधारमा अफवाह जन्माउने, हुर्काउने, फैलाउने र सत्यलाई दबाउने कार्यले तीव्रता पायो । नागरिक स्वतन्त्रतालाई सामाजिक हितको लेन्सले हेर्ने परम्परालाई सिध्याइदियो । जुनसुकै समय, काल र परिस्थितिमा पनि सिर्फ आ–आफ्नो स्वार्थअनुरूपको भागबन्डाका लागि मात्रै मिल्ने राजनीतिक संस्कार र प्रवृत्तिले समाजमा सामूहिक अराजकतालाई थप प्रश्रय दियो ।

बहुसंख्यक सर्वसाधारणका सन्तती पढ्ने विद्यालयले ती बालबालिकाका जीवनको जग बलियो नबनाइदिँदा, आशा र सम्भावना खोज्न सक्ने सीप विकास नगराइदिँदा तिनको राज्यसँगको गिर्दो भरोसालाई राजनीतिक निरीहताले कुनै आशा देखाउन सकेन । फलस्वरूप लाखौँ युवाले परिवार पाल्नकै लागि बिदेसिनुको विकल्प भेटेनन् र निरीह राजनीतिले रेमिटेन्सबाहेकको कुनै आर्थिक स्रोत नै भेटेन ।

कुनै पनि देश बन्न नभई नहुने दुइटा कुरा, गुणात्मक विद्यालय शिक्षा र आँटिलो राजनीतिक संस्कृति हो । हाम्रोमा यी दुवै पक्ष षड्यन्त्रको सिकार भयो । मस्तिष्कहरू कब्जा गर्दै उर्वर जमिनलाई बाँझो राख्ने जुक्ति बाँडियो, समाज भाँड्ने जुक्ति बाँडियो, सामाजिक अराजकताको आँधीबेहरी चल्ने वातावरण बनाइयो । यति हुँदाहुँदै पनि राजनीतिक निरीहताले देशको दुर्दशालाई चिर्न आँट गर्न सकेको देखिन्न । नेपाली मौलिकता मास्न ती मस्तिष्क परिचालित गरिए जो कागजका रूपमा नेपाली थिए, तर मन र मुटुमा विदेशी । तिनले त्यस्तै योजना बनाउँदै गए, समाजलाई क्षयीकरण गर्दै गए ।

नेपालका मौलिक शैलीलाई अनुपयुक्त भनी विस्थापित गरे । पठन संस्कृति विलुप्त गराउँदै नागरिकलाई उच्छृंखलतातर्फ डो¥याउँदै सोचहीन ‘स्युडो’ बनायो । विद्यालयका पाठ्यक्रममा आफ्नो समाजसँगको अपनत्व र दायित्वलाई पन्छाउँदै जीवनलाई नभइनहुने मानवता, नैतिकता, सिर्जनशीलताजस्ता मौलिक पक्षलाई विस्थापित गर्दै सिर्फ विश्वबजारमा श्रमिक हुन चाहिने सीपतर्फ आकर्षित गरियो ।

शिक्षा ध्वस्त भएपछि उपनीवेशिको शिकार मस्तिष्कको संख्या ह्वात्तै बढ्यो, जसले गर्दा सांस्कृतिक औजार प्रयोग गर्दै समाजलाई छियाछिया पार्न ‘स्युडो नलेज’का माध्यमले समाजलाई नै प्रयोग गर्ने वातावरण सिर्जित गरियो । आज जो विद्यार्थी नेपालमा यहीँका कलेजमा पढ्छन्, समाज बुझेका छन्, तिनलाई इन्टर्नसिप दिनुभन्दा जो विदेशमा पढ्छन् र बिदा मनाउन नेपाल आउँछन्, तिनलाई विभिन्न मन्त्रालयमा फेलोसिप/इन्टर्नसिप दिँदै नेपालका लागि आवश्यक पोलिसी बनाउने ठाउँमा समेत पहुँच दिइन्छ, तिनको समाजप्रतिको बुझाइ, विचार र सोचलाई समावेश गरिन्छ । यो पनि राजनीतिक निरीहताको अर्को उदाहरण हो ।

