Skip This
तीनजना प्रहरीकै मिलेमतोमा पानीपोखरीमा लुटपाट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o८:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

तीनजना प्रहरीकै मिलेमतोमा पानीपोखरीमा लुटपाट

इसेवामार्फत ‘घुस’, प्रहरीसहित पाँचविरुद्ध डकैती मुद्दा दायर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:३३:oo

प्रहरीकै मिलेमतोमा काठमाडौंमा लुटपाट भएको छ । लुटपाटमा संलग्न तीन प्रहरीसहित पाँचजनालाई पक्राउ गरी डाँका चोरी मुद्दा दायर भएको छ । लुटपाटमा प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल पक्राउ परेका हुन् । उनीहरू प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी हुन् । उनीहरूले एक महिनाअघि मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका हुन् । पाँचैजनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । 

उनीहरूले २१ असोजमा बर्दीको आडमा लुटपाट गरेका हुन् । निजी गाडीमा ठमेलबाट बालुवाटार जानेक्रममा कुमार रोका र नवराज नगरकोटीलाई रोकेर लुटपाट गरेका हुन् । उनीहरू राति साढे ११ बजे छुट्टाछुट्टै गाडीमा बालुवाटार जान लागेका थिए । रोकाको गाडीमा तीनजना युवती थिए । युवतीहरू ‘सप्लाई’ गरी वेश्यावृत्ति धन्दामा लगाएकाले फसाइदिने भन्दै धम्क्याएर प्रहरीसमेतले लुटपाट गरेको पीडितहरूको भनाइ छ । 

पूर्वयोजनाअनुसार पानीपोखरी सडकमा उनीहरूले गाडी रोकेर अपरिचित युवतीलाई कहाँ बेच्न लैजान लागेको भन्दै धम्क्याएका थिए । युवतीलाई नियन्त्रणमा लिई प्रहरीको सिआरभी भ्यानमा राखे । दुवैजनालाई उनीहरूले निर्मलनिवासको गल्लीतर्फ लगेका थिए । जहाँ १७ हजार पाँच सय नगद लुटेका थिए । थप डेढ लाख रुपैयाँ मागेकोमा उनीहरूसँग थिएन । त्यसपछि जबर्जस्ती इसेवामा पैसा हाल्न लगाएका थिए । रोकाको मोबाइलबाट सन्तोष पुरीको नम्बरमा पाँच सय ट्रान्सफर गरेका थिए । 

काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेल भन्छन्–पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरेको थियो । घटनालगत्तै पीडितहरूले प्रहरी हटलाइनमा जानकारी गराएका थिए । अनुसन्धानका क्रममा घटनामा प्रहरीकै संलग्नता देखिएपछि पक्राउ गरी मुद्दा चलाइएको छ । 

त्यस्तै, नवराज नगरकोटीको आइडीबाट २५ हजार ट्रान्सफर गराएका थिए । पैसा लिएपछि उनीहरूले पाँचैजनालाई छाडिदिएका थिए । यसरी धम्क्याएर उनीहरूले ४७ हजार पाँच सय रुपैयाँ लिएका थिए । सोही रकमलाई बिगो बनाई मुद्दा दायर भएको छ । पछि पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरेको थियो । घटनालगत्तै उनीहरूले प्रहरी हटलाइनमा जानकारी गराएका थिए । अनुसन्धानका क्रममा घटनामा प्रहरीकै संलग्नता देखिएपछि उनीहरूलाई समेत पक्राउ गरी मुद्दा अदालतमा पुर्‍याइएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए ।

घटनाका योजनाकार मदन पुरी हुन् । उनले नाता पर्ने सन्तोष पुरी र प्रहरीको सहयोगमा उनीहरूलाई धम्क्याएर पैसा उठाउने योजना बनाएका थिए । धम्क्याएर पैसा असुल्ने योजनासाथ उनले नवराज नगरकोटीलाई फोन गरी तीन युवती लिएर आउन भनेका थिए । सोहीअनुसार उनी युवती लिएर गएका थिए । 

सो क्षेत्रमा असइ सुनबहादुर तामाङको नेतृत्वमा प्रहरीको सिआरभी खटिएको थियो । अन्य दुई प्रहरी पनि असइ तामाङको नेतृत्वमा खटिएका थिए । सोही सिआरभीका प्रहरीसँग मिलेर उनीहरूले त्यसरी लुटेका हुन् । बयानका क्रममा मदन र सन्तोष पुरीले सो कुरा स्वीकार गरेका छन् । तीन प्रहरीले भने आफूहरूले पैसा लिएको अस्वीकार गरेका छन् । पक्राउ गरेको र पछि उनीहरूको आग्रहमा छाडिएको बयान दिएका छन् । लुटपाटमा हवल्दार र जवानको प्रत्यक्ष संलग्नता देखिएको र असइको भने अप्रत्यक्ष मिलेमतो रहेको अभियोग लगाइएको छ । 

नक्कली कागजपत्र बनाउने गिरोहमा प्रहरी नै संलग्न 
विदेश जानेहरूका लागि नक्कली कागजपत्र बनाउने गिरोहमा प्रहरीकै संलग्नता देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवलाल तामाङ आफैँ यस्तो गिरोहमा संलग्न भएका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

भिजिट भिसामा विदेश जानेहरूको नक्कली कागजपत्र बनाउन उनले सघाउँदै आएका थिए । यसमा विमानस्थलका सिनियर अधिकृतको पनि मिलेमतोको आशंकामा छानबिन अघि बढेको छ । उनीसहित नवलपुरको मध्यविन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्तबहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काठमाडौंका साइरस बिसंखे, दीपक केसी र सल्यान घर भएका बलबहादुर रावत पक्राउ परेका छन् । यसमा संलग्न थप व्यक्तिमाथि अनुसन्धान भइरहेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । 

ad
ad