
अर्जेन्टिनी कप्तान लियोनल मेसीले कीर्तिमानी रूपमा आठौँपटक बालोन डिअर अवार्ड जितेका छन् । पेरिसमा सोमबार राति आयोजित एक समारोहबीच मेसीले म्यानचेस्टर सिटीका एर्लिङ हाल्यान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई निराश पार्दै आठौँपटक उपाधि उचालेका हुन् । मेसीले सन् २००९ मा पहिलोपटक बालोन डिअर ट्रफी हात पारेका थिए । त्यसपछि उनले ०१२ सम्म यस ट्रफीमाथि कब्जा जमाए । बार्सिलोनामा रहँदा उनले पाँचपटक ट्रफी जिते । बार्सिलोनाबाट उनले अन्तिमपटक सन् २०१९ मा उपाधि जितेका थिए ।
यसपटक बालोन डिअर ट्रफीमा उनलाई सिटीका हाल्यान्ड र एम्बाप्पेले चुनौती दिएका थिए । तर, गत पुसमा कतारको दोहामा भएको फिफा विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनालाई एक प्रयासमा विश्व च्याम्पियन बनएका कारण नै मेसी बालोन डिअरका प्रमुख हकदार खेलाडीका रूपमा उभिए । स्वयं मेसीले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका कारण नै पेरिसमा उपस्थित हुन सकेको बताएका छन् ।
‘विश्वकप जित्न सक्षम हुँदै मेरो सपना पूरा गरेर फेरि एकपटक यहाँ उपस्थित भएको छु,’ उनले भने, ‘यो क्षणलाई भरपूर मनोरञ्जन गर्नु उत्कृष्ट हो ।’ मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी)मा रहँदा सन् २०२१ मा यस ट्रफी जितेका थिए । बालोन डिअरमा मेसीपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पाँचपटक जितेका छन् । अहिले रोनाल्डो साउदी अरेबियाको प्रो लिगअन्तर्गत अल नासेरमा आबद्ध छन् । करिअरमा उनी पहिलोपटक शीर्ष तीनको दौडबाट बाहिरिएका हुन् । मेसीले रोनाल्डोलाई तीन संख्याले पछि पारेका छन् । रोनाल्डोले अन्तिमपटक सन् २०१७ मा ट्रफी जितेका थिए ।
पिएसजीसँग सम्झौता नवीकरण नगरी मेसी यसै सिजन अमेरिकाको मेजर लिग खेल्न इन्टर मियामीमा आबद्ध भए । इंग्लिस फुटबलर डेभिड बेकह्यामको लगानीमा रहेको मियामीमा मेसीले सबै खाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका छन् । रोनाल्डोले २०१७ मा अन्तिमपटक यो अवार्ड जितेका थिए । मेसीलाई चुनौती दिएका नर्वेका स्ट्राइकर हाल्यान्डले गत सिजन सिटीबाट प्रिमियर लिगमा ३५ खेलमा कीर्तिमानी ३६ गोल गरेका थिए । यसैगरी, उनले सिटीबाट ट्रेबल उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे । सिटीले गत सिजनमा प्रिमियर लिगसहित च्याम्पियन्स लिग र एफए कप उपाधि जितेको थियो ।
महिलातर्फ बोनमाटी उत्कृष्ट
बालोन डिअरअन्तर्गत महिलातर्फको ट्रफी स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर बोनमाटीले जितेकी छिन् । २५ वर्षीया बोनमाटीकै कप्तानीमा स्पेनले अस्ट्रेलियामा भएको फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । बोनमाटीले पहिलोपटक यो ट्रफी जितेकी हुन् ।
विश्वका सय पत्रकारले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डिअर अवार्ड प्रदान गरिन्छ । इंग्ल्यान्ड तथा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । अर्जेन्टिनालाई विश्वविजेता बनाउन योगदान गरेका गोलरक्षक इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक बने । मार्टिनेजले कतार विश्वकपमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए । म्यानचेस्टर सिटीले क्लब अफ दी इयरको अवार्ड जित्यो । महिलातर्फ बार्सिलोनाले क्लब अफ दी इयरको अवार्ड पायो ।