मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Thursday, 05 December, 2024
वीणा झा
२o८१ असोज ७ सोमबार o७:३o:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विद्यालय शिक्षामा देखिने विरोधाभास

विद्यालय गएर खेत खन्नु सिकाइ होइन भन्नेहरूलाई स्थापित ज्ञानहरूको सैद्धान्तिक रटान मात्रै शिक्षा होइन भन्ने बुझाउन जरुरी छ

Read Time : > 4 मिनेट
वीणा झा
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o७:३o:oo

बाल्यकालमा सिकेका अक्षरहरू जीवनभर कुनै न कुनै रूपमा उपयोग भइरहने हुँदा कहिल्यै बिर्सिइन्न । त्यसैगरी, साइकल चलाउन सिकेको, कुनै बाजा बजाउन सिकेको जसको निरन्तर अभ्यास भइरहन्छ, त्यो पनि बिर्सिइन्न । यसैलाई व्यावहारिक अर्थात् प्रयोगमा ल्याएर सिकेको ज्ञानका रूपमा बुझ्न सकिन्छ । अरूले पढेको जति देखे पनि आफूले पढ्न सकिँदैन । वर्षौँसम्म अरूले गाडी चलाएको देखे पनि आफैँले चलाउने कोसिस नगरेसम्म जानिँदैन । कसैले बाँसुरी बजाएको जति सुने पनि बजाउन जानिँदैन । हुन त सिकाइमा अवलोकनको पनि ठुलो महत्व हुन्छ । यसले सिकाइलाई सहज बनाउनचाहिँ सक्छ । तर, सिर्फ अवलोकनले सिकाइ प्रक्रियालाई पूर्णता दिन सक्दैन ।

विद्यालय तहमा सिकेका पढ्ने तरिका, सोच्ने तरिका, समस्या समाधान गर्ने तरिका अनि निरन्तर परिमार्जन गर्दै आफूलाई निखार्दै लग्ने, सकारात्मक सोच्नेजस्ता बानी जो जीवनभर नै आवश्यक पर्छ, यसको जग विद्यालय तहमै निर्माण हुँदोरहेछ । अर्थात् विद्यालय तहमा जीवनमा नभई नहुने सीपको बिजारोपण गरिँदोरहेछ, जसले पछि गएर सफल जीवनका लागि सहयोग गर्छ । यी सबै सीप सिकाउन विषयवस्तुको ज्ञानले पोख्त शिक्षक भएर मात्रै पुग्दैन । विद्यालय तहका लागि बालबालिकाको भावनाको स्पन्दन बुझ्न सक्ने, हरेक विषयलाई तिनका दैनिक जीवनसँग जोडेर बुझाउन सक्ने अनि तिनमा जिज्ञाशा जगाउँदै आत्मविश्वास भर्न सक्ने कला भएका शिक्षक चाहिनेरहेछ । 

हुन त शिक्षणको तहअनुसारको विधि आवश्यक पर्छ । तर, एउटा के निश्चित छ भने विद्यालय तहको कक्षाकोठामा सिद्धान्त बोकेर गएर सिकाउन गाह्रो हुन्छ, बरु विषयगत ज्ञानलाई तिनका दैनिकीसँग जोडेर बुझाउँदै नयाँ–नयाँ सिद्धान्तसँग जोड्न सकिएला । जस्तो कि विश्वविद्यालय तहका कक्षामा कुन विद्यार्थी कहाँबाट आएका हुन्, तिनका परिवारको सामाजिक, आर्थिक अवस्था कस्तो छ भन्ने विषयलाई नियाल्नु खासै जरुरी देखिन्न । किनकि, तिनलाई पढाउन विषयगत अभ्यास र सिद्धान्त बुझाउन तिनका व्यक्तिगत, पारिवारिक र सामाजिक अवस्थाले शिक्षणलाई खासै प्रभाव पार्दैन । तर, जब विद्यालय तहको शिक्षणको प्रसंग आउँछ त्यतिवेला सो समाजको स्पन्दन बुझ्ने, बालबालिकाको सामाजिक, आर्थिक र पारिवारिक अवस्था बुझ्दै तिनको भावलाई समेत महसुस गर्न सक्ने शिक्षकले मात्र सहजतासाथ सिकाउन सक्छ भन्दा अत्युक्ति नहोला । 

बालबालिकाको प्रकृति नै नयाँ कुरा सिक्न खोज्ने, जान्न चाहने र नयाँ विषयवस्तुमा रमाउने हुन्छ । त्यसैले होला ससाना बालबालिकालाई खेल्न र रमाउन सिकाउनुपर्दैन । जुन भूगोल र परिवेशमा भए पनि आफैँ खेलका सामग्री सोच्छन्, खोज्छन् र खेल्न सुरु गर्छन् । त्यतिवेला तिनलाई सो खेलका नियम, सिद्धान्त केही थाहा हुँदैन । त्यही उमेरमा खेल्ने, सोच्ने, सिक्ने, रमाउने गर्छन् । तर, विद्यालय तहमा पुगेपछि सिकाइ भनेको पीडादायी हो भन्ने अनुभूति गरेपछिचाहिँ उनीहरू सिक्नदेखि डराउन थाल्छन् ।

