१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अस्वस्थ जीवनशैलीले बढाउँदै छ मधुमेह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२१:oo

पछिल्लो समय नेपालमा अस्वस्थ जीवनशैली, खानपान र शारीरिक परिश्रमको कमीलगायत कारणले मधुमेहका रोगीको संख्या बढ्दो छ । सामान्यतया उमेर बढ्दै जाँदा रगतमा चिनीको मात्रा गडबड भएर मधुमेह देखिने भए पनि पछिल्लो समय युवा अवस्थामै मधुमेहको समस्या देखिन थालेको छ । अहिले नयाँ पुस्तामा तनावपूर्ण जीवनशैली छ । जसले गर्दा १८–२५ वर्षकालाई पनि मधुमेह देखिएको छ । धेरैजसोको घरमा खाना खाने बानी हुँदैन । बाहिरको खानेकुरा (फास्टफुड) खाने चलन बढ्दो छ । जसले गर्दा समस्या निम्त्याइरहेको छ । मधुमेह पूर्ण रूपमा निको पार्न सकिँदैन, यद्यपि नियन्त्रणमा राख्न सकिन्छ । यसका लागि नियमित आहार, व्यायाम, इन्सुलिन वा औषधि सेवन गर्नुपर्छ । मधुमेह भएपछि औषधि–उपचार, जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । एक्सरसाइज र खानपानले मात्रै नियन्त्रण गर्छु भनेर सम्भव हुँदैन । 

मधुमेह हुने कारण 
मधुमेह वंशानुगत पनि हुन्छ । बुबा–आमालाई मधुमेह छ भने छोराछोरीलाई पनि देखिन्छ । अस्वस्थकर खानपिन, एक्सरसाइज नगर्ने, मद्यपान–धूम्रपान, तनाव, एन्जाइटीलगायत कारणले मधुमेह निम्तिन सक्छ । अत्यधिक मद्यपान गर्ने तथा तनाव लिने व्यक्तिहरू उच्च जोखिममा हुन्छन् । 

मधुमेहले निम्त्याउने जटिलता 
मधुमेहलाई नियन्त्रणमै राखे पनि जोखिमबाट टाढा रहन सकिँदैन । यसले अन्य दीर्घरोगको समस्या पनि थपिरहेको हुन्छ । आँखामा समस्या, मिर्गाैलामा समस्या, हृदयाघात, नसासम्बन्धी रोग, छालामा समस्याजस्ता अरू रोगलाई निम्त्याउँछ । उच्च रक्तचापका बिरामी, मोटोपन, शारीरिक व्यायाम कम गर्नेहरू विशेष जोखिममा हुन्छन् ।

गर्भावस्थामा पनि जोखिम हुने भएकाले गर्भवती हुनुभन्दा पहिले र सुत्केरी भएको दुई वर्षसम्म महिलाले मधुमेह परीक्षण गर्नुपर्ने हुन्छ । मोटोपना भएका वयस्क महिलामा यो खालको मधुमेह देखा पर्छ । 

लामो समय मधुमेह हुँदा आँखामा असर गर्छ । चाँडै मोतिबिन्दु हुनु, रेटिनामा समस्या आउनु र अन्धोपना पनि हुन सक्छ । मधुमेहले उच्च रक्तचाप, मुटु दुख्ने र हृदयाघातसमेत निम्त्याउन सक्छ । मधुमेहले मस्तिष्क र स्नायु प्रणालीमा असर गराउँछ, रिंगटा लाग्ने, स्मरणशक्ति ह्रास र पक्षघात पनि गराउन सक्छ । 

लक्षण र उपचार 

रगतमा चिनीको मात्रा बढ्दै गएमा प्यास बढी लाग्ने, पिसाब धेरै हुने, दुब्लाउँदै जाने, कमजोरी बढ्ने, बढी भोक लाग्ने तर खान मन नलाग्ने, छालामा घाउ देखिने, अन्य संक्रमण देखिने, यौनेच्छा घट्ने, आँखामा समस्या देखिनेलगायत लक्षण देखिन्छन् । अस्पतालमा गएर समय–समयमा मधुमेह तथा रगत चेकजाँच गर्ने बानी बसाल्नुपर्छ । 

मधुमेह नियन्त्रणका लागि स्वस्थ जीवनशैली आवश्यक छ । एक्सरसाइज गर्ने, फलफूल खाने, फाइबरयुक्त खाना खाने, समयै सुत्ने–उठ्ने गर्नुपर्छ । समयमै स्वास्थ्य परीक्षण गराएमा मधुमेह हुनुभन्दा अगाडिको चरणबारे जानकारी लिन सकिन्छ र यसलाई नियन्त्रणमा राख्न सकिन्छ । मधुमेह नियन्त्रणमा राख्न सन्तुलित खानपान र त्यहीअनुसार व्यायाम गर्नुपर्छ । मधुमेहका रोगीले व्रत बस्नुहुँदैन, निश्चित समयमा खाना खाने बानी बसाउनुपर्ने हुन्छ । सागपात, काँक्रो, गोलभेँडा, प्याज, लसुन, कागती, चना वा गहुँको पिठोको रोटी बढी फाइदाजनक हुन्छ । नुन, चिनी, घ्यू, तेल, दुग्ध पदार्थ, मेवा, मिठाई, आइसक्रिम, चकलेटचाहिँ सकेसम्म खानुहुँदैन । धूम्रपान, मद्यपान गर्नुहुँदैन । 

ad
ad