१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २४ बुधबार ११:२५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मधुमेह र उच्च  रक्तचापबाट बच्ने उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २४ बुधबार ११:२५:००

हिजोआज ग्यास्ट्रिक, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, थाइराइडलगायतका समस्या लिएर धेरै बिरामी अस्पताल आएको देखिन्छ । यी रोगका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । यो रोग लागेपछि दीर्घकालीन रूपमा सताउने गर्छ । त्यसैले यस्ता रोग लाग्न नदिनका लागि सतर्कताका उपाय अवलम्बन गर्नु राम्रो हुन्छ । 

मधुमेह 
नेपालमा अधिकांश मानिसलाई मधुमेह रोग देखिन्छ । नेपालमा बच्चामा लाग्ने मधुमेह त्यति देखा परेको पाइँदैन । तर, उमेर ढल्किँदै गएपछि मधुमेहको अवस्था भयावह नै छ । यसको मुख्य कारण भनेको अव्यवस्थित खानपान, भद्दा जीवनशैली र मोटोपन हो । यो वंशानुगत समस्या पनि हो । मधुमेह यसकारण पनि खतरनाक हो कि यसले शरीरमा अन्य धेरै रोग पनि निम्त्याउने गर्छ । जसले गर्दा ब्लडप्रेसरको समस्या निम्तिन्छ, मिर्गाैला, नसासम्बन्धी विभिन्न समस्या निम्त्याउने गर्छ ।

किन बढिरहेको छ ? 
मधुमेह र उच्च रक्तचाप लाग्ने कारण उस्तै हुन्छ । उच्च रक्तचापका बिरामीमा मधुमेह र मधुमेहका बिरामीमा उच्च रक्तचाप देखिने गरेको पाइन्छ । यद्यपि, सबै बिरामीमा यो लागू नहुन पनि सक्छ । यस्ता रोग वंशानुगत कारणले पनि लाग्ने गर्छ । तर, यी रोगका मुख्य कारण भनेको अव्यवस्थित जीवनशैली हो । विशेषगरी, आधुनिक जीवनशैलीले गर्दा जंकफुड तथा फास्टफुड खाने चलन बढ्दो छ । यस्ता खानेकुरामा उच्च क्यालोरी हुन्छ र अरू पोषण तत्व हुँदैन । जसले गर्दा मोटोपनलगायतका विभिन्न समस्या निम्त्याउँछ । शारीरिक व्यायाम नगर्ने, अधिक धूम्रपान, मद्यपान, समयमा नसुत्नेजस्ता कार्यले मानिसलाई रोगी बनाउने गर्छ । 

खानपान र जीवनशैलीकै कारण यी रोगले सताउँछ । दुवै रोगको उपचार सम्भव हुँदैन । यो रोग लागेपछि दीर्घकालीन रूपमा असर गर्छ । त्यसैले यसलाई नियन्त्रण गर्नुको विकल्प हुँदैन । मधुमेह नियन्त्रण गर्न उच्च रक्तचाप नियन्त्रण गर्नुपर्ने हुन्छ । यी दुई रोगको एकअर्कामा सम्बन्ध देखिन्छ । औषधिबाहेक व्यायाम र खानपानले पनि नियन्त्रण गर्न सकिन्छ । 

बच्ने उपाय 
जीवनशैलीसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्यअनुकूल बनाउनु हो । अत्यधिक मात्रामा नुन सेवन नगर्ने,  तारेको, भुटेको धेरै नखाने । सामान्य व्यक्तिले प्रत्येक महिना प्रेसर जाँँच गर्नुपर्छ । प्रेसर बढेको रहेछ भने चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ । प्रेसरको औषधि खाइरहेका व्यक्तिले तीन–तीन महिनामा चेकजाँच गर्नुपर्ने हुन्छ । 

एक्सरसाइज गर्ने, फलफूल खाने, फाइबरयुक्त खाना खाने, समयै सुत्ने–उठ्ने गर्नुपर्छ  । तनावपूर्ण जीवन, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका कारण पनि यस्ता रोग निम्तिन्छन् । तसर्थ, तनाव व्यवस्थापन गर्न जरुरी छ । 

उच्च रक्तचाप
नेपालमा अधिकांशलाई देखा पर्ने अर्काे रोग भनेको उच्च रक्तचाप पनि हो । अव्यवस्थित जीवनशैली र नुनको बढी प्रयोगका कारण ब्लडप्रेसरको समस्या निम्तिने गर्छ । ब्लडप्रेसरले पनि शरीरमा अनेक समस्या निम्त्याउने गर्छ । यसले हृदयाघात, मिर्गाैलामा समस्या, ब्रेन स्ट्रोकलगायतका समस्याको जोखिम पनि निम्त्याउने गर्छ ।