विद्यालय शिक्षाको सुरुवात प्राकृतिक सिकाइबाटै गरिनुपर्छ, जसले गर्दा सिकाइप्रतिको लगाव बढ्न जान्छ र बढ्दो कुतूहलले थप सिकाइतर्फ डोर्‍याउँछ

आज विद्यालय तहमा अध्ययनरत बिद्यार्थी, जसको दुई दशकपछाडि के र कुन विषयवस्तु चाहिन्छ, त्यसका लागि आजका पाठकेन्द्रित विषयवस्तुको जानकारी र सिकाइ यथेष्ठ हुन सक्छ कि सक्दैन भन्नेतर्फ पनि सचेत रहनुपर्छ । तिनलाई सिक्ने विधि सिकाउने हो, खोज्ने विधि सिकाउने हो र प्रस्तुति गर्ने तरिकामा तल्लीन गराउने हो कि कुनै निर्मित र स्थापित ज्ञानका विषयवस्तुतर्फ मात्रै केन्द्रित गर्न खोज्ने हो भन्ने विषय गम्भीर छ । सिक्ने प्रक्रिया सिकाउन कुनै पनि एउटा विधि वा फर्मुला सबै ठाउँका लागि उपयुक्त नहुन पनि सक्छ । किनकि, सबैका दैनिकी ठाउँ र परिवेशअनुसार फरक–फरक हुन्छन् । 

दैनिक जीवनमा गर्ने कार्यसँग जोडिएको ज्ञानलाई व्यावहारिक भन्न सकिन्छ । यसमा सबै पर्छन्, साइकल चढ्नुदेखि लिएर पेन्सिलले लेख्नुसम्म अनि प्रोजेक्टरमा स्लाइडको प्रस्तुतिदेखि लिएर बाख्रा चराउनुसम्म । मुख्य विषय भनेको सबै कार्यलाई कसरी भाषा, गणित, विज्ञान र समाज अध्ययनसँग जोड्न सकिन्छ भन्ने अवधारणाको विकास गर्न सिकाउने मुख्य सुरुवात नै विद्यालय तहमा गरिनुपर्छ । 

विद्यालय गएर खेत खन्नु सिकाइ होइन भन्नेलाई के बुझाउन जरुरी छ भने स्थापित ज्ञानहरूको सैद्धान्तिक रटान मात्रै शिक्षा होइन । खेतको खनाइदेखि लिएर खाना पकाइसम्म र सिलाइदेखि खेलकुदसम्म हरेक विषयलाई जोड्न सकिन्छ, यदि शिक्षकको मस्तिष्कलाई सिकाइका कुनै विशेष सिद्धान्तले बेरेर राखिदिएको छैन भने । अहिलेको समस्या भनेको ती भ्रमित मस्तिष्कहरू हुन्, जसले विश्वको कुनै समाजमा कसैले कुनै वेला निर्माण गरेका सिकाइ कसरी हुन्छ भन्ने सिद्धान्त कण्ठ पारेर बसेका हुन्छन् र त्योभन्दा बाहिर हेर्न सक्ने क्षमताको विकास नै गर्न सकेका हुँदैनन् । तिनले विद्यार्थीको दैनिकीसँग विषयवस्तुलाई जोडेर बुझाउन सक्दैनन् । बच्चाहरूले धेरै कुरा कल्पना गरेर पनि सिक्ने गर्छन् । कल्पना गर्ने शक्ति निर्मित र स्थापित ज्ञानभन्दा शक्तिशाली हुन्छ । कल्पनाशक्तिकै कारण विभिन्न सिर्जना र आविष्कार 
हुने गर्छन् ।

विद्यालय शिक्षा भनेको त्यस्तो ठाउँ हो, जहाँ विविध ज्ञान निर्माणको जग हालिन्छ, जसलाई पछि गएर आवश्यकताअनुसार विकास र परिष्कृत गर्न सम्भव हुन्छ । तरिका विविध हुनु स्वाभाविक हो, तर उद्देश्य एउटै छ, त्यो भनेको विद्यालय तहमा सिक्ने जिज्ञासा बढाउनु, विविध विषयलाई बालबालिकाको दैनिकीसँग जोडेर अवधारणामा स्पष्टता ल्याइदिनु हो ।

विद्यालय शिक्षामा विशेष गरी आधारभूत तहमा सिक्ने प्रक्रिया, सोच्ने शैली, सामाजिक तथा प्राकृतिक विषयवस्तुसँगको मानवीय सहसम्बन्धजस्ता आधारभूत कुरा पूर्ण आत्मविश्वाससाथ सिक्न सक्ने शैक्षिक वातावरण बनाइदिने हो भने पछि गएर ऊ आफूलाई आवश्यक पर्ने सीप र ज्ञान सिक्न सक्ने बन्छ । शैक्षिक वातावरण भन्नाले त्यहाँ सिकाइलाई सहज बनाउने हरेक स्रोत र साधनसमेतलाई बुझिन्छ । डिग्री पाउनु र बौद्धिक हुनु फरक कुरा हो । डिग्रीले सो विषयको गहनतम गहिराइसम्मको जानकारी दिन सक्छ, तर उक्त ज्ञानलाई बौद्धिक रूपमा प्रयोग गर्ने क्षमता दिन्छ नै भन्न सकिन्न ।

