१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनियन्त्रित खानपानले निम्त्याउँछ मधुमेह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३२:oo

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भएकोे अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह हाम्रो खराब जीवनशैली तथा खानपानले निम्त्याउने समस्या हो । अस्वस्थ जीवनशैली र शारीरिक व्यायामको अभावका कारण अहिले मधुमेहका रोगी बढिरहेका छन् ।

हामीले खानपानमा ध्यान दियौँ भने मधुमेहबाट बच्न सकिन्छ । उच्च रक्तचाप, गर्भावस्था, मोटोपन तथा शारीरिक परिश्रम कम गर्नेमा मधुमेह देखिने जोखिम धेरै रहन्छ । सामान्यतया उमेर बढ्दै जाँदा रगतमा चिनीको मात्रा गडबड हुने भए पनि युवा अवस्थाका व्यक्तिहरूमा पनि मधुमेहको समस्या देखिएर स्वास्थ्य जटिलता बढिरहेको छ । 

खानपानमा ध्यान दिनुस् 
खानाको नियमित तालिका नहुँदा वा कति खाने, कसरी खाने, कुन समयमा के खाने भन्ने कुराको ज्ञान नहुँदा ब्यालेन्स बिग्रन्छ । त्यस्तै, बिहान नास्ता नगर्ने बानीले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुँदैन र ‘ब्लडसुगर लेभल’समेत नियन्त्रणमा रहँदैन । यसले पनि मधुमेहको जोखिम बढाउँछ । 

त्यसैले कार्बोहाइड्रेट कम भएको खानेकुरा खानुपर्छ । ताजा सागपात, फलफूल खाने गर्नुपर्छ । खानामा रेसादार खाद्यवस्तु धेरै हुनुपर्छ । सलाद र सुप नियमित समावेश गर्नु राम्रो हुन्छ । करेला, जौ, गहुँ, बेसार, मरिच, लसुन, ब्लु बेरी, जामुनलगायत खानामा समावेश गर्नुपर्छ । वेलावेलामा माछा खानुपर्छ, प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । तर, चिल्लो–पिरो खानुहुँदैन ।

मधुमेह भइसकेका व्यक्तिले ग्लुकोजजन्य फलफूल खानुहुँदैन । रातो र बोसो भएको मासु खानुहुँदैन । बट्टामा राखिएको अचार खानुहुँदैन । मैदाजन्य खानेकुरा, घ्यू, दहीलगायत खानुहुँदैन । चामल, आलु आदि कम खानुपर्छ । धूम्रपान तथा मद्यपान गर्नुहुँदैन । 

मधुमेहले अन्य रोगको जोखिम पनि बढाउँछ । मिर्गौलामा समस्या, हृदयाघात, छाला र खुट्टामा संक्रमण, दृष्टिमा समस्या आदिजस्ता दीर्घरोगको मुख्य कारकसमेत मधुमेह बन्दै आएको छ । 

दीर्घरोगको कारक 
मधुमेहले अन्य दीर्घरोगको जोखिम पनि बढाउँछ । मिर्गौलामा समस्या, हृदयाघात, छाला र खुट्टामा संक्रमण, दृष्टिमा समस्या आदिजस्ता दीर्घरोगको मुख्य कारकसमेत मधुमेह बन्दै आएको छ । यो समस्या प्रत्येक वर्ष बढ्दै गएको विज्ञहरू बताउँछन् । त्यसैले मधुमेहलाई नियन्त्रणमा राख्नका लागि जीवनशैलीमा सुधार ल्याउनुपर्छ । वेलावेलामा रगतमा सुगरको परीक्षण गर्नुपर्छ । यसरी चेकजाँच गर्दा समयमै आफ्नो समस्या पहिचान हुन्छ र उपचार पनि सहज हुन्छ ।

पर्याप्त निद्रा र व्यायाम 
मधुमेहलाई रोक्नका लागि मोटोपन हुनबाट बच्नुपर्छ । यसका लागि शारीरिक व्यायाम नियमित गर्नुपर्छ । सातामा कम्तीमा पनि एक सय ५० मिनेट व्यायाम गर्नु राम्रो हुन्छ । एरोबिक्स, जिमन्यास्टिक, कार्डियोलगायत गर्न सकिन्छ । योगा गर्दा पनि हुन्छ ।

सुरुवातमा हल्का व्यायाम गरे पनि बिस्तारै यसको तिव्रतालाई बढाउन सकिन्छ । तर, इन्सुलिन लिइरहेका बिरामीले व्यायाम गर्नुभन्दा पहिले आफ्नो रगतमा ग्लुकोजको स्तर जाँच गर्न जरुरी हुन्छ । त्यसपछि चिकित्सकसँग परामर्श गरेर व्यायाम थाल्नु राम्रो हुन्छ । अत्यधिक निद्रा वा निद्राको कमी दुवैले मधुमेह बढाउन सक्छ । यसले तपाईंलाई अन्य स्वास्थ्य समस्या पनि निम्त्याउँछ । त्यसैले समयमै सुत्ने र समयमै उठ्ने गर्नुपर्छ । तनावले पनि मधुमेह बढाउँछ । त्यसैले अनावश्यक तनाव लिनुहुँदैन । खुसी रहने प्रयास गर्नुपर्छ ।

मधुमेहका लक्षण

  • बारम्बार पिसाब लाग्नु 
  • निकै प्यास वा भोक लाग्नु 
  • शरीर धेरै मोटो देखिनु वा असामान्य रूपमा कम हुनु 
  • आँखाको कालो भागमा सेतो रिंकल देखिनु 
  • खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु
  • घाँटीमा कालो बस्ने र जति धोए पनि नजाने हुनु 
  • मुख सुक्खा हुनु  
ad
ad