
काठमाडौंबाट रौतहटको पिप्रा बजारतर्फ आउँदै गरेको बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । बा.६ख १४६३ नम्बरको बसले आज बिहान ५:३० बजेको समयमा माधवनारायण नरपालिका- ६ स्थित आफ्नो घरअगाडिको आँगनमा घुर तापेर बसेका ६५ वर्षीय ब्रह्मदेव दास तत्मालाई ठक्कर दिएको थियो ।
उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ । तत्मालाई ठक्कर दिएपछि बस अनियन्त्रित भएर स्थानीय फेकु दासको फुसको घरमा पसेको थियो । बसको ठक्करबाट घरमा सुतिरहेका ५५ वर्षका फेकु दास र उनकी श्रीमती सुमित्रा देवी घाइते भएका छन् ।
दुवैजनाको गौर अस्पतालमा उपचार भइरहेको छ । मृतक तत्माको शव पनि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ । ठक्कर दिने बस र चालकलाई जिल्ला प्रहरी कार्यालय गौर रौतहटले नियन्त्रणमा लिएको छ ।