
बुधबार राति हृदयाघात भएपछि उपचारका लागि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार अस्पतालले विज्ञप्ति निकाल्दै श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ ।
‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण संकेत देखिएको छ,’ अस्पतालको सूचनामा छ । अस्पतालका अनुसार उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएकोे छ । आइसियूमा राखेर उच्च सतर्कताका साथ उनको उपचार थालिएपछि उपचार सहज बनेको अस्पतालले जनाएको छ ।
श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले मन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार भइसकेको र दोहोरो कुराकानी हुन थालेको जानकारी दिए । ‘आइसियूको प्रोटोकलअनुसार पनि २४ घन्टा राख्नुपर्छ, सोहीअनुसार पनि छिटो डिस्चार्ज नगरिएको हो,’ उनले भने, ‘उहाँको अवस्था सामान्य छ, नेपालतर्फ पनि फोनमा कुराकानी गर्न थाल्नुभएको छ ।’
हृदयाघात भएका श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गरिएको थियो । एन्जियोेग्राफीका क्रममा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको थियो । अस्पतालका अनुसार उनको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको छ ।
‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बिआरएफ)मा सहभागी हुन उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङ पुगेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए । श्रेष्ठ शुक्रबार डिस्चार्ज हुने बताइएको छ ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले गृहमन्त्रीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । उनका अनुसार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो छ र दोहोरो संवाद
भएको छ ।