हुन त विद्यालय शिक्षाका केही विषयवस्तु हेर्दा यो भागबन्डामा पारिँदै लगेको हो कि जस्तो भान हुन्छ । गणित र विज्ञानका पुस्तक नेपाली भाषामा लागू गर्नु, कतिपय विद्यालयमा लागू गरिएका पुस्तकका संख्या र बालबालिकाको सिकाइ संघर्षप्रति रहेको भाषागत अवरोधप्रति असंवेदनशील देखिनु, तहगत आधारमा आवश्यक नरहेका विषयवस्तु खाँदेर राखिदिनु, विद्यालय अवस्थित रहेको समुदाय, त्यहाँको सामाजिक संरचना, आर्थिक र भौगोलिक अवस्था, जीवनशैलीसँग जोडिने यथेष्ठ उदाहरण दिनुको सट्टा पाठ्यपुस्तकलाई सूचना र जानकारीले भरिभराउ गरिदिनु अनि त्यसमाथि शिक्षक प्रशिक्षणका नाममा प्रवचन सुनाएर हिँड्ने कथित प्रशिक्षकको जमात जसले विद्यालय शिक्षाको संवेदनशीलतालाई ओझेलमा पार्दै गएको अनुभूति सहजै गर्न सकिन्छ । 

विद्यालय शिक्षाको एक महत्वपूर्ण भूमिका भनेको मानवीय सामाजिक सम्बन्धप्रति संवेदनशील बनाउनु पनि हो । त्यो भनेको शिक्षक विद्यार्थीबिचको विश्वास र सम्मानको सम्बन्ध, साथी–साथीबिचको सम्बन्ध, विद्यालयसँग जोडिएको समुदाय र प्रकृतिसँगको सम्बन्ध इत्यादि । मानवजीवनका लागि असाध्यै महत्वपूर्ण रहेको पक्ष भनेको सम्बन्धको स्पन्दन बुझ्नु र समाजप्रतिको दायित्वबोध गर्न सिकाउने सुरुवात गर्ने थलो पनि विद्यालय नै हो । 

विद्यालय तहमा विज्ञानका सिद्धान्त घोकेर आफ्नो वरिपरि रहेका विज्ञान बुझ्न नसक्नुभन्दा आफ्नो वरिपरि कहाँकहाँ विज्ञान कसरी जोडिएका छन् त्यो खोज्दै विज्ञान पढ्नु रमाइलो गरी सिक्ने आधार बन्न सक्छ । विद्यालय शिक्षाको सुरुवात प्राकृतिक सिकाइबाटै गरिनुपर्छ, जसले गर्दा सिकाइप्रतिको लगाव बढ्न जान्छ र बढ्दो कौतुहलले थप सिकाइतर्फ डो¥याउन उत्प्रेरित गर्छ । 

उत्कृष्ट विद्यालय शिक्षा भनेको त्यो हो, जहाँ शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्न विद्यार्थीका दैनिक जीवन, तिनको समुदाय र परिवेश अनि सामाजिक र प्राकृतिक वातावरणलाई पाठ्यक्रमसँग जोड्दै सिकाउन शैक्षिक वातावरण निर्माण गरिन्छ ।
त्यसैले, विद्यालय शिक्षामा शिक्षक बबाल प्रमाणपत्रधारी नभए पनि हुन्छ । उसले समाजमा रहेका विविध संरचनासँग हरेक पाठ्यपुस्तकका विषयलाई जोडेर विद्यार्थीलाई आफ्नो वरिपरिका हरेक संरचनामा उसले पढेका र बुझेका ज्ञानलाई खोज्ने दृष्टिकोणको निर्माण गरिदिए पुग्छ । 

जीवन सिक्नु र बुझ्नु फरक हो । मानवजीवनका लागि अति आवश्यक दया, माया, करुणा, इमानदारी,जवाफदेहिताजस्ता गहन विषय सिक्न सुरु गर्ने स्थल विद्यालय नै हो । त्यो सिकेपछि बिस्तारै जीवन बुझ्न सहज हुँदै जान्छ । यो जीवन सिक्ने र बुझ्ने क्रम निरन्तर चलिरहेको हुन्छ । तर्क र कुतर्कमा विद्यालय शिक्षालाई अल्मल्याउनु हुँदैन । कसैले तर्क गर्न सक्छ, मैले त हिँड्न बच्चा वेलामै सिकेँ अनि कसैको तर्क हुन सक्छ– जीवनभरि पनि हिँड्नै त सिक्दै छु । 
(झा समाजशास्त्री हुन्)