१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन महिनापछि लुलाङमा बिजुली बल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:५५:oo

 म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङमा तीन महिनापछि बिजुली बलेको छ । गत २८ असारमा गएको पहिरोले ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि विद्युत् अवरुद्ध भएको थियो । सुविधा उपभोगबाट वञ्चित भएका स्थानीयले लघु जलविद्युत् मर्मत भएपछि पुनः बिजुली बत्ती बाल्न पाएका हुन् । 

धवलागिरि गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा ११ लाख ७८ हजार लगानीमा पहिरोले बगाएको लघु जलविद्युत्को पुनर्निर्माण गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले जानकारी दिए । काम सुरु भएको २१ दिनमा विद्युत्गृहको भवन, कटान रोक्न पक्की पर्खाल निर्माण भएसँगै मेसिन उपकरण जडान गरेर बिजुली बलेको हो । 

लघु जलविद्युत् पुनर्निर्माण भएपछि लुलाङ, लम्सुङ, खोरिया, मरेनीलगायतका बस्तीका करिब तीन सय १५ घरधुरी लाभान्वित भएका छन् । पहिरोले लघु जलविद्युत् परियोजनाको विद्युत्गृह र मुहान बगाएपछि अन्धकार बनेको सिंगो वडा पुनर्निर्माण भएपछि पुनः उज्यालो भएको स्थानीय युवा भक्त सिंकिजा पुनमगरले बताए । 

विद्युत् नभएपछि विद्यालय, स्वास्थ्य चौकीसहित गाउँको जनजीवन प्रभावित बनेको थियो भने गाउँमा रहेका कुटानी–पिसानी गर्ने मिल, फर्निचर उद्योग र मासु पसलसमेत बन्द भएका थिए । उपभोक्ता समितिले विद्युत्गृह भवनसँगै मुहानमा समेत कुलो पुनर्निर्माण गरेको जनाएका छन् । त्यसैगरी जेनेरेटर, हिटरलगायतका मेसिन उपकरण मर्मत गरिएको छ भने एलसी बोर्ड, मुख्य सुइचलगायतका उपकरण नयाँ खरिद गरेर जडान गरिएको उपभोक्ता समितिका सचिव पाइजाले बताए ।