दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी–साङ्बा सडकमा कालोपत्रेको काम सुरु भएको छ । बागमती प्रदेश सरकारको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको उक्त सडकमा कालोपत्रेको काम सुरु भएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले व्यवस्थापन गरिरहेको उक्त सडक आयोजनाको कालोपत्रेको काम यही जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको कार्यालयले जनाएको छ ।
कालिञ्चोक गाउँपालिका– ६ को पाटागाउँस्थित दुधपोखरी पहिरोदेखि बाबरेको लप्सीबोटेसम्म १५ किलोमिटर खण्डमा कालोपत्रेको काम भइरहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर परमानन्द आचार्यले जानकारी दिए । उनका अनुसार हाल बाबरेको लप्सीबोटेबाट कालोपत्रेको काम सुरु गरी अहिले लामीडाँडाको घ्याङसम्म झन्डै डेढ किलोमिटर कालोपत्रे गरिसकिएको छ । इन्जिनियर आचार्यले यही रफ्तारले काम भए तोकिएकै समय अवधिभित्र उक्त सडक कालोपत्रे सम्पन्न हुने विश्वास व्यक्त गरे ।
पूर्वाधार विकास कार्यालयले दुई वर्षअघि उक्त सडकको स्ट्रक्चरसहित कालोपत्रे गर्न ४४ करोडको लागतमा ठेक्का आह्वान गरेकोमा ठेकेदार कम्पनी के.एस. सुनकोशी जेभीले झन्डै १७ करोड घटेर २७ करोड लागतमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीका प्रतिनिधि कुशल खड्काका अनुसार मौसमको साथ र कुनै काबुबाहिरको परिस्थिति सिर्जना नभए जेठ मसान्तभित्र कालोपत्रेको काम सम्पन्न हुनेछ ।
खड्काले विगत वर्षका बाढी–पहिरोलगायतका प्राकृतिक प्रकोप र बीचमा सरकारले क्रसर उद्योग बन्द गर्दा यसअघि नै सम्पन्न हुने उक्त आयोजनामा केही ढिलाइ भएको प्रतिक्रिया दिए । खड्काले लापिलाङ गाउँमा गएको विशाल पहिरोले सुरुवाती समयमा निर्माण सामग्री ढुवानीमा निकै कष्ट व्यहोर्नुपरेकोसमेत गुनासो गरेका छन् । वर्षौँदेखि झरेको लापिलाङ पहिरोका कारण उक्त सडकसमेत बगेको थियो । पहिरोले सडक बगाएपछि स्थानीयले बस्तीभन्दा माथिबाट सडकको निकास खोलेका थिए ।
आक्स्पाल्ट कंक्रिट प्रविधिको कालोपत्रे भइरहेको उक्त सडक सम्पन्न हुँदा दोलखाको उपल्लो उत्तरी गाउँहरू सदरमुकाम चरिकोटसँग नजिकिनेछन् । सडक कालोपत्रे सम्पन्न हुँदा उत्तरी बस्तीहरू लापिलाङ, लामीडाँडा, बाबरे, कालिञ्चोक हुँदै खोपाचागुको साङ्बा बजार, बिगु गुम्बा, चिलंखा र आलम्पुका यात्रुहरूलाई निकै सहज हुनेछ ।