१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर
२०८० कार्तिक १३ सोमबार १५:४२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लालुपाते सहकारी घोटाला : क्याप्टेन जोशी श्रीमतीसहित एक महिनादेखि हिरासतमा

Read Time : > 3 मिनेट
२०८० कार्तिक १३ सोमबार १५:४२:००

सहकारीमा जम्मा गरेको बचतकर्ताको रकम घोटाला प्रकरणमा मुछिएका क्याप्टेन सुनील जोशी गत १३ असोजमा काठमाडौंबाट पक्राउ परेका थिए। 

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेल बजार स्थायी घर भएका क्याप्टेन जोशीलाई दिक्तेलमा सञ्चालित लालुपाते सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम घोटाला प्रकरणमा मुछिएपछि प्रहरीले श्रीमती रविना श्रेष्ठ (जोशी)सहित पक्राउ गरेकाे हाे। 

काठमाडौंस्थित घरैबाट पक्राउ परेका जोशीदम्पतीलाई महिना दिनअघि जिल्ला ल्याएर प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। उनीहरूलाई संगठित अपराधअन्तर्गत मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। 

क्याप्टेन जोशी सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशीको सहोदर भाइ हुन्। तत्कालीन अध्यक्ष जोशीले बचतकर्ताको रकम भाइबुहारीको व्यक्तिगत बैंक खातामा जम्मा गरेर उनीहरूकै नाममा विभिन्न ठाउँमा जग्गा खरिद गरेको सहकारीको आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।

आफूहरूले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले ०७९ फागुन २ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए। 

बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोलीले तत्कालीन अध्यक्ष जोशीका भाइबुहारीलाई पक्राउ गरेको चार दिनपछि असोज १७ गते प्रबन्धक रुकु जोशीलाई समेत पक्राउ गरेको थियो।  

बचतकर्ताको रकम घोटाला प्रकरणमा मुख्य दोषी ठानिएका क्याप्टेन जोशीलगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने भन्दै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन। उनीहरूको परिवारले रु. एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।

ऋणीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले महिना दिनपछि आइतबार सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई पक्राउ गरेको छ। जिल्लाका चार हजार पाँच सय  बचतकर्ताको रकम घोटाला प्रकरणमा अनुसन्धान गर्न उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि भन्दै कार्यालयमा बोलाएर षड्यन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाएका छन्।

‘ऋणीहरुविरुद्ध हामीले किटानी जाहेरी दिएका छौँ । उनीहरू नै हुन् दोषी । अहिले पक्राउ परेका कोही पनि दोषी छैनन् । सञ्चालक समितिका सचिव मनोज राई आफैँले ऋणीहरुविरुद्ध गत माघ ६ गते किटानी जाहेरी दिनुभएको छ । उहाँलाई नै प्रहरीले पक्राउ गरेपछि कसरी अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ?’ नाम नभन्ने सर्तमा भने, ‘प्रहरी ऋणीहरूको पक्षमा लागेको स्पष्ट देखियो। यसमा निष्पक्ष छानबिन हुन जरुरी छ । विनाकारण कसैलाई दुःख दिन पाइँदैन। दोषीले उन्मुक्ति पाउनुहुँदैन।’  

बचतकर्ताका रकमले खरिद गरिएको जग्गा आफ्नो नाममा पार्ने व्यक्ति तथा अन्य ऋणीहरूको पहिचान भएर पनि प्रहरीले अहिलेसम्म उनीहरूलाई पक्राउ नगरेको सञ्चालक समितिका पूर्वसदस्यले बताएका छन्। बचतकर्ताले आफूहरूको बचत डुबाउने दोषीलाई कारबाही र डुबेको बचत फिर्ता गर्न माग गर्दै गत असोज १९ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्नासमेत दिएका थिए।

पक्राउ परेका दोषीलाई उन्मुक्ति नदिन, अन्य दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र डुबेको बचत रकमको साँवाब्याज फिर्ता गर्ने वातावरण निर्माणका लागि प्रदर्शन गरिएको बचतकर्ताहरूले बताएका छन्। 

पक्राउ परेका व्यक्तिलाई अदालतले तारिखमा छाड्न लागेको सूचना आएकाले उनीहरूलाई कानुनी कारबाही तथा आफूहरूको बचत फिर्ताका लागि दबाबमूलक प्रदर्शन गरिएको बचतकर्ता धनीराम नछुङले बताएका छन्।  

सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।

‘लालुपाते सहकारी संस्था लिमिटेडमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ। अनुसन्धानका लागि सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखियो,’ कार्कीले भने, ‘नियन्त्रणमा लिइएका सञ्चालक समितिका पदाधिकारीलाई आइतबार नै जिल्ला अदालत खोटाङमा हाजिर गराउनुका साथै एक दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेका सबैजनाको एकैपटक आज (सोमबार) पुनः म्याद गरेर संगठित अपराधअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ। सम्भवतः यससम्बन्धी नतिजा चाँडै नै आउने अपेक्षा गरेका छौँ।’

०७२ मंसिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड– १९ को संक्रमणका कारण ०७८ वैशाख १५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

तत्कालीन अध्यक्ष जोशीको कोभिड– १९ का कारण निधनपछि ०७८ वैशाख १६ गतेदेखि सहकारी संस्थाको आर्थिक कारोबार ठप्प छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित सहकारी संस्थामा एकैजनाले रु. ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी छन्। 

सहकारीका ऋणीहरूले न्यूनतम रु. ३० हजारदेखि रु. ७५ लाखसम्म ऋण लगेको देखिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ। सहकारीको जग्गाबाहेक साँवाब्याजसहित करिब रु. दश करोड ऋण लगानी रहेको जनाइएको छ। 

बचतकर्तालाई साँवाब्याजसहित करिब रु. सात करोड रकम फिर्ता दिनुपर्ने लेखापरीक्षण प्रतवेदनमा हिसाब देखिएको छ। सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन र बचतकर्तालाई फिर्ता दिन कठिन भएको सञ्चालक समितिका अन्य पदाधिकारीहरूले बताउँदै आएका छन्। 

जिल्लामा सञ्चालित अन्य केही सहकारी संस्थाले पनि आफूहरूको बचत फिर्ता नदिएको बचतकर्ताहरूले गुनासो गर्न थालेका छन्। दश स्थानीय तह रहेको जिल्लामा एक सय ८१ वटा सहकारी संस्था सञ्चालनमा छन्।