
चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दूहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिबारे बुझ्दै विदेशी पर्यटकले सौराहाको होटेल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।
सपना भिलेजका प्रबन्ध–निर्देशक ध्रुव गिरी, बुबा ८६ वर्षीय मनु गिरी र उनकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएका हुन् । उनीहरूसँगै क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्वअध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दंग देखिन्थे ।
नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेबिट राइट यसपटक टीका र जमरासँगै नेपालीको दसैँ मनाउन पाउँदा निकै खुसी देखिन्थे । ‘मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाएको छु, धन्यवाद नेपाली,’ उनले भने ।
अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिन्थे । उनले आगामी वर्ष पनि नेपालमा आएर दसैँ मनाउने बताए । चितवनको सौराहामा यतिवेला पर्यटकीय मौसम सुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटेलले दसैँ मनाउने परम्परा बनाएका छन् ।
सौराहामा यतिवेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दसैँसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको संख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटेल संघका अध्यक्ष गंगा गिरीले बताए। पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दसैँको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चंगाचेटमा उनीहरू रमाउने गरेका छन् ।