१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o९:५८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरको सुलभ फार्मेसी पुस पहिलो सातादेखि : निजी र सरकारीभन्दा ८० प्रतिशत कममा औषधि पाइने

महानगरले पहिलो चरणमा बबरमहल, महाराजगन्ज, कालीमाटी, वीर अस्पतालआसपास र क्षेत्रपाटी क्षेत्रमा सुलभ फार्मेसी खोल्ने भएको छ

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५८:oo

महानगरभित्र अहिले सरकारी र निजी गरेर २७ सय फार्मेसी छन् भने उपत्यकाभरि चार हजार सात सय फार्मेसी छन् । यी फार्मेसीहरूले औषधिमा लुट मच्चाइरहेको सर्वसाधारणको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले आगामी पुस पहिलो सातादेखि पाँच स्थानमा सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ । यी फार्मेसीमार्फत हाल औषधि बिक्री गरिरहेका निजी र सरकारीले भन्दा ८० प्रतिशत कममा दिने तयारी छ । 

रामप्रसाद पौडेल प्रमुख, स्वास्थ्य विभाग, काठमाडौं महानगर
पहिलो चरणमा बबरमहल, महाराजगन्ज, कालीमाटी, वीर अस्पतालआसपास र क्षेत्रपाटी क्षेत्रमा सुलभ फार्मेसी खोलिनेछन् । फार्मेसीका लागि कोठा डिजाइन, औषधि सप्लायर्स कम्पनीहरूसँग समन्वय, सफ्टवेयर निर्माणलगायत तयारी भइरहेको छ । सुलभ फार्मेसीमा अहिले बजारमा किनेको भन्दा निकै सस्तोमा औषधि पाइन्छ । पुसको पहिलो सातासम्म फार्मेसी सञ्चालन गरिसक्छौँ । 

महानगरले पहिलो चरणमा बबरमहल, महाराजगन्ज, कालीमाटी, वीर अस्पतालआसपास र क्षेत्रपाटी क्षेत्रमा सुलभ फार्मेसी खोल्ने भएको छ । फार्मेसी सञ्चालनका लागि कोठा डिजाइन गर्ने, औषधि सप्लायर्स कम्पनीहरूसँग समन्वय गर्ने, सफ्टवेयर निर्माण गर्नेलगायत तयारी भइरहेको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले बजारमा किनेको भन्दा निकै सस्तोमा औषधि पाइन्छ । औषधि सप्लायर्ससँग दररेट माग गरिएको छ । ‘पुस पहिलो सातासम्म फार्मेसी सञ्चालन गरिसक्छौँ, त्यसका लागि तयारी तीव्र पारिएको छ,’ उनले भने, ‘यसले महानगर तथा आसपासका सर्वसाधारणलाई समेत राहत मिल्नेछ ।’ 

महानगरभित्र अहिले सरकारी र निजी गरेर २७ सय फार्मेसी छन् भने उपत्यकाभरि चार हजार सात सय फार्मेसी छन् । यी फार्मेसीहरूले औषधिमा लुट मच्चाइरहेको सर्वसाधारणको भनाइ छ । महानगरले सञ्चालनमा ल्याएको फार्मेसीले आमउपभोक्ता औषधिमा कति ठगिएका छन् भन्ने तथ्य प्रमाणित गर्नेछ ।

‘अहिलेका फार्मेसीहरूले कति लुटिरहेका छन् भन्ने प्रमाणित हाम्रा पाँचवटा फार्मेसीले देखाउँछ,’ स्वास्थ्य विभाग प्रमुख पौडेलले भने, ‘जनस्वास्थ्य ऐनले प्रत्येक डाक्टरले जेनेरिक नामबाट औषधि प्रेस्किप्सन गर्नुपर्छ । तर, डाक्टरहरूले पनि गल्ती गरिरहेका छन्, हाम्रो फार्मेसीले जनस्वास्थ्य ऐनअनुसार औषधि उपलब्ध गराउनेछ ।’ 

सुलभ फार्मेसीमा २१ सय ६४ प्रकारका औषधि पाइने 
हाल सरकारी अस्पतालको फार्मेसीमा बिमा शुल्कमा मिलान हुने गरी औषधि किन्न जाँदा चाहिएको पाइँदैन । सस्ता औषधि मात्रै सरकारी अस्पतालहरूका फार्मेसीमा पाइन्छ भने महँगो औषधि निजीमै किन्न जानुपर्ने बाध्यता छ । तर, अब महानगरले सबै प्रकारका औषधि सस्तो र बिमाअनुसार उपलब्ध गराउनेछ ।

महानगरका फार्मेसीमा बिक्री गर्ने औषधिको बजार मूल्य फेहरिस्त टाँसिनेछ । दुई हजार एक सय ६४ प्रकारका औषधिबारे महानगरले अध्ययन पनि गरेको थियो । कति प्रकारका सस्ता र महँगा औषधि चाहिन्छ भन्ने अध्ययनपछि फार्मेसी खोल्ने तयारी गरिएको हो । कुनै पनि सरकारी निकायका फार्मेसीमा यति धेरै किसिमका औषधि पाइँदैन ।

निजी फार्मेसीहरूले समेत सबै प्रकारका औषधि राख्ने गरेको पाइँदैन । सरकार स्वास्थ्य संस्था तथा औषधि पसलहरूमा सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने ९८ प्रकारका औषधिसमेत पाइँदैन । तर, महानगरपालिकाले अधिकांश रोगसँग सम्बन्धित औषधि राख्नेछ । ‘हामीले महानगरपालिकाभित्र राखिएको फार्मेसीबाट सबैलाई समान किसिमले औषधि उपलब्ध गराउँछौँ, हामीकहाँ नपाइने औषधि सायद हुँदैन होला,’ विभाग प्रमुख पौडेलले भने, ‘सबैलाई समान मूल्य तोक्छौँ, सर्वसुलभ मूल्यमा बिरामीले औषधि प्रयोग गर्न पाउनुपर्छ ।’ 

कुल लागत ६ करोड
महानगरले पहिलो चरणमा ६ करोड लागतमा फार्मेसी खोल्नेछ । पाँचवटा फार्मेसीका लागि आवश्यक औषधि किन्न पहिलो चरणमा यति रकमले पुग्नेछ भने आगामी पुसमा हुने नगरसभामा औषधि खरिद र फार्मेसीका लागि थप बजेट माग गरिनेछ । ‘यसपटक हामीले ६ करोडबराबरको औषधि फार्मेसीमा राख्छौँ, सबै प्रकारका औषधि फार्मेसीमा पाइनेछ,’ विभाग प्रमुख पौडेलले भने, ‘बाँकी औषधि र थप फार्मेसीका लागि आगामी नगरसभाबाट थप बजेट माग गर्नेछौँ ।’