
मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा एकजना बिरामीको मृत्युपछि चिकित्सक कुटपिट र तोडफोडमा संलग्न दुईजना कारागार चलान भएका छन् । सातजना धरौटी राखी तारेखमा छुटेका छन् ।
गत ८ असोजमा लमजुङ सुन्दरबजार नगरपालिका– ६ बस्ने वर्ष ५७ की सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो । श्वासप्रश्वास तथा ढाड दुख्ने समस्याका कारण ७ असोजमा अस्पतालमा भर्ना भएकी उनलाई उपचारको क्रममा ८ असोजमा डाक्टरले मृत घोषणा गरेका थिए । उनका आफन्तहरूले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी अस्पतालमा नाराबाजीसँगै एक चिकित्सकलाई हातपात र अस्पताल तोडफोडसमेत गरेका थिए ।
अस्पतालका चिकित्सक अनिल शाहलाई कुटपिट गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका– ५ मालेपाटनका विनय गुरुङलाई पक्राउ गरेको थियो । पछि अन्य आठजना पनि पक्राउ परेका थिए । घटनामा संलग्न अन्य १० जनाको समेत पहिचान खुले पनि हाल उनीहरू फरार छन् । प्रहरीले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पक्राउ परेका उनीहरूलाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाई सरकारी वकिल कार्यालयमार्फत कास्की जिल्ला अदालतमा पेस गरेपछि उनीहरूमध्ये दुईजनालाई पुर्पक्षका लागि कारागार चलानसँगै अन्य सातजनालाई जनही एकएक लाख धरौटी तारेखमा छाड्ने आदेश अदालतले दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
पुर्पक्षका लागि कारागार चलान हुनेहरूमा पोखरा– १७ हनुमान टोल बस्ने छावा भन्ने सुशील कार्की र पोखरा– ५ मालेपाटन बस्ने विनय गुरुङ छन् । धरौटीमा छुट्नेहरूमा सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेकमान गुरुङ, मनीष थापा र प्रदीप गुरुङ छन् ।
कुटपिट र तोडफोडमा १० जना अझै फरार छन् । फरार हुनेहरूमा गौरव बराल, गिरे हिपप भनिने गिरबहादुर पुन, प्रेमलाल पुन, सागर परियार, पशुपति भट्टराई, हम्पे भनिने नवीन लामा, सुजन अधिकारी, चुमन गुरुङ, कार्लोस गुरुङ र उत्तम भण्डारी छन् ।