कलेजमा पढाइबाहेकका सबै काम गर्ने विद्यार्थी नेतालाई राजनीतिक निरीहताले आफ्नो सहाराका रूपमा हुर्काउँछ र शिक्षक प्राध्यापक सबैलाई कुनै न कुनै राजनीतिक ओत लागेर बस्न अभिप्रेरित गर्छ । शिक्षा कमजोर पारेपछि स्वाभाविक रूपले राज्यको चिन्तन, संस्कृति सबै कमजोर बन्छ र यस्तो राजनीतिक वनझारले राज्यका अंग थिलथिलो पार्छ र राजनीतिक निरीहताले केही गर्न सक्दैन । समग्रमा बुझ्ने हो भने राजनीतिक निरीहताले कुनै किसिमको सिर्जनात्मकता र सम्भावनासहितका आधार निर्माण गर्न, विकृतिलाई तोड्ने आँट गर्न सक्दैन । उसले सिर्फ भोटका लागि राजनीति गर्न, स्टन्ट गर्न र समाजलाई झुक्याउनबाहेक केही गर्न सक्दैन । समाज रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न सक्दैन । 

राजनीतिक निरीहतालाई सबलतामा परिणत नगर्ने हो भने यसले कसैको हित गर्न सक्दैन । त्यसैले, विकल्प एक मात्रै छ, सामूहिक प्रयास । जसरी लोभ, लाभ र विलापकेन्द्रित स्वार्थ पूर्ति गर्न भागबन्डाको वेला एकजुट भई सहमति हुन्छ, त्यसैगरी अब देशहितका लागि एकढिक्का हुनुपर्छ । सुरुवात, कृषि र विद्यालय शिक्षाबाट गराउन सकिन्छ । ठूला र भव्य कुराभन्दा विद्यालय शिक्षालाई सबल बनाई कृषकलाई निर्धक्क उत्पादन गर्ने वातावरण र सोतसाधन जुटाइदिने हो भने आधा समस्या आफैँ समाधान हुन्छ । बाँकी समस्या व्यवस्थापन गर्न सहज आधार बन्छ । आधारविहीन आशा बाँड्ने, जोडतोडले टेबल ठोक्दै विरोधका लागि विरोध गर्ने दलीयकरणको धुपौरे चरित्र छोड्नुपर्छ । 

देशमा व्याप्त सम्पूर्ण बेथिति र अराजकता ठीक गर्न राजनीतिक निरीहता अन्त्य गरिनुपर्छ । हरेक राजनीतिक दलले आफूलाई देश सुधार्ने पात्रका रूपमा बुझ्नुपर्छ । चाहे सत्तामा बसेका हुन् वा प्रतिपक्षमा, तिनका दलभित्र वा साझेदारीमा रहेको राजनीतिक निरीहता अन्त्य गर्न जरुरी छ । शब्दले छक्याउने काम बन्द हुनुपर्छ । नेतृत्व सफलताका मापक समयसान्दर्भिक बनाइनुपर्छ ।

सहमतिलाई गल्तीको ढाकछोप गर्न, प्रमाण लुकाउन, अपराधी छुटाउन प्रयोग गर्नुको साटो समाजका लागि प्रयोग गर्नुपर्छ । जहाँ कृषक निर्धक भएर उत्पादनमा लागोस्, विद्यालयले गुणात्मक शिक्षा देओस् । किनकि, आजको दिनमा नागरिक सचेतनाको तह परिवर्तित हुँदैजाँदा राजनीतिक दलका कसले कति वर्ष जेल सजाय पाए वा तिनका कतिजनाले कतिसम्म अभावमय जीवन बिताएजस्ता विषयभन्दा पनि देशका लागि आजको सन्दर्भमा राजनीतिक निरीहताबाट कति जोगिए त्यो महत्वपूर्ण छ । किनकि, सामूहिक प्रयासले राजनीतिक निरीहता हटाउनुको विकल्प छैन, जसका लागि बेइमान प्रवृत्तिभन्दा माथि उठ्ने नेतृत्व क्षमतासहितको आँट चाहिन्छ ।
(झा समाजशास्त्री हुन्)