१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियाडकी रजत विजेता एरिका सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१५:oo

गत साता चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी कराँतेकी एरिका गुरुङ सम्मानित भएकी छिन् । नेपाल सोतोकान कराँते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले एरिकालाई सम्मानस्वरूप दुई लाख रुपैयाँ प्रदान गरेका छन् । एसियाडमा पहिलोपटक कराँतेले रजत पदक जितेको थियो । व्यक्तिगततर्फ दोस्रो रजत एरिकाले नेपाललाई दिलाएकी हुन् । उनीभन्दा अघि सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले मुलुकलाई पहिलोपटक रजत दिलाएकी थिइन् । सन् २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । 

एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । एसियाली खेलकुदमा नेपालले कराँतेमा पहिलोपटक रजत पदक जितेको हो । हाङझाउ एसियाडमै नेपालले दुई पदक जितेको थियो । महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।उनले क्वार्टरफाइनलमा विश्व कराँते महासंघको पाँचौँ वरीयतामा रहेकी जापानिज खेलाडी एजुकी सबाइलाई सेन्सुका आधारमा हराएकी थिइन् । उनी फाइनलमा ३–० ले पराजित भएकी थिइन् ।

एरिकाले सेमिफाइनलमा हङकङकी यानकाई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । स्वर्ण भिडन्तमा उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग पराजित भइन् । एसियाडमा अहिलेसम्म कराँतेलाई ठूलो सफलता दिलाएकी एरिकाले सम्मानबाट आफूलाई आगामी दिनमा थप उत्कृष्ट प्रदर्शन गर्न हौसला मिलेको प्रतिक्रिया दिएकी छिन् । ‘देशका लागि आफ्नो दायित्व पूरा गरेकोमा गर्व लागेको छ,’ सम्मानित भएपछि उनले भनिन्, ‘यो मेरो व्यक्तिगत जित मात्र नभएर सम्पूर्ण कराँते परिवारको हो ।’

एरिकाले १९ लाख ५० हजार पाउने 
राखेप सदस्यसचिव टंकलाल घिसिङले संविधानको नियमावलीमा उल्लेख गरिएको पुरस्कार रकम एरिकाले छिट्टै पाउने जानकारी दिएका छन् । नियमावलीअनुसार एरिकाले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् । राष्ट्रिय खेलकुद विकास नियमवाली २०७९ अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । यसैगरी, प्रशिक्षक, सहायक प्रशिक्षक तथा टिम म्यानेजरलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । कराँतेका मुख्य प्रशिक्षकका रूपमा रहेका कुशल श्रेष्ठले तीन लाख ९० हजार, सहायक प्रशिक्षक छोरी डंगोल र टिम म्यानेजर निवासगोपाल वैद्यले जनही एक लाख ९५ हजार रुपैयाँ हात पार्नेछन् । रजत विजेता संघ नेपाल कराँते महासंघले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । यसैगरी, कांस्य पदक विजेता कबड्डीका हरेक खेलाडीले जनही ३ लाख ९० हजार रुपैयाँ पाउनेछन् । 

महासंघले २०औँ एसियाडको तयारी थाल्ने
नेपाल कराँते महासंघका अध्यक्ष तथा राखेपका पूर्वसदस्यसचिव युवराज लामाले एरिकाको जितले कराँतेमा नयाँ अध्याय सुरु भएको बताए । ‘यो जित मैले एउटा सुरुवातका रूपमा लिएको छु,’ लामाले भने, ‘हामी आजैदेखि सन् २०२६ एसियाली खेलकुदका लागि तयारी थाल्नुपर्छ ।’

कराँतेमा प्रतिभाशाली खेलाडी उत्पादन गर्न महासंघले उमेरसमूहको खोजी गर्ने उनले बताए । ‘दुई पदकले हाम्रा अराजकता र विसंगतिहरूलाई छोपिदिएको छ, चाँडै हामी उमेरसमूहमा देशभरि प्रतिभाको खोजी गर्नेछौँ,’ उनले भने । सोतोकानका अध्यक्ष वैद्यले कराँतेको भविष्यका लागि आफूले सरकारसमक्ष आवश्यक पहल गर्ने बताए । ‘एरिकाको जितले नेपालीले पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ,’ वैद्यले भने, ‘आगामी दिनमा विदेशी प्रशिक्षकलाई नेपालमा ल्याउन सरकारसमक्ष पहल गर्नेछु ।’