१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

यस्ता छन् एनआरएनए सचिवका उम्मेदवार श्रेष्ठका मुख्य एजेन्डा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५८:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिएका मनोजकुमार श्रेष्ठले आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्।

युनाइटेड अरब इमिरेट्सका श्रेष्ठले संघभित्र गर्नुपर्ने मुख्य चारवटा कामलाई प्राथमिकता दिएका छन्। रिटनी श्रमिकहरूको पुनर्स्थापना, विप्रेषण (रेमिट्यान्स)को वृद्धि एवं सामाजिक सुरक्षाको कार्यान्वयन, सांगठनिक आर्थिक पारदर्शिता एवं संगठनमा महिला तथा युवा सहभागिता र नागरिकताको निरन्तरतालाई उनले आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्।

संघले वैधानिक र सुरक्षित वैदेशिक रोजगारीको निरन्तर आवाज उठाइरहेको छ। संघकै पहलकदमी रोजगारीमा गएकाहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अभियानको थालनी भइसकेको छ। तर, यसमा सुधार र स्पष्टताको आवश्यकता रहेको श्रेष्ठको धारणा छ। अबको अभियानमा वर्षौं विदेशमा जीवन बिताएर फर्किएका श्रमिकहरूको सामाजिक र आर्थिक पुनर्स्थापना झन् महत्त्वपूर्ण भएको उनले बताए। तसर्थ, आगामी कार्यकालमा यस मुद्दामा काम गर्ने उनको योजना छ।

श्रमिकले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ। तर, अझै पनि ठूलो रकम अवैधानिक तवरले नेपाल भित्रने गरेको छ। श्रमिकलाई प्रोत्साहित गर्ने विभिन्न योजना ल्याएर रेमिट्यान्स वैधानिक माध्यमबाट पठाउने व्यवस्था गर्ने उनको अर्को योजना छ।

त्यस्तै, पछिल्लो समय संघमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ। यसको मुख्य कारण गत कार्यकालमा भएका पारदर्शी कार्यहरू भएकाले आगामी दिनमा नयाँ पुस्ता, युवा र महिलालाई संघमा जतिसक्दो धेरै आबद्ध गराउने उनको प्रतिबद्धता छ।

सचिवका दाबेदार श्रेष्ठले एनआरएनएलाई वंशजको नागरिकताको निरन्तरताका लागि प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

उनका अनुसार एनआरएनएको मुख्य काम विदेशमा छरिएर रहेका नेपालीबीच एकता बढाई आपसी सहयोग र सदभाव विकास गर्नु हो। संसारभर छरिएका नेपालीबीच स्वस्थ र मर्यादित हिसाबले समन्वय गराउने कार्यलाई पूरा गर्न आफूले सचिव पदमा उम्मेदवारी दिएको श्रेष्ठले बताए।

श्रेष्ठले यसअघि युएईको उपाध्यक्ष, आइसिसी सदस्य, मध्यपूर्व सहसंयोजक र संयोजकको जिम्मेवारीसमेत पूरा गरिसकेका छन्।
 

ad
ad