१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५४:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

भारतले थप निर्यात अनुमति नदिँदा दसैँमा दैनिक ५ सय मेगावाट विद्युत् खेर गयाे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५४:oo

दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत् आयोजनाहरूबाट उत्पादित करिब पाँच सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग–कलकारखानाहरू बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युतकाे माग घटेको छ । 

तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत् प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वका जलविद्युत् आयोजनाहरूबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ । 

प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट हाल दैनिक रूपमा करिब दुई हजार दुई सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब एक हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रूपमा पाँच सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।

‘दसैँका कारण आन्तरिक रूपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब तीन सय मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौँ, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रूपमा करिब पाँच सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, यसबाट दैनिक रुपमा कराेडौँ रुपैयाँ गुमाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौँ, स्वीकृति नपाउने हो भने अझै विद्युत् खेर फाल्नुपर्ने अवस्था छ ।’

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी ६ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारणलाइनबाट निर्यात भइरहेको छ । 

प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । 

प्राधिकरणले चालू आर्थिक वर्ष ०८०/८१ को  साउन, भदौ र असोज ३ महिनामा नाै अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । 

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतकाे औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ  । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युतकाे औसत दर प्रतियुनिट नाै रुपैयाँ ६७ पैसा थियो । 

दसैँमा विनाअवरोध विद्युत् आपूर्ति 
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको दसैँमा विनाअवरोध विद्युत् आपूर्ति गरेको छ । यस वर्ष पनि पहाडी भेगका केही स्थानमा फाटफुटबाहेक दसैँमा विगत वर्षमा झैँ विनाअवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरे । ‘दसैँमा विद्युत् प्रणाली नियमित (स्मुथ) रूपमा चल्यो, कहीँ–कतै अवरोध भई विद्युत् आपूर्ति बन्द भएन,’ घिसिङले भने । 

प्राधिकरणले दसैँमा विद्युत् अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युतगृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीहरूलाई तयारी अवस्थामा राखेको थियो ।